तिहार

डा. मीन श्रीस मगर

minshrisphd@gmail.com

परिचय:

वर्षभरिका चाडवाडहरू मध्ये विशेष मनोरञ्जनात्मक चाडको रुपमा तिहारलाई लिइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाउने गरिन्छ । दसैंलाई देवी–देवताहरू तथा कुलपितृको नाउँमा बलिपूजा गर्ने, मासु खाने र पिङ खेल्ने चाडको रुपमा तथा तिहारलाई काग, कुकुर, गाईगोरू आदिलाई पुजेर मानव र पशुपंक्षी बीचको आत्मीयता दर्शाउने, रोटी–फलपूmल खाने, दिदीवहिनीहरूको हातबाट टीकामाला लगाउने, घरआँगनमा झिलिमिली बत्ती बाल्ने र भैलो–देउसी खेलेर रमाउने चाडको रुपमा लिइन्छ । तिहारलाई यसरी झिलीमिली बत्ती र फूलमालाले झकिझकाउ एवं संगीतमय चाडको रुपमा मनाउनुको पछाडि प्राकृतिक वातावरणको प्रमुख भूमिका रहेको छ । कात्तिक महिनामा बारीभरि कोदो र खेतैभरि पहेंलपुर धान पाकेको, घरआँगनको वरिपरि मखमली, सयपत्री, गोदावरी अनेक थरीका फूलहरू फुुलेका र वगैचाभरि स्याउ, सुन्तला, भोगटे जस्ता फलहरू पाकेका हुन्छन् । न धेरै गर्मी न धेरै जाडो आनन्दको मौसम हुन्छ । यस्तो प्राकृतिक वातावरणले मानव हृदयलाई आनन्दित, प्रफुल्लित र उमङ्गमय बनाउनु स्वाभाविकै हो । त्यसैले नेपाली समाजले प्रकृति अनुकूल आफूलाई प्रस्तुत गर्ने क्रममा तिहार जस्तो रमाइलो चाडको विकास भएको पाइन्छ । प्रकृति हाँसेको देखेर नै मानवतावादी भावना उर्लदा काग, कुकुर, गाई आदि पशुपंक्षीको सम्मान गर्ने परम्पराको थालनी हुनगयो । दिदीवहिनीहरूले भातृप्रेमलाई दर्शाउँदै आँगनभरि फुलेका फूलका माला गुथेर सप्तरंगी टीकासँगै पहि¥याउँदै फलफूल र घुमाउने रोटी टक्र्याउँदा दाजुभाइहरू पनि आफ्ना खुशी र आनन्दानुभूति पोख्न टोलछिमेकका घरघरमा गाउदैनाच्दै डुल्ने क्रममा भैलो–देउसी परम्पराको विकास हुन गयो । यसरी नाच्दैगाउदै सद्भाव र आत्मीयता साट्न साँझपख गाउँटोल डुल्न सहजताका निम्ति औंसीको अध्यारोलाई चिर्न घरआँगनभरि दियो बालेर झिलिमिली पार्ने चलन बस्न गयो । तिहारको बेला घरघरमा अन्नबाली भित्रिने हुँदा सबैको मन दानी हुनु स्वाभाविक हो । त्यसैले तिहारमा दानदक्षिणा दिने परम्पराको पनि विकास हुन गयो ।

उत्पत्ति सम्बन्धी मिथक 

नेपाली समाजमा तिहारको उत्पत्तिको विषयमा अनेकन कथनहरू पाइन्छन् । यमपञ्चक सम्बन्धी कथनले तिहारको उत्पत्ति सत्य युगमा भएको जनाउँदछ भने बलिराजा (पातालका राजा) को पूजा, गोवर्धन पूजा र लक्ष्मीपूजा सम्बन्धी मिथकहरू त्रेता र द्वापर युगका देखिन्छन् । यी मिथकहरूका समयक्रम एवं घटनाक्रम अमिल्दा र विरोधाभासपूर्ण छन् । यमपञ्चक सम्बन्धी कथनअनुसार तिहारको उत्पत्ति सत्ययुगमा भएको मानिन्छ । कार्तिक शुक्लद्वितीयका दिन यमुनाले आफ्नो दाइ यमराजलाई निमन्त्रणा गरी भोजन पूजन गरी मनोरथ पूर्ण गराइन् र मानिसहरूले पनि हामीले झैं दाइभाइ दिदीवहिनी परस्परमा पूजनादि गरी अभिष्ट सिद्धि प्राप्त गर्न पाऊन् भनी वर माग्दा हुन्छ भनी वर दिएकाले भाइटीका गर्ने प्रथा चलेको हो भन्ने पौराणिक कथन पाइन्छ । तर यो कथनभन्दा भिन्न खाले अर्को कथनअनुसार आयु समाप्त भएको एक व्यक्तिलाई यमराज लिन आउँदा सो व्यक्तिकी दिदीले भाइटीका गरुन्जेलसम्मलाई पर्खन आग्रह गर्दा स्वीकार गरियो । त्यसपछि दिदीले विधिपूर्वक तेलको मण्डलाकार बनाई, ओखर आदि फलफूल प्रदान गरी ग्वेस्वाँ नामको फूलको माला पहिराई पूजा गरिन् । यमराजको पनि श्रद्धाभक्तिपूर्वक पूजा गरी खुशी पारिन् । यमराज खुशी भएर वर माग्न भन्दा उनले ओखरले पानी नछाडुञ्जेल, तेलको मण्डल नसुकुन्जेल र ग्वेस्वाँ फूलको माला नओइलाउन्जेलसम्म मेरा भाइलाई नलैजानु भन्ने वर मागिन् । यसरी भाइटीका र दिदीको चातुर्याइपूर्ण मागबाट भाइको जीवन रक्षा भयो ।

यी दुईखाले कथनहरू बीच मेल देखिदैन । यमपञ्चक सम्बन्धी कथनमा यमराजले यमपञ्चकको अवधिभर आफ्नो दैनिक कार्यलाई समेत स्थगित गरेर बहिनी यमुनाकहाँ बस्न जाने कुरा उल्लेख गरिएको छ । दोस्रो कथनमा यमराजले यमपञ्चक अवधिमै आयु सकिएको मानिसलाई लिन गएको उल्लेख हुनु विरोधाभासपूर्ण देखिन्छ । यमपञ्चक सम्बन्धी कथन सत्ययुगको बुझिन आउँदछ भने तिहारमा गरिने बलिराजाको पूजा, गोबद्र्धनपूजा र लक्ष्मीपूजा सम्बन्धी कथनहरू त्रेता र द्वापर युगको भएको बुझिन्छ । बलिराजाले लक्ष्मीलाई समेत आफ्नो अधीनमा राखेकाले धनसम्पत्तिले सम्पन्न भएका थिए । उनी कसैलाई खाली हात नफर्काउने दानी थिए । एक दिन नारायणले वामनको अवतार लिएर बलिराजाकहाँ आएर तीनपाइला जमिन मागेर विशाल रुप धारण गरी एकपाइला आकाशमा, एकपाइला पृथ्वीमा र तेस्रो पाइला बलिराजाको टाउकोमा टेकी पातालमा पु¥याइदिएका थिए । बलिराजालाई पातालको राज्य प्रदान गरी लक्ष्मीलाई मुक्त गरिदिएका थिए । त्यसैबेलादेखि कार्तिक प्रतिपदाका दिन दानी बलिराजाको पूजा गर्न थालिएको कथन पाइन्छ (बज्राचार्य, २०४३ः ७३–७७) । अर्कोतर्फ तिहारलाई रामायणको कथासँग जोडेर पनि व्याख्या गरिएको पाइन्छ । सीतालाई रावणको अपहरणबाट मुक्त गराएको खुशीयालीमा अयोध्या राज्यभरि ‘जयश्रीराम’ भन्दै स्तुतिगान गरियो र पछि आएर ‘जयश्रीराम’ शब्द नै ‘देउसीराम’ हुँदै ‘देउसी’ हुनगएको हो भन्ने कथन पाइन्छ । तर ‘देउसी’ वा ‘देउसीरे’ शब्द ‘देउ शिर’, ‘देउ शिरै’ अर्थात ‘शिरै देऊ’ भन्ने सन्दर्भमा आएको भनाई पनि पाइन्छ । बलिराजाले नारायणलाई तेस्रो पाइला राख्न आफ्नो शिर दिएको सन्दर्भमा ‘देउसिरे’ शब्द आएको भनाई पाइन्छ । हिन्दु धार्मिक साहित्यका ग्रन्थहरूसँग जोडिएका तिहार सम्बन्धी कथनहरू आपसमा बाझिएका देखिन्छन् । त्यसकारण यस्ता कथनहरू सामाजिक यथार्थताभन्दा पनि धार्मिक विश्वास र मान्यता मात्र हुन् भन्ने स्पष्ट हुन्छ । खासगरी राणाकालमा नेपाली संस्कृतिलाई हिन्दुकरण गर्ने प्रयास स्वरुप यस्ता अनेकन कथनहरू भित्रिएको पाइन्छ । जंगबहादुर कुँवरको उदयसँगै लागू गरिएको वि. सं. १९१० को पुरानो मुलुकी ऐनले नेपालमा हिन्दुकरणको अभियानलाई वैधानिकता प्रदान गरेको थियो । वि. सं. २०२० भाद्र १ गते जारी भएको नयाँ मुलुकी ऐनले पुरानो ऐनलाई विस्थापित गरे पनि २०६३ को अन्तरिम संविधान लागू नहुँदासम्म वैधानिक रुपमा नेपाल हिन्दुराष्ट्र रहिरह्यो । त्यसकारण नेपाली मौलिक चाडवाडहरूका सम्बन्धमा माथि उल्लेखित गरिएका जस्ता कथनहरूले स्थान र प्रचार पाएको देखिन्छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् प्राध्यापक डा. जगमान गुरुङका अनुसार तिहारको यमपञ्चक भनेको मानव सभ्यताका पाँच चरणको प्रतीक हो । तिहारको पहिलो दिन कागतिहार फलफूल र कन्दमूल संकलन गरी जीवन निर्वाह गर्ने प्रारम्भिक सभ्यता अर्थात घुमन्ते जीवनको प्रतीक हो । मानव सभ्यताको दोस्रो चरण अर्थात सिकारी युगको प्रतीक कुकुरतिहार हो । मानिसहरूले कुकुर पाल्ने र त्यसको सहयोगमा सिकार गरेर जीवन निर्वाह गर्दथे । कृषि युगको प्रतीक नै गाईगोरू तिहार हो । खेतीपातीका लागि मल र जोत्ने गोरूको विशेष महŒव हुन्छ । यसरी वनजंगलको ओढारमा बस्ने र फलफूल तथा कन्दमूल खोजेर जीवन निर्वाह गर्ने घुमन्ते चरणदेखि घरगोठ बनाई खेतीपाती गरेर जीवन निर्वाह गर्ने कृषियुगको चरणसम्म आइपुग्दा मानिसमा समस्त प्राणीप्रतिको सद्भावको भावना विकसित हुँदै गयो । यसै क्रममा पशुपंक्षी तथा मानिस आफैले आफैलाई सम्मान गरी उत्सव मनाउने परम्पराको थालनी हुन गयो । यम र यमुना नामक दिदीभाइले प्राणी मात्रको सद्भावमा पंक्षीमा काग र पशुमा कुकुर र गाईगोरू तथा मानिसहरूको (आफ्नै) सम्मानमा पूजा, भोजन र नाचगान गरी मनाए । मानिसहरू पशुभन्दा फरक चेतनशील प्राणी भएकाले दिदीवहिनी तथा दाजुभाइ बीच छुट्टै पवित्र प्रेम र सद्भाव हुनुपर्ने मान्यताका आधारमा भाइटीका मनाउन थालियो । यसरी यम र यमुना नामक व्यक्तिहरू (भाइ र दिदी) ले समस्त प्राणीको सद्भावमा काग, कुकुर, गाई, गोरु र मानिसको तिहार मनाउने परम्परा प्रारम्भ गरेकाले यमपञ्चक भनिएको हो । देउसीमा भनिने बलिराजा पौराणिक होइनन् नेपालको सिंजाका राजा हुन् (२०७४ असोज २६, चक्रपथ डट कम) । यसैगरी कमल रिजाल (२०६९) का अनुसार तिहारको पर्यायवाचीका रुपमा लिइने यमपञ्चक शब्दले यम÷याम अर्थात समयलाई जनाउँदछ । यमराज अर्थात समयराज वा कालराज भनेको मिथकीय परिकल्पनाले तयार पारेको मृत्युका देवता नभई समय वा मौसम हो । यमराजलाई खुशी पारी आयु र आरोग्य वृद्धिको कामना गर्नु भनेको समयानुकूल चल्न सिक्नु हो । तिहारले समयानुकूल चल्न सिकाउँदछ । दसैं वर्षे वाली भिœयाउने याममा मनाइने उत्सव हो भने तिहार हिउँदे वाली लगाउने याममा मनाइने उत्सव हो । त्यसकारण तिहारको आगमनले हिउँदे वाली लगाउने याम र जाडो यामको संकेत गर्दछ (पृ. ६) ।

माथि उल्लेखित हिन्दु धार्मिक साहित्यसँग जोडिएका तिहार सम्बन्धी कथनहरू काल्पनिक र धार्मिक मान्यता वा आस्थासँग सीमित छन् भने प्रा. डा. जगमान गुरुङ र कमल रिजालका तर्कहरू समाजशास्त्र तथा मानवशास्त्रको मानव पर्यावरणीय दृष्टिकोण (Human ecological perspective) सँग सम्बन्धित यथार्थपरक छन् । यसैगरी तिहारको उत्पत्तिको कथनलाई नेपाली समाजको ऐतिहासिक पक्षसँग अन्तरसम्बन्धित गरेर व्याख्या गर्ने प्रयास किराँती मुन्धुममा गरिएको पाइन्छ । प्राचीन पश्चिम नेपालका पोखरादेखि गोरखपुरसम्मको राज्यका मगर राजा बलिहाङ जनताका प्रिय, धर्मात्मा र भविष्यवक्ता पुजारी थिए । उनले आफ्नो मृत्युको वारे जानकारी पाएपछि जनतालाई पनि सुनाइदिए । जनताले साह्रै दुःखी भएर राजासँग आयृु लम्ब्याउने कुनै उपाय छ कि भनेर सोध्दा राजाले आफ्नो मृत्युको समय मंसिर पूर्णिमाको अन्त्य र औंसीको प्रारम्भमा यमदूत आउँदा बत्ति बालेर रोइकराई बिन्ति गरेमा जीवनदान दिनसक्ने जनाएकाले जनताले पनि सोहीअनुसार यमदूतसँग विन्तिभाव बिसाएर राजाको जीवन बचाउन सफल भए । आफ्ना प्रिय राजाको जीवन बचाउन सफल भएका मगरहरूले खुशीयालीमा घरघरमा बत्ति बालेर नाच्दैगाउदै हिडे । प्राचीन मगर भाषामा ‘फा–इ–लो’ को अर्थ बचायौं र ‘देउसी रे’ को अर्थ धर्मात्मा पुजारी राजा हुन्छ । कालान्तरमा ‘फा–इ–लो’ शब्द अपभ्रंश भई भैलो हुन पुग्यो (चेम्जोङ, सन् १९६७ः ७७–८१) । यसैगरी प्रा. डा. राजाराम सुवेदी (२०६३) का अनुसार बलिहाङगढी (बल्ढेङगढी) सभ्यताका संस्थापक बलिहाङ राना मगर थिए । उनले वर्तमान पाल्पा जिल्ला, बल्ढेङगढी गाविस वडा नं. ५ मा राजधानी कायम गरी इश्वीको चौंधौं शताब्दीतिर बाह्रमगरातमा शक्तिशाली राज्य स्थापना गरेका थिए । ती बलिहाङ राजा मृत्युको मुखमा पुगेका बेलामा त्यस राज्यका सारा जनताले नाचगान, द्यौसी र भैलो खेली यमराजसँग आफ्ना राजाको आयृु बढाइदिन प्रार्थना गरे । फलस्वरुप राजा अकाल मृत्युबाट बचेका थिए । पछि यो सांस्कृतिक परम्पराका रुपमा विकास भएर तिहारमा द्यौंसी र भैलो खेल्ने मगरातको परम्परा विकास भएको लोकइतिहास पाइन्छ (सुवेदी, २०६३ः ८–९) ।

प्रा. डा. जगमान गुरुङ, इमानसिंह चेम्जोङ र प्रा. डा. राजाराम सुवेदीका तर्कहरूबाट तिहार नेपाली समाजमा उत्पत्ति र विकास भएको बुझिन्छ । जहाँसम्म चेम्जोङ र सुवेदीको तर्कहरूले तिहारलाई मगर जातिसँग सम्बन्धित बनाएको देखिन्छ । तिहारमा भैलो–देउसी भट्याउँदा ‘हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको’ भन्ने गरिन्छ । डा. गुरुङ र डा. सुवेदीका अनुसार तिहारका सन्दर्भमा उल्लेख हुने बलिराजा धर्मशास्त्रमा उल्लेखित बलिराजा नभएर नेपालकै राजा हुन् । नेपाली इतिहासमा कर्णाली प्रदेशको सिंजाका शक्तिशाली बलिराजा र गण्डकी प्रदेशको बल्ढेङगढी (पाल्पा) को शक्तिशाली बलिराजाको उल्लेख पाइन्छ । नेपालको इतिहासमा गण्डकी प्रदेशलाई ‘मगरात’ भनिएको र त्यहाँ मगर राजाहरू भएको उल्लेख गरिएको हुनाले बलिराजा मगर नै थिए भन्नेमा दुई मत हुन सक्दैन । कर्णाली प्रदेशको बलिराजालाई पनि कतिपय इतिहासकारले मगर राजा भनेका छन् । इतिहासकार बालचन्द्र शर्मा (२०३३) का अनुसार पाल्पाली राजा गन्धर्वसेनले गुल्मी र खाँचीका राजाहरूको सहयोगमा बल्ह्याङ (बझाङ?) का मगर राजालाई पराजित गरेका थिए (शर्मा, २०३३ः२०३) । यो भनाईले कर्णाली प्रदेशमा मगर राजाहरू रहेको र बल्ह्याङ अर्थात बझाङका मगर राजा नै बलिहाङ वा बलिराजा हुन् भन्ने तर्कलाई बल पु¥याउने देखिन्छ । नेपालको मौलिक चाड तिहारको सन्दर्भमा उल्लेखित बलिराजा कर्णाली प्रदेशको सिंजा वा बझाङ अथवा गण्डकी प्रदेशको बल्ढेङगढीको मगर राजा हुन् भन्ने बुझिन आउँदछ ।

तिहार, भैलो र द्यौसी शब्दको व्युत्पत्ति

प्रायजसो मगर बस्तीहरू परम्परागत थरघरको नातेदारी सञ्जालबाट सामुदायिक प्रणालीमा क्रियाशिल भएको पाइन्छ । चेलीवेटी, माइती र भाइखलकको तीनघरे वैवाहिक नाता सञ्जाल समूहबाट एउटा समुदायको संरचना बनेको हुन्छ । यो संरचना (structure) को प्रकार्य (function) का लागि हरेक गाउँमा परम्परागत तिसार (समिति) हुने गर्दछ । तिसारले गाउँको रीतिथिति, सामुहिक पूजाआजा लगायतका महŒवपूर्ण कार्यहरूको व्यवस्थापनमा अग्रसरता जनाउने गर्दछ । पश्चिम स्याङ्जा (कारीकोट), चण्डीभञ्ज्याङ, लसर्घा, छापडाँडा र पाल्पाका केही गाउँहरूमा अहिले पनि यस्ता परम्परागत संस्था  ‘तिसार’ प्रचलनमा रहेको पाइन्छ (थापा मगर, २०४९ः १९) । वर्षे वाली मकै भिœयाउने समयमा भूमि अर्थात प्रकृति र पितृहरूलाई धन्यवाद ज्ञापन गर्न अनेकन पूजाआजा गरी आपसी भेटघाट र खानपिन गर्ने तथा हिउँदे वाली लगाउने समयमा राम्रो उत्पादनको कामनाका साथ प्रकृतिको प्रार्थना गर्दै नाचगान गर्ने परम्पराबाट विकास भएको दसैं र तिहारमा पनि तिसारकै नेतृत्वदायी भूमिका रहन्छ । तिहारको बेला तिसार (समिति) कै पदाधिकारीहरूको अगुवाईमा घरघरमा गएर तीन दिनसम्म नाचगान गरी आफ्नै वार्षिकोत्सव झैं  गरी मनाइने भएकाले उक्त उत्सवको नाम नै तिसार रहन गएको बुझिन्छ । कालान्तरमा तिसार शब्द नै जनजिब्रोमा तिहार को रुपमा प्रचलित हुन पुग्यो । दसैं पछिको समय प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र अनुकूल हुनुका साथै गाउँलेहरू कामको चापबाट केही फुर्सदिला पनि हुने भएकाले सार्वजनिक एवं मनोरञ्जनात्मक गतिविधिहरूमा तिसारको बढी सक्रियता र अग्रसरता हुँदा उक्त उत्सव वा चाडको नाम नै तिसार पर्यायवाची हुन पुग्नुलाई अस्वाभाविक ठान्न सकिदैन ।

न धेरै गर्मी, न त धेरै जाडो ज्यादै अनुकूल मौसममा पर्ने तिहारका बेलामा अन्नअनाज तथा फलफूलले खेतवारी र घरको वातावरणलाई सम्पन्नता र पूर्णता दिलाएको हुन्छ । यस्तो उमङ्गमय पर्यावरणमा दाजुभाइहरू प्रकृतिको आराधना गीत गाउदै नाच्ने परम्पराबाट भैलो र द्यौसीको विकास भएको मानिन्छ । भैलो शब्द मगर भाषाको भयालो बाट र द्यौसी शब्द देउ स्याहा बाट व्युत्पन्न भएको बुझिन्छ । मगर भाषामा भाइलाई भया भनिन्छ । तिसारमा आबद्ध भाइखलक अर्थात दाजुभाइहरूको समूहले गाउनेनाच्ने भएकाले भयालो भनियो । भयालो अर्थात भैलो खेल्दा पुरुषहरू अर्थात दाजुभाइहरू मात्र सहभागिता रहने परम्पराका कारण मारुनीनाचमा पुरुषहरू नै महिलाको भेषमा नाच्ने गरेको हो । मगर भाषाको मारुनी र सिङारु शब्दले महिलाको भेषमा पुरुष भन्ने अर्थ दिन्छ । तिहारको भैलोमा प्रकृति र मानव बीचको प्रेम, पशुपंक्षी र मानव बीचको प्रेम अनि मानव र मानव बीचको प्रेम र सद्भावको गीत गाएर नाचिन्छ । तिहारमा कुनै पशुपंक्षीको बलिपूजा गरिदैंन । काग, कुकुर, गाईगोरु र मानिस स्वयंको पूजा गरिन्छ । फूलका माला र दियो बत्तिले झिलिमिली सिंगारिन्छ । फलफूल र रोटी खाइन्छ अनि रमाइलो गरिन्छ । तिहार मानवता र त्यो भन्दा अझ उच्च मानवता अर्थात देवत्व झल्काउने चाड हो । त्यसैले तिहारमा नाचिने भैलो पनि उच्च मानवीयता अर्थात देवताको नाच भएकाले देउसी वा द्यौसी भनिएको हो । मगर भाषामा देउ को अर्थ देवता र स्याहा को अर्थ नाच हुन्छ । देउ स्याहा बाट देउस्याह—द्यौसा हुँदै द्यौसी बनेको हो । द्यौसी शब्द भैलोको पर्यायवाचीको रुपमा प्रयोग हुँदै आएको छ । भैलो सुरु गर्दा कुलपितृ लगायत चारै दिशाका देवदेवीहरूको आराधना गीत गाइन्छ । खासगरी मारुनी नचाउँदा देवीदेवताको प्रार्थना गीत गाएर नाच्ने परम्परा रहेको छ । त्यसकारण पनि भैलोनाचलाई द्यौसी अर्थात देवनाच भनिएको हो ।

तिहार मनाउने शैलीगत विविधता

हिमाल, पहाड, तराई अनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली भूभाग जसरी भौगोलिक तथा जैविक विविधतामा सजिएको छ; त्यसरी नै सामाजिक एवं सांस्कृतिक रुपले विविधतामा सिङ्गारिएको पाइन्छ । त्यसकारण सबै नेपाली समाजमा तिहारलाई समान शैली, प्रक्रिया र आस्थाका साथमा मनाइएको पाइँदैन । भिन्न–भिन्न स्थान र समुदायमा आ–आफ्नै मान्यता र शैलीमा तिहार मनाउने गरिएको पाइन्छ । खासगरी गण्डकी प्रश्रवणक्षेत्रका पहाडी बस्तीहरू जसलाई नेपाली इतिहासमा महर्लोक वा मगरात क्षेत्र भनिएको पाइन्छ । यो भेगमा तिहारलाई विशेष महŒव र मनोरञ्जनका साथ मनाउने गरिन्छ । गाईतिहारदेखि भाइटीकासम्मको अवधिलाई नै यो भेगमा तिहार भनेर हर्षोल्हासका साथ मनाउने चलन छ । कागतिहार र कुकुरतिहारलाई सामान्य सांकेतिक रुपमा मनाउने गरेको वा खासै महŒव दिएको पाइँदैन । वालीनालीमा लाग्ने किरा र घर वरपरको फोहरमैला खाएर वातावरण सन्तुलित र स्वच्छ राख्न सहयोग गर्ने कागको सम्मानको प्रतीक कागतिहारको मान्यता पछि थपिएको मानिन्छ । नेपालको पहाडी समाजमा खेतीपाती र पशुपालनमा निर्भर रहेकाले पशुधनको सुरक्षार्थ कुकुरको विशेष महŒव रहेको हुन्छ । त्यसकारण गाईतिहारको अघिल्लो दिन कुकुरलाई सम्मान गर्ने चलन बसालिएको पाइन्छ । औंसी अर्थात गाईतिहारको दिनदेखि वास्तविक तिहारको रमझम सुरु हुन्छ । बिहानै नुहाईधवाई गरेर वनबाट विभिन्न फूल, पात र खर ल्याइन्छ । खरको डोरी बाटेर बीच–बीचमा फूल र पात घुसारी तोरण र माला बनाइन्छ । घरका कुलपितृ तथा गोठका देवताहरूको स्मरणमा धूपबत्ति गरी आरोग्य र दीर्घायुको कामना गरिन्छ । त्यसपछि चामलको पीठो पानीमा पन्यालो गरी घोलेर काक्रोको भेट्नाले गोठका गाईभैसीलाई टीका र खरको डोरीबाट बनाइएका माला लगाइदिने तथा पीठो, कुँडो र घाँस खुवाउने गरिन्छ । पशुधनको आरोग्यता र सुरक्षाको कामना गर्दै तोरणको एक टुप्पो गोठको छानोमा र अर्को टुप्पो खोला वा खोल्छा पारिको रुखको हाँगोमा बाँध्ने गरिन्छ । यसले गोठदेखि वनसम्मको सुरक्षाको संकेत गर्दछ । घर र गोठको वरिपरि पनि तोरण टाँगिन्छ । गोठपूजाको कार्यक्रम सकेपछि घरका झ्याल, ढोका, पाली र बार्दलीमा सयपत्री फूलका माला उनेर झुण्ड्याइन्छ ।

रम्घा गाउँपालिका ३, झेस्काङ, पाल्पाका उप प्राध्यापक छविलाल चिदी मगरका अनुसार गाईतिहार भनिए पनि वास्तवमा गोठपूजा वा गोठतिहार नै हो । किनभने यो दिनमा गोठमा पालिएका गाईका अतिरिक्त गोरु र भैसीलाई पनि टीका माला लगाइदिने गरिन्छ । पहाडमा राँगो जोत्ने चलन नरहेकाले हल गोरुका लागि गाई पाल्नैपर्ने हुन्छ । त्यसकारण पहाडी किसानलाई खेतीपातीका लागि गाईगोरुको विकल्प नरहेकाले नै गाईको विशेष महŒव रहन गयो । हरेकको गोठमा गाईगोरु हुने भएपछि गोठपूजा वा गोठतिहारको पर्यायवाची गाईतिहार बन्न पुग्यो । पाल्पाका मगर गाउँहरूमा औंसीका दिन गोठमा गोठ गैंडु र भीउसुनको पूजा गरिन्छ । गोठका रक्षक यी दुवै देवताका नाउँमा एक–एक वटा कुखुरा बलि दिइन्छ (चिदी मगर, अन्तर्वार्ता, वि. सं. २०७५ जेठ २१) । किसानहरूले आफ्ना गोठका गाईभैसीलाई तिहारकै समयमा पुज्नुको खास कारण रहेको छ । लेक र वेसी गरी घुम्ते बसाइँ गर्ने पहाडी समाजमा चैत–वैशाखतिर लेकमा गोठ सार्ने र असोज–कात्तिकतिर बेसीका स्थायी बस्तीमा गोठ सार्ने चलन हुन्छ । लेकबाट गाईभैंसी बेसी झार्दा छ महिनादेखि खाली रहेको गोठको सरसफाई र पूजाआजा गरेर मात्र प्रवेश गराउने चलनबाट गोठतिहार अर्थात गाईतिहार मनाउने परम्पराको विकास भएको हो । लामो समयदेखि खाली रहेको गोठमा भर्खर प्रवेश गराइएका गाईभैंसीलाई रातको समयमा हानिकारक जिवाणु, किराहरू, हिंस्रक वन्यजन्तु तथा दुरात्माहरूबाट बचाउने उद्देश्यले लगातार तीन रातसम्म बत्ती बालेर उज्यालो बनाउने चलन बसेको हो । रातको समयमा बत्तीको उज्यालोमा बाघ लगायत हिंस्रक वन्यजन्तु र किराहरू आउँदैनन् भने भूतप्रेत, मसान जस्ता दुरात्माहरू पनि डराउँछन् भन्ने लोकविश्वास रहेको छ । पश्चिम वागलुङको निसी लगायतका गाउँका मगरहरूले अहिले पनि दसैं अघि आफ्ना गाईवस्तुहरू लेकाली चरनक्षेत्र ढोरपाटनबाट बेसीको गाउँबस्ती छेउछाउमा झार्ने गर्दछन् । जाडो बढ्दै गएपछि गोठको सरसफाई एवं पूजा गरी गाईवस्तुलाई गोठमा राख्दछन् । निसी गाउँका मगरहरूले तिहारको औंसीका दिन कुखुरा काटेर गोठपूजा गर्दछन् । तिहारमा घरआँगन र गोठमा बालिने झिलिमिली बत्तिले न्यानो अर्थात आगोको आवश्यकतालाई पनि संकेत गर्दछ ।

गाईतिहारलाई लक्ष्मीपूजा पनि भन्ने गरिन्छ । लक्ष्मीलाई धनसम्पत्तिको प्रतीक मानिन्छ । पशुपालन र खेतीपातीमा पूर्णतया निर्भर रहेको पहाडी समाजको धनसम्पत्ति वा लक्ष्मी भनेकै पशुधन हो । नेपालको पहाडी कृषि समाजमा आजसम्म पनि खेतवारी जोत्नका लागि गोरुको विकल्प छैन । त्यसकारण पनि गाईगोरुको विशेष महŒव रहन गएको हो । हिन्दु र बौद्ध ग्रन्थले गाईलाई आमा सरहको मानेको छ । बच्चाका लागि आमाको दूध जति पौष्टिक मानिन्छ गाईको दूध त्यतिकै पौष्टिक हुन्छ । गाईको गहुँत र गोबरमा किटाणु मार्ने क्षमता भएकाले नै लिपपोत गर्ने र शुभकार्यमा प्रयोग गरिन्छ । भैसी र घोडाको लिदीले किटाणु मार्ने होइन कि किरा पार्ने र दुर्गन्ध फैलाउने हुन्छ । गाईको दूधमा बौद्धिक क्षमता वृद्धिगर्ने र स्वास्थ्य लाभ दिने पौष्टिक तŒव प्रशस्त हुन्छ भने गोबर र गहुँतले जमिनलाई उर्वर बनाउँदछ । अर्कोतर्फ जोत्ने गोरु उत्पादनका लागि पनि गाई पाल्नै पर्ने भएकाले लक्ष्मी अर्थात धनसम्पत्तिका रुपमा सम्मान गर्ने परम्पराको विकास हुनगयो ।

गाईतिहारको साँझपख घरआँगन र गोठमा दियो बालेर झिलिमिली पारेपछि भैलो खेल्न सुरु गरिन्छ । घरदैलोमा पुगेर भैलो खेल्ने र साँझपख घरगोठमा दियो बालेर झिलिमिली पार्ने क्रम भाइटीकाको साँझसम्म चल्दछ । गाउँघरमा गाईतिहारको भोलिपल्टको दिनलाई गोरुतिहार भन्ने गरिए पनि कुनै विशेष कार्यक्रम भने हुँदैन । ब्रह्मण समुदायमा भने औंसीको साँझ लक्ष्मीपूजा र गोरुतिहारका दिन गोवर्धनपूजा गर्ने चलन पाइन्छ । गाईतिहारको तेस्रो दिन भाइटीकाको कार्यक्रम गरेर तिहार सम्पन्न गरिन्छ । भाइटीकाको दिन विहानै दिदीवहिनीहरूले धूपदीप गरेर दैलोमा पन्यालो गरी पानीमा घोलेको चामलको पीठो र तोरीको तेलको धार लगाई ओखर फुटाउँदछन् । यस क्रममा आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र सम्बृद्धिका साथै शत्रुवैरी नाशको कामना गर्दछन् । त्यसपछि दाजुभाइको निधारमा चामलको पीठो र रंगहरूको संयोजनमा त्रिरंगी÷पञ्चरंगी÷सप्तरंगी टीका र गलामा सयपत्री वा मखमली फूलको माला लगाइदिएर फलफूल एवं घुमाउने रोटी आदिको भोजन टक्र्याउँदछन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायमा केही फरक शैलीका साथ तिहारलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिन्छ । कात्तिक शुक्ल द्वितीया (भाइटीका) को दिन नेपाल संवतको नयाँ वर्ष मनाउने र म्हपूजा गरिन्छ । तिहारलाई वर्षान्तका रुपमा लिने गरिन्छ । तिहारदेखि नेपाल संवत्को नयाँ वर्ष प्रारम्भ हुन्छ । तिहारको चौथो दिन म्हपूजा भनी मण्डलको अगाडि बसेर आफ्नै शरीरको पूजा गरिन्छ । यसो गर्दा सु–स्वास्थ्य लाभ र दीर्घायू प्राप्त हुने विश्वास गरिन्छ । वि. सं. ९३६ कात्तिक शुक्ल प्रतिपदाका दिन काठमाडौंको शंखधर (साख्वाः) ले ऋणमुक्त गरेर नेपाल सम्वत् चलाएकाले म्हपूजा गर्ने भनी आ–आफ्नो शरीरको पूजा गर्ने चलन बसेको मानिन्छ । नेवार समुदायमा तिहारलाई स्वन्ति नखः (स्वन्ति चाड) भनिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मीका साथै वर्ष भरि कृषि कार्यमा प्रयोग गरिने कुटो, कोदालो, हँसिया, बन्चरो आदि साधनको पूजा गरिन्छ । औंसीको दिन म्हपूजा गरेपछि धनसम्पत्तिको प्रतीक लक्ष्मीको पूजा गरिन्छ । अवीरादि पाँच रंगले लक्ष्मीको मण्डप बनाई त्यसमा लावा, अक्षता, धान, सुगन्धी पूmल र तेलको प्रयोग गरिन्छ । कुचो, पूर्णजलघडा स्थापना गरी दही, विमिरो, केरा, मूला आदि फलपूmल र रोटी चढाइन्छ । घरको मूल ढोका सामुन्ने रहेको पिखालखु देखि रातो माटोले पोतेर पूजाकोठासम्म पु¥याइन्छ जसलाई लक्ष्मी आमन्त्रण गरेको मानिन्छ । पूजाकोठामा लक्ष्मीको स्थापना गरी पूजा गरिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने र भोजन गराउने गर्दछन् । नेवारहरूले योमरी, लाखामरी लगायतका विविध परिकार खाने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू रानी पोखरीस्थित बालगोपालेश्वर महादेवको मन्दिरको दर्शन गर्न जान्छन् । अरु बेला प्रायः नखोलिने रानीपोखरीको ढोका सर्वसाधरणका लागि यस दिन बिहानै खुल्ला हुन्छ । नेपाल संवत् ७९० कार्तिक शुक्लपक्षका दिन राजा प्रताप मल्लले यो मन्दिर निर्माण गराएका थिए (वज्राचार्य; २०४३ः ६८–८०) ।

तराईको मिथिला क्षेत्रमा कार्तिक शुक्ल द्वितीयाको भाइटीकालाई भर्जुतिया (भैयादुज) वा भ्रातृद्वितीया चाडको रुपमा मनाइन्छ । दिदीबहिनीले भातृद्वितीयाका अवसरमा गाईको गोबरले घरआँगन लिपपोत गरी सफासुग्धर गर्दछन् । बिहानै नुहाइधुवाई गरी नयाँ लुगा लगाएर यस चाडको तयारीमा जुट्छन् । पिर्कालाई पानीले धोएर सफा गरी त्यसै माथि अरिपन रचिन्छ । पिठार (चामलको पीठो) बाट पाँच वटा सर्पसङ्कुल आकृतियुक्त अरिपन बनाई बीचमा सिन्दूरको लेप लगाइन्छ । चामलको पीठोमा रंग मिसाएर बनाएको घोलबाट कोरिने चित्रलाई अरिपन भनिन्छ । पिर्कामाथि कमलको फूलको आसन राखिन्छ । त्यसको नजीक जल, फूल, सिन्दूर, ६ वटा पानका पात, ६ वटा सिङ्गो सुपारी, सानो सुकमेल, ठूलो सुकमेल र जाइफल राखिन्छ । दिदीबहिनीले दाजुभाइका खुट्टा धोएर अरिपनबाट अलङकृत पिर्कामाथि बसाउँछन् । दिदीबहिनीले आफ्नो सारीको आँचल समातेर दाजुभाइका दुवै हातमा पिठार सिन्दूर लगाइदिन्छन् । कुनै दिदीबहिनीले खुट्टामा पनि लगाइदिन्छन् । हातमा मह, गाईको घ्यू र चन्दन समेत लगाउने गरिन्छ । त्यसपछि दाजुभाइका हत्केलामा पानको पात, सुपारी, फूल, जाइफल र जल राखेर सु–स्वास्थ्य र दीर्घायुको कामना गरिन्छ । त्यसपछि दाजुभाइलाई टीका लगाइदिएर मख्खनको खीर खुवाइन्छ । दाजुभाइले पनि गच्छेअनुसारको उपहार दिने गर्दछन् (यादव; २०६७ः च) ।

नेपालको मिथिला क्षेत्र र भारतको विहार, झारखण्ड र उत्तर प्रदेशमा मनाइने दिवाली अर्थात तिहार समान खालका हुन्छन् । नेपालको भोजपुरी र मैथिली समाजमा भरद्वितीयाः भनिने भाइपूजालाई भारतमा भैयाँ दुज, भाइ दुज, भाथुर द्वितीय र भातृद्वितीया भनिन्छ । पश्चिम बंगालमा भाइ फोटा, महाराष्ट्र र अन्य केही क्षेत्रमा भाइ बीज, भाउ बीज र भाव बीज पनि भनिन्छ । त्यहाँ पनि आ–आफ्ना लोकभेषभूषामा सजिएर घरदैलोमा पुगी नाच्दैगाउँदै आशीष मागिन्छ । नेपालको मिथिला क्षेत्रमा मनाइने दिवाली र छठ एकै चाडका दुई चरण जस्ता हुन् किनभने दिवालीको लगत्तै अर्थात चार दिन पछि (कात्तिक शुक्ल षष्ठी तिथिमा) छठ मनाइन्छ । नेपालको पूर्वी तराई र भारतको विहार, झारखण्ड र उत्तर प्रदेशको केही भेगमा सूर्यको आराधना गर्दै छठ महोत्सव मनाइन्छ । छठको पहिलो दिन नुहाएर शुद्ध शाकाहारी भोजन गर्ने, दोस्रो दिन उपवास बसी साँझ पूजाआराधना गरी प्रसाद खाने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरी समापन गर्ने चलन छ ।

थारु समुदायमा यो चाडलाई सुकरात नामले कात्तिक औंसीदेखि शुक्ल तृतीयासम्म चार दिन मनाइन्छ । दुई हप्ता अघिदेखि नै घरआँगनको लिपपोत र सरसफाई गर्ने तथा आवश्यक सामाग्री जुटाउने कार्य गरिन्छ । सुकरातको पहिलो दिन अर्थात् औंसीको दिन पुरुषहरूले सण्ठीको दियाठी (सनपातको डाँठबाट बनाइएको बत्ती राख्ने साधन), टेक्ठी (पूजा सामग्री) र हक्की हुक्का (आगो बाल्नका लागि बनाइएको भाङ वा मसाल) बनाउँछन् । महिलाहरूले पिठार (चामलको पीठो) को चिराख (दियो) बनाउँछन् । साँझपख महिलाहरूले घर आँगन र वारीमा दियाठीमा अक्षता चढाएर चिराख बाली लक्ष्मीको स्वागत गर्दछन् भने पुरुषहरूले खेतमा टेक्ठी चढाउने, दियाठीमा अक्षता चढाएर चिराख बाल्ने र हकीहुक्का खोलेर लक्ष्मीको स्वागत गर्दछन् । दोस्रो दिन पखेव मनाउने गरिन्छ । यस क्रममा हलो, कोदालो, ढिँकी, जाँतो, ओखल, मुसल, झ्याल, ढोका आदिको पूजा गरिन्छ । त्यसपछि गाईवस्तुलाई खुल्ला ठाउँमा लगेर नून ख्वाइन्छ । पिपराली (लहरे वनस्पति) र पखेव (अदुवा जस्तो जंगली घाँस) लाई ओखलमा कुटेर हरियो धानको बोट काटेर बनाइएको टुक्रामा मिसाएर गाईवस्तुलाई खुवाइन्छ । चामलको पीठो, तेल र सिन्दूरको मिश्रण गाईवस्तुको टाउको र सिङमा लगाइदिने र नयाँ डोरीले सिंगार्ने गरिन्छ । घरआँगन र गोठमा पूजा गरिन्छ । गोठमा गोबरको गोही र भकारी बनाई बासी भात र धान राखेर दुबो र घिरौंलाको फूलले पूजा गरेपछि गोहीलाई लठ्ठीले हानेर सेलाइन्छ । पानीका स्रोतहरु इनार, ट्यूुववेल आदिको पनि पूजा गरिन्छ । साँझपख बत्ती बाल्ने र गाईको पूजा पनि गरिन्छ । यसै दिन साथीभाइलाई बोलाएर बगिया (चामलको पीठोबाट बनेको परिकार), चिउरा, मासु आदि खाने गरिन्छ । तेस्रो दिन अर्थात् द्वितीयाको दिन आफ्नो खेतबारी र घर आँगनमा लक्ष्मी भित्रिएको विश्वासमा घरको ढोकामा लक्ष्मण रेखा कोर्ने चलन छ ।  यसो गर्दा लक्ष्मी बाहिरिदैनन् भन्ने मान्यता रहेको पाइन्छ । यस दिनमा छरछिमेकलाई बोलाएर खुवाउने, आफू पनि खान जाने र नाचगान गरी रमाउने गरिन्छ । थारु समुदायमा द्वितीया अर्थात् भाइटीकाको दिन टीका लगाउने परम्परा नभए पनि अहिले आएर टीका लगाउने चलन भित्रिएको पाइन्छ । सुकरातको अन्तिम दिन अर्थात् शुक्ल तृतीयाको दिनलाई जमजितिया भनिन्छ । यस दिन छोरी ज्वाइँलाई खान बोलाइन्छ । यसरी थारु समुदायमा तिहारको समयमा चार दिनसम्म सुकरात चाड मनाइन्छ (चौधरी; २०६७ः २२)

तिहार नेपालका अतिरिक्त अन्य मुलुकहरूमा पनि मनाइन्छ । भारत, श्रीलंका, भुटान, वर्मा (म्यान्मार), मरिसस, युगाना (उत्तर अमेरिका), त्रिनिडाड एण्ड टोबेगो, सुरिनाम, मलेसिया, सिङ्गापुर, फिजी लगायतका देशहरूमा यो चाडको अवसरमा राष्ट्रिय बिदा दिइन्छ । विश्वव्यापीकरणका कारण अन्य देशहरू बेलायत, जापान, थाइल्याण्ड, इण्डोनेसिया, अष्ट्रेलिया, न्युजिल्याण्ड, केन्या, तान्जानिया, दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, नेदरल्याण्ड आदि देशहरूमा समेत यो चाडको विस्तार भएको छ । खासगरी नेपाली भाषी बसोबास गर्ने भुटान, सिक्किम, दार्जिलिङ्ग लगायतका अन्य स्थानहरूमा नेपालमा झैं तिहार मनाउने गरिन्छ । जैन धर्मावलम्बीहरूले मोक्ष प्राप्त हुने आशयका साथ र पञ्जावी (शिख) समुदायले छैठौं गुरु हरगोविन्दजीको सम्झनामा दिपावली मनाउँछन् । मलेसियाको सारावाक र संघीय लावुना क्षेत्र वाहेक देशभरि हरि दिवाली नामले मनाइन्छ । खराब विरुद्ध असलको विजयको रुपमा रुपमा मनाइन्छ । इन्डोनेसियाको बाली द्वीपमा पनि यो चाड धुमधामसँग मनाइन्छ ।

तिहारका मौलिक विशेषताहरू

वर्षे बाली भिœयाउने र हिउँदे बाली लगाउने समय अर्थात गर्मी यामको समाप्ती र जाडो यामको थालनीको दोसाँधमा मनाइने नेपाली समाजको ऋतुकालीन चाड भएकाले तिहारका आफ्नै खाले मौलिक विशेषताहरू रहेका छन् । तिहारलाई दिपावली वा दिवालीको पर्यायवाचीको रुपमा पनि बुझ्ने गरिन्छ । तिहारमा दियो वा दीप बालेर झिलिमिली पारिने भएकाले दिपावली भनिएको हो । दियो वा उज्यालोको स्रोत आगो वा सूर्य हो । तिहार पछि जाडो बढ्दै जाने हुँदा न्यानोपना दिने घाम वा आगोको बढी महŒव हुन्छ । त्यसैले प्रतीकात्मक रुपमा दियो बालेर तिहार मनाउने गरिएको हो । तराई समाजमा तिहार लगत्तै मनाइने छठ उज्यालोको स्रोत सूर्यको पूजा उत्सव हो । तिहारमा काग, कुकुर र गाईगोरुको पूजा गर्नुलाई कृषि र पशुपालन युगको विशेषतासँग अन्तरसम्बन्धित गरेर विश्लेषण गर्नु उपयुक्त ठहरिन्छ । काग सधैंभरि मानव वस्ती वरपर घुमिरहने र फोहरमैला खाएर वातावरण सफा राख्न मद्दत गर्ने तथा कुकुरले घरगोठको सुरक्षामा सघाउने भएकाले तिहारमा सम्झना गरिएको हो । गाईतिहारमा गाईका अतिरिक्त गोठका गोरु र भैंसीलाई समेत टीकामाला लगाइदिने गरिन्छ । गाउँघरका आम मानिसहरूले वैदिक विधिपूर्वक लक्ष्मीपूजा, गोवर्धनपूजा र पातालका देवता बलिराजाको पूजा गरेको पाइँदैन र त्यस्तो विधिविधान जानकारी पनि राखेको पाइँदैन । भाइटीकामा पनि आम नेपालीले वैदिक विधिविधान अनुरुप कार्यक्रम गरेको पाइँदैन । सामान्यतया दिदीवहिनीहरूले दैलोमा तेल र पीठोको धार लगाउने, ओखर फोड्ने र दाजुभाइको निधारमा चामलको पीठोको टीका र गलामा फूलको माला लगाइदिने गर्दछन् । तिहारको विशेष परिकारको रुपमा घुमाउने रोटी (सेलरोटी) खाने गरिन्छ । यी सबै तिहारका मौलिक विशेषताहरू हुन् । भाइटीकाको सन्दर्भ यमराज र यमुनाको मिथकसँग भन्दा पनि स्थानीय जीवनशैली र व्यवहारसँग जोडिएको पाइन्छ । वर्षको छ महिना लेक र छ महिना बेसीमा बसोबास गर्ने अर्धघुमन्ते जीवनशैलीसँग भाइटीकाको थालनीको कथा जोडिएको छ । चैत–वैशाखदेखि लेकाली गोठमा बसेर कार्तिक–मंसिरतिर बेसी झर्ने दाजुभाइलाई दिदीवहिनीहरूले न्यानो स्वागत टक्र्याउने क्रममा भाइटीकाको परम्परा विकास भएको मानिन्छ । जसरी गोठपूजा गरेर लेकबाट बेसी झारिएका गाईवस्तुलाई टीकामाला सहित गोठ प्रवेश गराइयो । त्यसरी नै गोठाले दाजुभाइलाई दिदीवहिनीहरूले टीकामाला लगाइदिएर घरमा स्वागत गरी मिष्ठान्न भोजन गराए । लामाझांक्रीवादी मान्यताअनुसार वनजंगल खोलानाला हुँदै घर फर्कदा दुरात्माहरूले पछ्याएका हुन्छन् । आगो छोएर मात्र दैलोभित्र प्रवेश गर्दा दुरात्माहरू भाग्दछन् वा दैलो बाहिरै रहन्छन् भन्ने विश्वासका आधारमा लेकबाट गाईवस्तु सहित महिनौ लगाएर घर फर्केका दाजुभाइको सुरक्षा तथा दुरात्मा धपाउने उद्देश्यबाट दैलोमा तेल र चामलको पीठोको धार लगाउने, धूपबत्ती गर्ने र ओखर फुटाउने गरियो । यस्तो चलन कालान्तरमा परम्परा एवं संस्कारको रुपमा विकास हुनगएको बुझिन्छ । दैलामा धूपबत्ती गर्नु, धार हाल्नु र ओखर फुटाउनुले दुरात्मा एवं रोगव्याधीलाई रोक्ने र प्रहार गर्ने तथा टीका र मालाले सुख, सम्वृद्धि र सुस्वास्थ्यलाई संकेत गर्दछ । तिहारमा प्रयोग गरिने सामग्रीहरू खरको तोरण, फूल, पात, ओखर, कटुस, बिमिरो, भोगटे, चामलको पीठो आदि गाउँघरमै उपलब्ध हुने तथा उत्पादन हुने वस्तुहरू हुन् । बिमिरोको पातको खुँची (पाला) मा तोरीको तेल र कपासको धागोको बाती राखेर ढिकी, झाँतो, दैलो, गोठ आदिमा बत्ती बालिन्छ । औषधीय गुणयुक्त बिमिरोको पातको खुँचीमा बत्ती बालेर अन्न कुटानीपिसानी गर्ने ढिँकी, झाँतो, गोठ, आँगन र दैलोमा राख्नु स्वास्थ्य, सुख, सम्वृद्धिको कामनाको प्रतीक हो । यी सबै तिहारका मौलिक विशेषताहरू हुन् ।

तिहारको समयमा घरदैलोमा पुगेर भैलो द्यौसी खेल्ने तथा मारुनी नचाउने परम्परा मौलिक विशेषता हो । छ महिना लेकाली गोठमा बसेर बेसी झरेका दाजुभाइहरूले गाउँटोलका सबैसँग भेटघाट र रमाइलो गर्ने क्रममा भैलोको परम्परा बिकास भएको हो । सबैका घरमा अन्नअनाज भित्रिएका हुनाले भैलोमा दानदक्षिणा गर्ने संस्कार पनि बस्न गयो । गण्डकी प्रश्रवण क्षेत्रमा भैलो द्यौसीमा मारुनी नचाइन्छ । राप्ती प्रश्रवणक्षेत्रका रोल्पा, रुकुम र डोल्पामा नचारु, पैस्यारु, सरङ्गी, भैलेरु, सिंगारु आदि लोकगीति नृत्यहरू प्रस्तुत गरिन्छ । पूर्वी नेपालको धनकुटातिर भैलोमा हुर्रानाचको प्रचलन पाइन्छ । गुल्मीतिर औंसीदेखि भाइटीकासम्म भैलो भट्याइन्छ भने स्याङ्जातिर औंसीका दिन युवाहरूले भैलो खेल्ने र गोरु तिहारका बुढापाकाले द्यौसी खेल्ने गरेको पाइन्छ । नुवाकोटतिर गाईतिहारमा भैलो र गोरुतिहारमा देउसी भट्याएर केटाहरू मात्र नाच्ने गर्दछन् भने कुनै भेगमा गाईतिहारमा केटाहरूले देउसी खेल्ने र गोरुतिहारमा केटीहरूले भैलो खेल्ने गर्दछन् ।

तिहारको नाममा भित्रिएका विकृतिहरू

मानिसका सहयोगी पशुपंक्षीप्रति सम्मान प्रकट गर्ने, दाजुभाइ तथा दिदीवहिनीहरू बीचको सुमधुर सम्बन्धलाई झन बढी समृद्ध पार्ने र शरद्कालीन आनन्दमयी प्राकृतिक वातावरणमा रमाउने उद्देश्यबाट स्थापित भएको तिहारको नाममा अहिले आएर अनेकन विकृति र आडम्बरहरू भित्रिएका छन् जसले यस चाडको मौलिकता र महŒव माथि नै गम्भीर खतरा उत्पन्न गरिदिएको छ । तिहारको नाममा भित्रिएका सबैभन्दा जटिल समस्या जुवातास र जाँडरक्सी हुन् । यसले समाजमा शान्ति, सुरक्षा र सद्भावमा चुनौति थपिदिएको छ । तिहार आउनु हप्ता दिन अघिदेखि गाउँटोल र बाटाघाटामा समेत झण्डाबुर्जा, कौडा, तास लगायतका पैसाको बाजी राखेर खेलिने खेल सुरु हुन्छ भने अनियन्त्रित किसिमले जाँडरक्सी सेवनको क्रम पनि बढ्दै जान्छ । जुवातास र जाँडरक्सीले व्यक्तिगत रुपमा स्वास्थ्यमा हानी पु¥याउने, घरझगडा बढाउने र सम्पत्तिको विनाश गर्ने मात्र नभई समाजमा चोरी, लुटपाट, बलात्कार, अपहरण जस्ता आपराधिक घटनाहरू वृद्धि गराएर शान्तिसुरक्षामा चुनौति थपिदिन्छ । यस्ता विकृतिहरूलाई हटाउन सकिएन भने नेपाली मात्रको मौलिक चाड तिहारकै महत्ता र गरीमालाई नै घटाइदिन्छ ।

तिहारको नाममा भित्रिएको अर्को ठूलो विकृति भनेको पैसाका लागि खेलिने देउसी–भैलो हो । अहिले आएर तिहारमा खेलिने देउसी–भैलो आफ्ना मौलिक लोकगीत संगीतमा रमाउनका लागि मात्र रहेन । चार पाँच जना जुट्ने अनि घरघरमा भट्ट्याएर खोल्ती भर्ने अथवा आधुनिक बाजागाजा र रिमिक्स गीतमा उफ्रनेको झुण्ड बनाएर पैसा जम्मा गरेर बाँड्ने वा वनभोज खाएर झैंझगडा गर्ने चलन बन्दै गएको छ । गण्डकी सभ्यताको मौलिक विशेषता भैलोनाचलाई अहिले पैसा कमाउने खेल बनाइएको छ । मादलको तालमा नाचेर सुमधुर भाकामा खेलिने भैलो र सोरठी हराउँदै गएको छ । तर केही सामाजिक संघसंगठनहरूले तिहारको भैलोनाचका मौलिक पक्षहरूलाई संरक्षण गर्दै आर्थिक संकलन गरेर एम्वुलेन्स खरीद, विद्यालय निर्माण, असहायलाई सहयोग जस्ता सामाजिक गतिविधि अगाडि बढाएकाले भने तिहारको महिमामा योगदान पु¥याएको देखिन्छ ।

औंसीदेखि भाइटीकाको दिनसम्म घर आँगन चारैतिर झिलिमिली तेलको पाला (दियो) बाल्ने चलनलाई विद्युतीय बत्तीले विस्थापित गराउँदै छ । रंगीचंगी विद्युतीय बत्ती, मैनबत्ती र प्लाष्टिकको फूलमालाको झकिझकाउले एकातिर विकसित शैली भिœयाएको छ भने अर्कोतिर तिहारको खास पहिचान र मौलिकता गुमाएको छ । यस्ता चलनहरूले तिहारको मौलिकतालाई पन्छाएर आर्थिक रुपले बोझिलो, देखावटी र भड्किलो बनाउँदै लगेको छ । तिहारमा पटका पड्काउने विकृतिले केटाकेटीलाई चोटपटक लाग्ने, अपाङ्ग बनाउने, आगलागीको घटना बढ्ने र वातावरणलाई अशान्त पार्ने गरेको देखिन्छ । यस्तै ताजा फलफूल र परिकारको सट्टा अखाद्य रंग मिसिएका, अस्वस्थ्यकर बासी मिठाइ, कोक, फ्यान्टा जस्ता पेय पदार्थ, जाँडरक्सी र महंगा उपहारहरूले तिहारलाई थप विकृत पार्दै लगेको छ । यस्ता विकृतिहरूलाई बेलैमा रोक्नेतर्फ ध्यान पुग्न नसकेमा तिहारको महिमा र महत्ता समाप्त भएर जानेछ ।

निष्कर्ष

नेपाली सञ्चार माध्यमहरूमा प्रचार गरिए झैं तिहार हिन्दु समुदायको मात्र धार्मिक चाड हो भन्ने कुरालाई नेपाली लोकजीवनका अभ्यासहरूले पुष्टि गर्न सक्ने आधार पाइँदैन । आम नेपालीले तिहारलाई हिन्दु धर्मशास्त्र (साहित्य) मा उल्लेखित मिथकहरूका आधारमा विधिविधान पूर्वक मनाउने गरेको पनि पाइँदैन । हिमाल, पहाड र तराई अनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै नेपाली समाजमा वैदिक विधिपूर्वक समान शैली र प्रक्रियाबाट तिहार मनाएको पाइँदैन । अर्कोतर्फ हिन्दु समुदायको विशाल जनसंख्या भएको भारतीय समाज र नेपाली समाजमा समान किसिमबाट तिहार मनाएको पनि पाइँदैन । त्यसकारण तिहार हिन्दु धार्मिक चाड नभएर नेपाली लोकजीवनबाट विकास भएको सामाजिक एवं सांस्कृतिक चाड हो, जसले पहाडी समाजको कृषि र पशुपालनमा आधारित जीवनशैलीलाई प्रतिविम्वित गरेको छ ।

तिहारको स्तरीकृत एवं राष्ट्रिय स्तरको स्वरुपलाई विश्लेषण गर्ने हो भने ऐतिहासिक सप्तगण्डकी सभ्यताबाट विकसित भएको वास्तविकतालाई लुकाउन सकिदैन । तिहारमा गरिने गोठपूजा अर्थात गाईभैसीलाई टीका–माला र तोरण, द्यौसी–भैलो र सोरठी नाच अनि दिदीवहिनीबाट दाजुभाइले टीका र माला ग्रहण गर्ने जस्ता मौलिक परम्पराहरू ऐतिहासिक मगराती सभ्यताका अभिन्न अंगहरू हुन् । त्यसकारण पश्चिम नेपालको गण्डकी प्रश्रवण क्षेत्रमा विकसित भएको तिहार नै गोरखा राज्यको बिस्तारसँगै फैलिँदै राष्ट्रिय चाडको स्तरमा पुगेर सबै नेपालीको साझा ढुकढुकी बन्न सफल भएको अकाट्य यथार्थतालाई नकार्न मिल्दैन । मगरीकरणबाट नेपालीकरणको चरणमा पुग्दा तिहार लगायतका मगराती सभ्यताका मौलिक चाडबाडहरूमा अन्य समुदाय र क्षेत्रका स्थानीय मान्यता र विश्वासहरू स्वाभाविक रुपमा थपिन पुगेका छन् । राणाकालको प्रारम्भसँगै वैधानिक रुपबाट सुरु गरिएको संस्कृतिकरणको अभियानले नै गण्डकेली सभ्यतामा उत्पत्ति र विकास भएका चाडबाडहरूलाई वैदिक हिन्दु दर्शनका आधारमा व्याख्या गर्ने परिपाटी स्थापित गराएकाले आम नेपालीमा तिहारलाई हिन्दु चाड भन्ने भ्रम फैलिएको पाइन्छ । पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्रदेखि दक्षिण तराईसम्मका विभिन्न समुदायमा मनाइने तिहारका शैली र मान्यताहरूको अध्ययन गर्ने हो भने तिहारलाई हिन्दु चाड भन्ने स्पष्ट आधार भेटाउन सकिदैन । तिहारमा नेपाली हिन्दू, बौद्ध र स्थानीय प्रकृतिपूजक तथा लामाझांक्रीवादी मतको त्रिकोणात्मक अन्तरसम्बन्ध र अन्तरघुलनको रंगिन स्वाद र सुगन्ध पाइन्छ । यो नै नेपाली चाडवाडहरूको मौलिक विशेषता हो ।

(साभारः नेपाली चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण २०७५)

सन्दर्भ सामाग्री:

चौधरी, रामसुन्दर. (२०६७ कार्तिक). थारुहरुको दसैं सुकरात. युवामञ्च. पृ. २२ ।

थापामगर, एम. एस. (२०४९). प्राचीन मगर र अक्खा लिपि. ललितपुरः श्रीमती दुर्गादेवी थापामगर ।

बज्रचार्य, पुण्यरत्न.(२०४३).हाम्रा चाडपर्वहरु. पाँचौं संस्क.काठमाडौंः रत्न पुस्तक भण्डार ।

यादव, सुरेशकुमार. (२०६७ कार्तिक १९). भाइटीका अर्थात भैयादुज. गोरखापत्र रमाइलो शुक्रबार. पृ. च ।

रिजाल, कमल. (२०६९ कार्तिक २६). तिहार पर्व के र किन ?. गोरखापत्र पृ. ६ ।

शर्मा, बालचन्द्र. (२०३३). नेपालको ऐतिहासिक रुपरेखा. तेस्रो संस्क. बाराणसीः कृष्ण कुमारी देवी ।

सुवेदी, राजाराम. (२०६३). मगर जातिको नालिबेली. शोधमाला. काठमाडौंः मगर अध्ययन केन्द्र, २(१), पृ.८–९ ।

Chemjong, Iman Singh. (1967). History and culture of Kirant people. 3rd edition, vol II, Kathmandu: Pushpa Ratna Sagar.

Advertisment