टीका, रंग, जमरा र तीतेपाती

–डा. मीन श्रीस
नेपाली समाजमा टीका लगाउने चलनले निकै पुरानो र महत्वपूर्ण परम्पराको रुपमा निरन्तरता पाइरहेको छ । टीकालाई नेपाली समाजमा मौलिक संस्कृतिको एउटा विशिष्ट पक्ष मानिन्छ । निधारको टीकालाई शान्ति, समृद्धि, शक्ति, वीरता र रक्षाकवचको प्रतीकको रुपमा लिइन्छ । जन्मदेखि मृत्यु पर्यन्तका संस्कार कर्महरूका साथै विभिन्न पूजाआजा, चाडवाड र उत्सवहरूमा शुभआशीर्वाद एवं पवित्रताको प्रतिविम्व मानेर टीका लगाउने गरिन्छ । यसका अतिरिक्त घरपरिवारबाट कुनै सदस्य अन्यत्र टाढाको यात्रामा प्रस्थान गर्दा, लामो समय पछिको भेटघाट वा मिलन हुँदा, कुनै विशेष काम वा पेशामा सफलता प्राप्त हुँदा समेत टीका लगाउने चलन रहेको छ । नेपाली समाजमा हरेक उत्सव र अवसरहरूसँग टीकाको गहिरो अन्तरसम्बन्ध रहेको पाइन्छ ।
टीका लगाउने चलनको थालनीको समयमा कृत्रिम रंगहरूको विकास नभएकाले विशेष महत्वका प्राकृतिक वस्तुहरूलाई नै शुभ एवं पवित्रताको प्रतीक मानेर शरीरको मुख्य अंग निधारमा लगाउन थालिएको बुझिन्छ । सभ्यता विकासको क्रमसँगै प्रयोगमा आएका विभिन्न रंगहरूलाई फरक–फरक विम्वहरूमा विशिष्टिकरण गरेर निधारमा लगाइने टीकासँग अन्तरसम्वन्धित बनाइयो । पछिल्लो समयमा आएर टीका संस्कृतिलाई रंगहरूको संयोजनमा सौन्दर्य र शौभाग्यसँग जोडेर व्यापक बनाइएको पाइन्छ । उदाहरणका लागि तिहारको पञ्चरंगी टीकालाई लिन सकिन्छ । चामलको पीठोको सेतो टीकालाई आधार (पृष्ठभूमि) मानेर रातो, पहेलो, नीलो र हरियो रंगले सजाइन्छ । यी रंगहरूलाई क्रमशः शिव, सूर्य, पितृ, आकास र पृथ्वीको प्रतीक मानिन्छ । यिनै देउताहरूलाई शिरको निधारमा पुज्दा सुस्वास्थ्य, समृद्धि र शुभमंगल प्राप्त हुने मान्यताका आधारमा दिदीवहिनीले दाजुभाइलाई पञ्चरंगी टीका लगाइदिने चलन स्थापित भएको हो । पशुपंक्षी र मानव आफैलाई पूजा गरी झिलीमिली बत्ती, फूलमाला, नाचगान र सात्विक भोजनका साथ मनाइने तिहार बौद्ध संस्कृतिसँग अन्तरसम्बन्धित रहेको देखिन्छ । अन्तर्राष्ट्रिय बौद्ध झण्डामा पनि पाँच रंगको संयोजन पाइन्छ । अर्कोतर्फ मानव शरीर पञ्चभूतत्वबाट बनेको र त्यसैमा समाहित हुन्छ भन्ने मान्यताका आधारमा पाँच प्रकारका रंगहरूलाई विशेष महत्व दिएको पाइन्छ ।
हाम्रो समाजमा अहिले टीकाको रंगलाई विवादको विषय बनाउने प्रयास गरिएको पाइन्छ । खासगरी सेतो र रातो रंगको टीकालाई अपवित्रता र हिंसाको प्रतीकसँग जोडेर नकारात्मक टिप्पणी गर्ने संकीर्ण प्रवृत्ति देखापरेको छ । अन्तर्राष्ट्रिय बौद्ध झण्डामा अङ्कित सेतो रंगले शुद्धता, पवित्रता र स्वतन्त्रताको तथा रातो रंगले आशीर्वाद, उपलब्धी, विवेक, सदाचार, शौभाग्य र मर्यादाको प्रतिनिधित्व गर्दछ । नेपाली समाजमा सेतो र रातो रंगलाई पवित्रता र वीरताको प्रतीक मानिएको छ । सेतो रंगलाई हिमालय पर्वतका देवता शिवको प्रतीक पनि मानिन्छ । त्यसकारण सेतो र रातो टीकालाई अपवित्रता र हिंसाको प्रतीक ठान्नु आफैमा अपवित्र विचार र असन्तुलित सोंचको पराकाष्ठा हुनसक्छ । जसले सामाजिक सद्भावका साथै मौलिक सांस्कृतिक परम्परा र पहिचानलाई मेटाउने प्रक्रियामा सघाउने गर्दछ ।
प्रकृतिमा ढुङ्गा, माटो, वृक्ष, नदी, सूर्य आदिमा परमात्मा देख्ने जीवात्मावाद (animism) तथा सदात्मा र दुरात्मालाई समदूरी वा नियन्त्रणमा राखेर रोगव्याधी एवं खराब तत्वबाट मानव समाजलाई मुक्ति दिलाउन सकिने मान्यता बोकेको लामाझांक्रीवाद (shamanism) मा आधारित नेपाली समाज र संस्कृतिलाई विश्लेषण गर्दा खरानीको सेतो टीका र अंगारको कालो टीकालाई नै टीका लगाउने परम्पराको थालनी मान्न सकिन्छ । समाजशास्त्री तथा मानवशास्त्रीहरूका अनुसार जीवात्मावाद र लामाझांक्रीवाद नै संसारको पहिलो धर्म हो । प्रकृतिका वृक्ष, ढुङ्गा, नदी आदिलाई शक्तिको प्रतीक ठान्ने तथा मृतात्माको पुनरागमन तथा भूतप्रेत प्रतिको विश्वासले प्रकृति र पितृपूजामा आधारित आदिम धर्मको विकास गरायो । प्रकृतिमा निहित वा समाहित कुनै अदृश्य शक्तिको काल्पनिक खोजी र तिनको विशेष प्रभाव माथिको विश्वासबाट आदिम मानव सभ्यतामा आध्यात्मिक भावनाको विकास हुने क्रममा अलौलिक शक्तिको पूजा आराधना गर्ने र आशीर्वाद स्वरुप टीका लगाउने संस्कृतिको थालनी भयो ।
विश्वका सबैजसो प्रचीन तथा आदिम समाजका संस्कृतिहरूमा प्रकृति एवं पितृपूजा र झांक्रीवादको प्राधानता देखिन्छ । नेपालको पहाडी र हिमाली भेगको समाजमा यस्तो परम्पराले आजसम्म पनि निरन्तरता पाइरहेको छ । लामाझांक्रीवादमा अभिचार (magic) को विशेष स्थान रहेको हुन्छ । लामाझांक्रीवादमा आगो, धूप र खरानीको प्रयोगलाई शक्ति साधना र रक्षाकवचको प्रतीक मानिन्छ । मानव सभ्यता विकासको क्रममा आगोको आविष्कारले नयाँ मोड ल्याएको हुँदा हरेक संस्कृतिमा यसले विशेष स्थान र महत्व पायो । आगोबाट हिंस्रक वन्यजन्तु र किराहरू समेत टाढा भाग्ने तथा रातको समयमा न्यानो र उज्यालो प्राप्त हुने भएकाले दुरात्माहरूबाट बच्ने सुरक्षाकवच र शक्तिको प्रतीक मानेर आगोको कोइलामा धूप हाल्ने, बत्ति बाल्ने र अंगार एवं खरानीको टीका लगाउने प्रचलन स्थापित हुनगयो । झारफुक गर्दा लामाझांक्रीहरूले बलिरहेको आगोको कोइला हातले समाएर मुखमा हाल्ने र अगेनाको तातो ओदान समाउने गरेको देखिन्छ । अभिचार चिन्तनकै निरन्तरताको रुपमा ऋषिमुनिहरूले होम यज्ञादि गर्दा डढेको चरु (जौं, तिल, धान, चामल, घिउ आदि मुछेर आगोमा चढाइने वस्तु; आहुति; हब्य) को कालो टीका अर्थात तिलक निधारमा लगाउने कर्मकाण्डी संस्कारको थालनी गरेका हुन् । खरानी वा अंगारको टीका÷तिलक लगाउने चलन अनुकरणात्मक वा समवेदनात्मक अभिचार (तन्त्रमन्त्र) सँग सम्बन्धित रहेको छ । पूजाआजा गर्दा आगोको कोइलामा धूप हाल्दा वा होम यज्ञमा चरु हाल्दा निस्कने धूँवाले आकासमा बादलको रुप धारण गरेर वर्षात हुन्छ र उत्पादन बढाउँदछ भन्ने अनुकरणात्मक अभिचारले काम गरेको देखिन्छ । खरानी र अंगारको टीका निधारमा लगाउँदा अग्नीको जस्तो शक्ति प्राप्त हुन्छ र दुष्टशक्तिबाट सुरक्षित भइन्छ भन्ने विश्वास रहेको हुन्छ ।
नेपाली समाजमा कालो टीका अर्थात तिलकलाई शक्ति र साहसको प्रतीक मानिन्छ । जन्मको न्वारान, विवाह संस्कारका अतिरिक्त अन्य पूजाआजाका साथै मृत्यु संस्कारको शुद्धशान्तिमा समेत अग्नी पूजा गरी तिलक लगाउने गरिन्छ । लामाझांक्रीको तान्त्रिक विधि र वैदिक कर्मकाण्डी विधिमा कालो टीकाको विशेष महत्व रहेको हुन्छ । यो परम्परालाई युरोपेली समाजमा प्रचलित मलामीले लगाउने कालो पोशाकसँग तुलना गरेर अशुभ वा अपवित्रताको प्रतीक ठान्नु अज्ञानताको पराकाष्ठाको नमूना हो । नेपालका आदिवासी समुदायमा लामाझाक्री र तान्त्रिक विघिबाट पूजाआजा गर्दा सल्ला वा सालको चोप वा घिउमा तीतेपाती मिसाएर आगोको कोइलामा धूप हाल्ने तथा धूप हालेको कोइला र अक्षता मिसाएर टीका लगाउने गरिन्छ । यसलाई शक्ति आर्जन गर्ने उपायको मनोवैज्ञानिक पक्ष अर्थात अनुकरणात्मक अभिचार मान्ने गरिन्छ । नेवार समुदायमा दसैंको मोहनी पूजामा बालेको दियोको कालो धूँवाबाट तयार पारिएको टीकालाई शक्तिको स्रोत र शुभआशीर्वादको रुपमा ग्रहण गर्ने चलन रहेको पाइन्छ ।
रातो टीका र बलिपूजा लामाझांक्री अर्थात तन्त्रवादसँग अन्तरसम्बन्धित रहेको छ । गाउँघरमा खासगरी आदिवासी समुदायले हरेक संस्कार, चाडवाड, उत्सव आदिको अवसरमा बलिपूजा गरेको पाइन्छ । मगर जातिको विवाह र मृत्यु संस्कारमा समेत पशुपंक्षीको बलि दिने परम्परा जोडिएको छ । खेतीपाती लगाउनु वा भित्र्याउनु अघि पनि प्रकृति र पितृलाई खुशी पार्न तान्त्रिक विधिबाट बलिपूजा गरिन्छ । दसैंको रातो टीकाको सन्दर्भ पनि बालीपूजा अर्थात वर्षे बाली भिœयाउने र हिउँदे बाली लगाउने समयमा गरिने प्रकृति र पितृपूजासँग सम्बन्धित रहेको पाइन्छ । दसैंको घटस्थापनाका दिन नयाँ अन्न मकै र हिउँदे बाली जौंको बिऊलाई घरभित्रै उमार्नका लागि राखिन्छ । उक्त अन्नको जमरा षष्टी र सप्तमीका दिन देवपितृलाई चढाइन्छ भने अष्टमी र नवमीका दिन कोट मौलामा पञ्चबलिपूजा गरेर कृषि औजार पुज्ने तथा रगत मिसिएको अक्षतापातीको टीका लगाउने गरिन्छ । त्यसकारण रातो टीका वीरता र शक्ति आर्जनको आशयसँग जोडिएको तान्त्रिक परम्परामा आधारित रहेको देखिन्छ । कृत्रिम रंगको प्रयोग शुरु भएपछि रातो रंगलाई शक्तिको प्रतीक मानेर देउतालाई चढाउने र अक्षतामा मिसाएर टीका लगाउने चलनले स्थान पाएको हो ।
धान एसियाकै प्रमुख खाद्यन्न बाली भएकाले तथा चामललाई अन्नमा सबैभन्दा श्रेष्ठ मानिएकाले नै यसको विशिष्ट महत्व रहन गयो । कृषियुगको प्रारम्भदेखि नै नेपाली समाजमा धान चामललाई पवित्र वस्तु मानेर जन्मदेखि मृत्यु पर्यन्तका संस्कारहरू एवं पूजाआजाका साथै विभिन्न उत्सवहरूमा प्रयोग गर्न थालियो । पूजाआजाका अतिरिक्त मगर समाजमा प्रचलित घाटुको बयानीको शीरपोसमा समेत धानको लावा प्रयोग गरिन्छ । यसैगरी धानको चामललाई अक्षता र रेखीको रुपमा प्रयोग गरिन्छ । ‘क्षत’ को अर्थ नाश हो भने ‘अक्षत’ को अर्थ नाश नहुने हो । त्यही नाश नहुने अन्नको रुपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको बुझिन्छ । लामाझांक्रीले पनि जोखना हेर्नका लागि अक्षताको प्रयोग गर्दछन् । सेतो रंगलाई पवित्रता, शुद्धता, समृद्धि, विवेक (दिव्य ज्ञान) र सौम्य विचारको प्रतीक मानिएकाले चामल र दहीलाई प्रसाद र टीकामा प्रयोग गरिन्छ । धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्र्रे हिमालको काखमा बस्ने मगर लगायतका पहाडी समुदायले आफ्नै बस्तीको शिरमा रहेका सेताम्य हिमश्रृङ्खलाहरूलाई हेरेर नै अटल सौभाग्य र समृद्धिको प्रतीक दहीचामलको सेतो टीका आफ्नै शिरको निधारमा लगाउने परम्परा बसालेका हुन् । यसैगरी पहाडी र लेकाली भेगमा अधिक खेती गरिने जंगलीयुगदेखिको प्रमुख रैथाने अन्नबाली जौंको जमरालाई धौलागिरीको काखमा बसोबास गर्ने मगरहरूले साउने सङ्क्रान्ति, वडादसैं र माघे सङ्क्रान्तिको अवसरमा फूलको रुपमा शिरमा सिउरने गर्दछन् । साउने सङ्क्रान्ति र दसैंमा घरभित्रै उमारेको सुनौलो जमरा तथा माघे सङ्क्रान्तिमा खेतबारीमा उम्रेका हरियो झोप्ल्यानी (जौंको मूना) सिउरने चलन रहेको छ । पहाडी समाजमा जुनसुकै संस्कार वा उत्सवहरूमा पवित्र वस्तुको रुपमा तीतेपाती (mug-wort) को पनि व्यापक रुपमा प्रयोग गरिन्छ । औषधीयगुणले युक्त तीतेपातीको देवपितृ पूजामा जाँडरक्सी वा जल छर्कन, अक्षतामा मिसाएर छर्कन, धूप हाल्न र टीका लगाएर कानमा सिउरनका लागि प्रयोग गरिन्छ ।
नेपालका पहाडी भेगका आदिबासी समुदायमा आजसम्म पनि मानव सभ्यताको प्रारम्भिक अध्यात्मिक चिन्तन प्रक्रियाको लामाझांक्रीवाद तथा जीवात्मावादमा आधारित संस्कृतिले निरन्तरता पाइरहेको छ । यही प्राचीन मान्यताबाट विकास भएका दहीचामलको सेतो टीका, चामलको पीठोको सेतो टीका, खरानी, ध्वासो र अंगारको टीका, जमरा र तीतेपातीको प्रयोगले विशेष महत्व राख्दै आएको छ । जीवनचक्रीय संस्कार, उत्सव, पूजाआजा र चाडवाडमा यी पवित्र वस्तुहरूको प्रयोग र प्रचलनले सुख, शान्ति र सद्भावको वातावरण निर्माणमा मनोवैज्ञानिक प्रभाव कायम राख्न तथा सम्बन्धित जाति र समुदायको मौलिक सांस्कृतिक पहिचानलाई जीवन्तता प्रदान गर्नमा विशेष भूमिका खेलेको पाइन्छ ।
सन्दर्भ सामग्री :
गुरुङ, जगमान. (सन् २०१८). जनजातिले रातो टीका नलगाउनु संस्कृतिको अपव्याख्या हो. https://hamroabhiyan.com/2018|10|18|1811/
––– (सन् २०१८ अक्टोबर १९). वडादशैँ जनजातिको होइन भन्नु भ्रम हो, दशैँ जनजातिको हैन भन्ने प्रचार गर्ने क्रिश्चियन हुन्. https://www.swadeshnepal.com
बुडा मगर, बमकुमारी. (२०६५). असौजको जवरा माघको झोप्ल्यानी.मगरदीप, अंक ५, पृ. ३८–४० ।
राई चन्द्रकुमार. (२०७५ कात्तिक १०). जमराभन्दा तितेपातीको महत्व. गोरखापत्र शनिवार, पृ. ग ।
शर्मा, जनकलाल. (२०५८). हाम्रो समाजः एक अध्ययन. तेस्रो संस्क. ¬काठमाडौंः साझा प्रकाशन ।   
श्रीस मगर, मीन. (२०५८). गलकोट खुवाक्षेत्रको मगर संस्कृति. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।   
––– (२०७०). दसैं नेपाली चाड कि हिन्दू चाड ?. शोधमाला, ७(१), पृ. १–१५ ।
Advertisment