पोखरा, ८ मंसिर । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा भोलि (बुधबार) देखि १५ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको खेल तालिका क्लबको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको पहिलो खेल बिहान ९ बजे गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीच हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार साढे ११ बजे दोस्रो खेल अन्र्तगत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने, दिउँसो २ बजे उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोसी प्रदेश भलिबल संघ भिड्नेछन् ।

उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गर्नेछिन् ।
राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका सबै खेल हेर्नका लागि सिजनल प्रवेश शुल्क २ हजार ५०० रुपैयाँको निर्धारण गरिएको छ भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको छ ।
प्रतियोगितालाई विभिन्न संस्थाको साथ
प्रतियोगितालाई भव्य बनाउन विभिन्न संघ संस्था तथा व्यापारिक प्रतिष्ठानहरुले साथ दिएको छ ।
क्लबका सचिव अशोक थापाका अनुसार एजुकेशन पार्टरका रुपमा फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ । यस्तै, मेडिकल पार्टनरका रुपमा गण्डकी मेडिकल कलेजसँग (जिएमसी) सम्झौता भएको थापाले बताए ।
उनका अनुसार ब्रोडकास्टिङ पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजनसँग सहकार्य भएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।






