गृह मन्त्रालयद्वारा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ !

काठमाडौं, २६ कात्तिक
गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो ।


उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो । 

 सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Advertisment