पोखरा । गायनतर्फ अमृत गुरुङ र नृत्यतर्फ गौमाया गुरुङले ‘कास्की आइडल सिजन–२’ को उपाधि जितेका छन् । साँझ क्रिएसनको आयोजनामा कात्तिक १४ गते शनिबार पोखरा सभागृह हलमा सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै दुवै विधातर्फ उनीहरू विजेता बन्न सफल भएका हुन् ।
प्रतियोगिताको गायनतर्फ रहमान खान फर्स्ट रनरअप, इडिभा खत्रीवडा सेकेन्ड रनरअप र दिप्सन बगदास थर्ड रनरअप बनेका छन् । मनसा गुरुङले सान्त्वना स्थान प्राप्त गरेकी छन् । त्यसैगरी नृत्यतर्फ तृप्ति गुरुङ फर्स्ट रनरअप, सिम्रन थापा सेकेन्ड रनरअप र नोरा गुरुङ थर्ड रनरअप बनेका छन् भने स्मृति सुवेदीले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ प्रथम हुनेले जनही ६० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल प्रतिभालाई राष्ट्रिय गीतमा अवसर प्रदान गर्ने आयोजकको योजना रहेको छ ।
कास्की तथा आसपासका क्षेत्रमा रहेका नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गर्दै गायन र नृत्यतर्फका उत्कृष्ट प्रतियोगी ग्रान्ड फिनालेसम्म पुगेका थिए । अन्तिम प्रतिस्पर्धामा प्रतियोगीहरूले आफ्नो गायन तथा नृत्य कला प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको गायनतर्फ राजबहादुर गुरुङ र खेम लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी नृत्यतर्फ सरिता धनकुटी र सुकमित गुरुङ निर्णायक रहेका थिए ।

कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष, गीतकार प्रतिष्ठानका कोषाध्यक्ष तथा कास्की आइडलका संयोजक आदर्श पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजीजू रहनुभएको थियो । विशेष अतिथिमा ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत भुवन गिरी तथा साथी खानेपानीका प्रोप्राइटर तथा निर्देशक विजय सुनार रहनुभएको थियो ।
त्यसैगरी अतिथिहरूमा जिल्ला समन्वय समिति कास्कीका सदस्य क्याप्टेन हर्कबहादुर गुरुङ, सिद्धार्थ समाजका अध्यक्ष टिकबहादुर गुरुङ, तमुधिँ रुपा गाउँपालिकाका अध्यक्ष गेसबहादुर गुरुङ र लमजुङ समाजका अध्यक्ष आशबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो । साथै विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, साहित्यकार, शिक्षाविद्, व्यवसायी, सञ्चारकर्मी तथा प्रतियोगीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अवसरमा विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा पर्न सफल युवा वैज्ञानिक डा. निरञ्जन कोइरालालाई साँझ क्रिएसनले विशेष सम्मान गरेको थियो । वैज्ञानिक तथा अनुसन्धानको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्राध्यापक डा. दीपमाला श्रेष्ठ गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रमको सञ्चालन साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङ र साँझ क्रिएसन का सदस्य सुस्मिता बास्तोला ले गरेका थिए ।
स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरिएको कास्की आइडलको दोस्रो संस्करणले नयाँ कलाकारलाई अघि बढ्न थप हौसला र अवसर प्रदान गरेको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरूको सफलताले स्थानीय प्रतिभाको सम्भावना र मेहनतलाई समेत उजागर गरेको छ ।






