भर्जिनिया। अमेरिकाको भर्जिनियास्थित मनाससमा ममता काफ्ले भट्टको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्टलाई अदालतले दोषी ठहर गरेको छ।
मंगलबार भएको फैसला अनुसार जूरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको तीनवटै अभियोगमा दोषी पाएको हो। उनलाई आजीवन कारावाससम्मको सजाय समेत हुन सक्नेछ ।
सन् २०२४ जुलाईमा एक वर्षीया छोरीकी आमा तथा नर्स ममता आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन।
मुद्दाको सुनुवाइका क्रममा नरेशले ममताको मृत्यु भएपछि शव टुक्राटुक्रा पारेको र लुकाउने प्रयास गरेको स्वीकार गरेका थिए। तर उनले हत्या गरेको अस्वीकार गर्दै ममता मृत अवस्थामा फेला परेको दाबी गरेका थिए।
अभियोजन पक्षले नरेशले योजनाबद्ध रूपमा हत्या गरेको दाबी गर्दै उनको मोबाइल तथा कम्प्युटरमा गरिएका शंकास्पद इन्टरनेट खोजी, सन्देश र अन्य प्रमाण अदालतमा प्रस्तुत गरेको थियो। ममताका दाजु तथा साथीहरूले पनि नरेशबाट घरेलु हिंसा भएको अदालतमा बयान दिएका थिए।
करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जना साक्षीको बयान सुनेपछि जूरीले नरेशलाई दोषी ठहर गरेको हो। अदालतले दोषीलाई सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ तारिखमा मिति तय गरेको छ।






