जीवारामलाई माछापुच्छ्रे गल्फको उपाधि !

पोखरा । हिमालयन गल्फ कोर्षको आयोजनामा पोखरामा मंगलबार भएको माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधि जीवाराम गुरुङले जितेका छन् ।
कोर्षको आफ्नै गल्फ मैदानमा भएको प्रतियोगितामा २६ स्कोरसहित उपाधि जितेका हुन् । अमेरिका स्थित टिएनएस कर्पोरेशनको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा २४ स्कोरसहित सन्तोष गुरुङ द्वितिय बने । नेटतर्फ भक्तराज गुरुङ प्रथम र लिलाजंग गुरुङ दोस्रो भए । नेटकै १६ ह्याण्डिक्याफ्ट माथिको विधामा सुवास घले पहिलो र विश्व गुरुङ दोस्रो भए ।

महिलातर्फ जान्भी गुरुङ ३४ स्कोरसहित विजयी बन्दा २७ स्कोर गरेकी बालकाशी गुरुङ द्वितिय बनिन् । सिनियरतर्फ विजय मोक्तान, लङगेष्ट ड्राइभको पुरस्कार श्याम तामाङ, नियरेस्ट टू होलको पुरस्कार किरण पुनले जिते ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ, टिएनएस कर्पोरेशनका सञ्चालक तथा एनआरएनए अमेरिका खेलकुद संयोजक शिवकुमार गुरुङ, गल्फर मोहन गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा ३ महिलासहित २९ खेलाडीको सहभागिता रहेको कास्की जिल्ला गल्फ संघका सल्लाहकार गल्फर भुवन गुरुङले जानकारी दिए । ५७ जनाले नाम दर्ता गरेपनि देशको पछिल्लो घटनाक्रमका कारण २९ जना खेलाडी सहभागी बनेको उनले सुनाए ।

Advertisment