प्रदेश संग्रहालयलाई आयआर्जन र अध्ययनको थलो बनाउनुपर्छ ः मन्त्री पुन

पोखरा, २३ साउन
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखराको नयाँबजारस्थित प्रदेश संग्रहालयलाई प्रदेशकै आयआर्जन र अध्ययनको थलो बनाउनुपर्ने बताउनुभएको छ ।
प्रदेश संग्रहालयको नवनिर्मित चौथो प्रदर्शनी कक्षको उद्घाटन गर्दै मन्त्री पुनले प्रदेश संग्रहालयलाई सबैको आकर्षणको केन्द्र बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । संग्रहालयलाई अझै व्यवस्थित गरेर लैजानुपर्ने भन्दै उहाँले संग्रहालयको संरचना राम्रो बनाउनुपर्ने र संग्रहालयमा दर्शनीय सामग्री थप गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
आर्थिक संकलनको राम्रो माध्यम संग्रहालय रहेको भन्दै मन्त्री पुनले प्रचारप्रसार गरेर संग्रहालयमार्फत् राम्रो आम्दानी गर्न सकिने धारणा व्यक्त गर्नुभयो । प्रदेश संग्रहालयलाई प्रदेश सरकारले व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले हरेक वर्ष संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या बढाउँदै लैजाने उद्घोष पनि गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले संग्रहालयको व्यवस्थापनका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी गराउँदै संग्रहालय सबैको साझा सम्पत्ति भएको बताउनुभयो । आफ्ना पुर्खाहरूको जीवनशैली बुझन् संग्रहालय नयाँ पुस्ताका लागि अध्ययनको विषय हुने भन्दै सचिव पौडेलले संग्रहालयको विकास गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामराज लामिछानेले संग्रहालयको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै संग्रहालयलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पोखरा महानगरपालिका र प्रदेश मिलेर संग्रहालयको विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले संग्रहालय भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि गर्नतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराका प्रबन्ध निर्देशक शंकरबहादुर गौतम, तमु प्ये ल्हु संघ, कास्कीका अध्यक्ष उम प्हच्यु तमुलगायतले संग्रहालयलाई पुरातत्व र संस्कृतिको अध्ययन गर्ने केन्द्र बनाउनुपर्ने बताउनुभएको थियो । संग्रहालय प्रमुख करुणा राईका अनुसार सो चौथो प्रदर्शनी कक्ष ११ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । दुई जना कार्यालय सहयोगीसहित १० जना कर्मचारीको दरबन्दी रहेको संग्रहालयमा कर्मचारी अभावका कारण काम गर्न गाह्रो भएको प्रमुख राईले बताउनुभयो । गण्डकी प्रदेशका विभिन्न जातजातिको संस्कृति झल्किने तथा ऐतिहासिक पुरातात्विक महत्वका सामग्री संग्रहालयमा संग्रहित छन् ।

Advertisment