काठमाडौं । अमेरिकामा रहेका नेपाली नागरिकहरूका लागि पुनः Temporary Protected Status (TPS) घोषणा गराउन आवश्यक कूटनीतिक पहल गर्न प्रवास नेपाली सम्पर्क विभाग, अमेरिकाले नेपाल सरकारसँग आग्रह गरेको छ।
यस विषयमा जानकारी दिँदै प्रवास नेपाली सम्पर्क विभाग, अमेरिकाका सहसचिव सागर रोकायले नेपालमा सन् २०२६ मा आएको बाढीपहिरोबाट उत्पन्न मानवीय संकटलाई मध्यनजर गर्दै अमेरिकामा रहेका नेपालीहरूको अस्थायी संरक्षणका लागि नेपाल सरकारले अमेरिकी सरकारसँग आवश्यक कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो।
विभागले नोभेम्बर ११, २०२६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई औपचारिक अनुरोधपत्र पठाउँदै अमेरिकामा रहेका योग्य नेपाली नागरिकहरूको मानवीय तथा अध्यागमन सुरक्षाका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो।
विभागका सभापति चेतराज उपाध्यायले हस्ताक्षर गरेको उक्त पत्रमा नेपालमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा नागरिक विस्थापित हुनुका साथै घर, सडक, पुल, स्वास्थ्य संस्था तथा जीविकोपार्जनका आधारहरूमा व्यापक क्षति पुगेको उल्लेख गरिएको छ।
पत्रमा सन् २०२६ अगस्ट २६ मा भोटेकोशी तथा त्रिशूली नदी प्रणाली आसपासका क्षेत्रमा आएको बाढीपहिरोले गम्भीर मानवीय संकट सिर्जना गरेको उल्लेख गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी विदेश मन्त्रालय (Department of State) तथा सम्बन्धित निकायसँग समन्वय गरी नेपालका लागि नयाँ TPS घोषणाको सम्भावनाबारे औपचारिक पहल गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, अमेरिकामा रहेका नेपाली नागरिकहरूको अध्यागमन अवस्था, पारिवारिक परिस्थिति र मानवीय आवश्यकताबारे तथ्यांक संकलन गर्न तथा अमेरिकी कंग्रेसका दुवै प्रमुख राजनीतिक दलका सदस्यहरूसँग समेत आवश्यक संवाद र समन्वय गर्न विभागले आग्रह गरेको छ।
TPS घोषणा भएमा नेपालीलाई के फाइदा हुन्छ?
अमेरिकी सरकारले नेपालका लागि नयाँ TPS घोषणा गरेको अवस्थामा तोकिएका कानुनी मापदण्ड पूरा गर्ने नेपाली नागरिकहरूले निश्चित अवधिका लागि देशनिकालाबाट अस्थायी संरक्षण तथा रोजगारी अनुमति (EAD) का लागि आवेदन दिने अवसर प्राप्त गर्न सक्छन्। तर TPS ले स्वतः ग्रिनकार्ड वा अमेरिकी नागरिकता प्रदान गर्दैन।
सहसचिव सागर रोकायका अनुसार यो विषय कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर अमेरिकामा रहेका नेपालीहरूको सुरक्षा, अधिकार, रोजगारी र पारिवारिक स्थिरतासँग जोडिएको साझा मानवीय सरोकार हो।
यसअघि नोभेम्बर १, २०२६ मा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाको विशेष उपस्थितिमा सम्पन्न विभागको नियमित बैठकमा पनि नेपालमा उत्पन्न प्राकृतिक विपत्ति र अमेरिकामा रहेका नेपालीहरूको TPS सम्बन्धी अवस्थाबारे छलफल भएको थियो।
विभागले नेपाल सरकार, नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (NRNA) तथा अमेरिकामा क्रियाशील नेपाली संघसंस्थाहरूबीच सहकार्य र समन्वय गरी यस विषयलाई अघि बढाउन आग्रह गरेको छ।
अमेरिकामा रहेका नेपाली समुदायको हितसँग जोडिएको यस विषयमा नेपाल सरकारबाट आवश्यक कूटनीतिक पहल हुने अपेक्षा विभागले गरेको छ।






