
न्युयोर्क । ‘नेपथ्य ब्याण्ड’का संस्थापक तथा नेपाली पप संगीतका चर्चित गायक रबिन श्रेष्ठ, हरिश माथेमा र द एन्जल्स ब्यान्डका राजु लामाले न्युयोर्कमा लाईभ सांगीतिक प्रस्तुति दिने भएका छन् । रिभिल इभेन्ट्स इंकका राजेश हमाल, मिराकल इभेन्ट्स इंकका सूर्य सिंखडा र डिजेएलएस एनवाइसीका जाङ्बु शेर्पाको संयुक्त आयोजनामा नोभेम्बर २० मा द प्यालेसको हलमा ‘लाइभ कन्सर्ट’ हुन लागेको हो भने कलाकारहरूको अमेरिकी सांगीतिक यात्राको संयोजन रेबेल इभेन्ट्स इंक र मिराकल इभेन्ट्ज इंकले गरेका छन् ।
तपाईंलाई कति याद छ ?, सन् १९९१ मा नेपथ्य (Nepathya) ब्याण्डको सार्वजनिक भएको पहिलो एल्बममा समावेश गीत ‘आँगनैभरि’, सन्१९९३ मा दोस्रो एल्बममा समावेश ‘छेक्यो छेक्यो देउराली डाँडा’ र सन् १९९७ सालको ‘आँखैमा झलझली’ गीतहरू , अब यो गीत न्युयोर्कमा पनि लाईभ गुन्जिनेछ ।
नेपथ्यका प्रारम्भिक गायक श्रेष्ठ ‘आँगनैभरि’ नेपथ्य (Nepathya) ब्याण्डको रेकर्ड गरिएको , ‘छेक्यो छेक्यो देउराली डाँडा’ र ‘आँखैमा झलझली’ लगायत गीतका लागि परिचित छन् । सो समयमा उनका गीतले नेपाली पप तथा लोकपप संगीत सुन्ने श्रोतामाझ छुट्टै स्थान बनाएकाे थियो । त्यो समयमा यो एल्बम रेकर्ड हुँदा ब्याण्डका मुख्य गायक (vocalist) रबिन श्रेष्ठ थिए भने अहिलेका चर्चित गाएक अमृत गुरुङले नेपथ्य ब्याण्डका लागि गीत लेख्ने, संगीत भर्ने र केही गीत गाउने भूमिका निभाएका थिए ।
त्यस्तै, गायक हरिश माथेमाका ‘आँखाको नानी’, ‘मोहनी लायो’, ‘आउँछौ कि तिमी’ र ‘मायालु मायालु’ लगायत गीत श्रोतामाझ परिचित छन् । नेपाली पप संगीतको यात्रामा लामो समयदेखि सक्रिय माथेमाले पनि कार्यक्रममा सांगीतिक प्रस्तुति दिनेछन्।
द एन्जल्स ब्यान्डका राजु लामा ‘अल्लारे माया’ र ‘कति छन्’ लगायत गीतका लागि परिचित छन् । लामा सहित द एन्जल्स ब्यान्डको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको अर्को आकर्षण रहनेछ।
साँझ ७ बजे शुरू हुने कार्यक्रमको प्रवेश शुल्क ५० डलर तोकिएको छ। कार्यक्रम मार्फत प्रत्येक टिकटबाट उठेको केही प्रतिशत रकम नेपालका भोटेकोशी क्षेत्रका बाढीपहिरोपीडित परिवारको सहयोगका लागि छुट्याइने आयोजक मिराकल इभेन्ट्स इंकका सूर्य सिंखडाले जानकारी दिए।
नेपाली गीतसंगीतको सम्बर्द्धन र प्रबर्द्धनका साथै सामाजिक सहयोगको उद्देश्य जोडेर कार्यक्रम आयोजना गर्न लागिएको कुरा रिभिल इभेन्ट्स इंकका राजेश हमालले बताए। आयोजकले न्युयोर्क वरिपरि तथा नजिकै जोडिएका राज्यहरूमा रहेका नेपाली समुदाय तथा संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भएर सहयोग अभियानमा साथ दिन आग्रह गरेको छ।






