नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय कार्यसमितिको नवनिर्वाचित समितिले पदभार ग्रहण गरेपछिको पहिलो बैठकबाट एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति सरोज केसीको अध्यक्षतामा बसेको बैठकले मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अभियान अघि बढाउने निर्णय गरेको सभापति केसीले जानकारी दिए ।

अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता महसुस गरी सम्पर्कमा आउने लक्षित परिवारलाई सम्भव भएसम्म २४ घण्टाभित्र सहयोग उपलब्ध गराइनेछ । सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले तथा नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा उपलब्ध गराउने निर्णय गरिएको सभापति केसीले बताए ।
उनका अनुसार आर्थिक रूपमा अत्यन्त विपन्न अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिनेछ । सहयोगको वास्तविक आवश्यकता र उपलब्ध स्रोतलाई आधार बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।
अभियानका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकहरूको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा पार्टी सदस्यताको सर्त नराखिने बैठकको निर्णय छ ।
सहयोग आवश्यक पर्ने परिवारले सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइने र कार्यक्रमलाई पारदर्शी, निष्पक्ष तथा सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गरिने पनि निर्णय गरिएको छ । सहयोगको अभिलेख राख्ने र कार्यक्रमको नियमित समीक्षा गर्ने व्यवस्था मिलाइने सभापति केसीले जानकारी दिए ।
अभियानको उद्देश्य विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि व्यावहारिक सहयोग पुर्याउनुका साथै मातृ–शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउनु रहेको कांग्रेस कास्की क्षेत्र नं। १ ले जनाएको छ ।
राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनासहित अभियान सञ्चालन गर्ने निर्णय गरिएको सभापति केसीको भनाइ छ ।
कांग्रेसलाइ समुदायसँग जोड्ने यस अभियानले सुत्केरी आमा र नवजात शिशुको हेरचाह तथा पोषणमा समुदायस्तरबाट सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।






