प्रगतिशील बहुभाषिक कविता महोत्सवमा १४ भाषाका कविता सुनिए

पोखरा, २१ असार
प्रगतिशील लेखक संघ, नेपाल, गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रम अरुभन्दा फरक र विशेष रह्यो । प्रलेस, गण्डकी प्रदेशले प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाका स्रष्टाहरूको सहभागितामा “प्रगतिशील बहुभाषिक कविता महोत्सव”को आयोजना गरेकाले कार्यक्रम विशेष बनेको हो ।
कविता महोत्सवमा प्रदेशभित्र बोलिने करिब एक दर्जन भाषाका कविता र गीत सुनाइए । महोत्सवमा नेपालीसहित मगर, गुरुङ, संस्कृत, नेपालभाषा, तामाङ, थकाली, बान्तवा, दुरा, छन्त्याल, कुलुङ, कुमाल, सुनुवार (कोइँच), उर्दू गरी १४ भाषामा कविता र गीत प्रस्तुत भए ।
प्रगतिशील लेखक संघ, नेपालकी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशकी इञ्चार्ज सुशीला प्रधानाङ्गले प्रलेसले पहिलोचोटि यस्तो खालको कार्यक्रम गरेको उल्लेख गर्नुभयो । बढ्दो अंग्रेजीमोहले नेपालमा बोलिने मातृभाषाहरू लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले आफ्ना बालबच्चालाई मातृभाषा सिकाउनुपर्नेमा जोड दिनुभयो । कविता मात्र नभइ अरु विधामा पनि बहुभाषिक कार्यक्रम गर्नुपर्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उहाँको भनाइ थियो ।
प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारीले लोपोन्मुख भाषाहरूको संरक्षणका लागि मातृभाषी समुदाय र राज्य दुवै गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो । मातृभाषामा पठनपाठनको व्यवस्था र साहित्य सिर्जनामा विशेष दिनुपर्ने बताउँदै उहाँले मातृभाषा संरक्षणमा यस कार्यक्रमले एउटा इँटा थप्ने काम गरेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीका सचिव बखानसिंह गुरुङ “आभास”ले प्रलेसको यस कार्यक्रमले नयाँ स्वाद दिएको बताउनुभयो । संवैधानिक रुपमा मातृभाषाको संरक्षणका लागि लिपिबद्ध भएपनि ठोस रुपमा संरक्षणको कार्यक्रम नभएको भन्दै नेता आभासले विविध मातृभाषाहरूको संरक्षण गर्न सके नेपाल विश्वमै उदाहरणीय मुलुक बन्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेकपाका नेता रामराज रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सूर्य खड्का “बिखर्ची” र नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका सचिव बमबहादुर छन्त्यालले यस्ता महत्वपूर्ण कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
महोत्सवमा नवराज दुरा, अम्बिकाप्रसाद भट्टराई, हनिफ मियाँ, उदयबहादुर अमात्य, लक्ष्मी पुनमगर, रूद्र “सन्देश” मगर, डीबी बान्तवा राई, प्रदीप कुलुङ राई, डा. गेहेन्द्रमान उदास “पोखरेली”, गौरी गुरुङ, जगमाया छन्त्याल, लक्ष्मी थापा, ज्योति भट्टचन, रोशन तामाङ, हरिबहादुर कुमाल, सहकृष्ण सुनुवार, उजीर रानामगर, विश्वहाङ राई, शशी तुलाचन, चिनबहादुर कुमाल, पोषराज पौडेल, तेजबहादुर गुरुङ, रोशनी गुरुङ, बुद्धिमाया तामाङ र पूर्ण ह्योल्मोले आ–आफ्नो मातृभाषामा कविता र गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रगतिशील लेखक संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष लोकबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण मरासिनी र पूर्ण ह्योल्मो तथा उपाध्यक्ष विजया सुवेदीले स्वागत गर्नुभएको थियो । महोत्सवमा सहभागी कवि, कवयित्रीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Advertisment