मगर चलचित्र ‘लर्फु’ शनिबार पोखरामा देखाइने

रूद्र श्रीसमगर
पोखरा, ८ असार
म्याक्सन फोर डी. स्टुडियो प्रालिको तेस्रो प्रस्तुती मगर कथानक चलचित्र ‘लर्फु’ अर्थात् ‘पछ्यौरी’को शनिबार पोखरामा विशेष प्रदर्शन गरिने भएको छ ।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल मगर महिला संघ कास्कीको आयोजनामा सो चलचित्रको विशेष प्रदर्शन गर्न लागिएको जानकारी दिइयो । पोखराको वीरेन्द्रचोकस्थित भमरकोट पार्टी प्यालेसमा बिहान ११ बजे र २ बजे गरी दुई पटक विशेष प्रदर्शन गर्न लागिएको संघकी जिल्ला अध्यक्ष नुनु रानामगरले जानकारी दिनुभयो ।
यसअघि, सो चलचित्रको नवलपुरको कावासोती, दलदले, तनहुँको भिमाद, खैरेनीटार, पाल्पाको तानसेनलगायतका विभिन्न ठाउँमा सफल प्रदर्शन भइसकेको चलचित्र निर्देशक एवं चलचित्रका सिनेम्याटोग्राफर सन्तोष पिठाकोटेमगरले बताउनुभयो । मगर कथानक चलचित्रहरू ‘ङऊ कर्म’ (मेरो कर्म), ‘लाङ्घऊ रोह’ (गाउँको माया) र ‘छीनीङ पीहीन’ (आजभोली)का निर्माता एवं गायक चेतन रजालीमगरको डेब्यु निर्देशन रहेको चलचित्र ‘लर्फु’को यसअघि गत चैत्र २४ गते भीआईपी प्रदर्शन भइसकेको समेत निर्देशक पिठाकोटेमगरले जानकारी दिनुभयो ।
चलचित्र ‘लर्फु’का निर्माताहरूमा अमर घर्तीमगर, केशर आलेमगर, कमल सूर्यवंशीमगर, चेतन रजालीमगर रहनुभएको छ । चलचित्रको लेखन, गीत तथा संगीत चेतन रजालीमगरकै हो भने अमर घर्तीमगरको कथा रहेको छ । सो चलचित्रको छायाङ्कन नवलपुरको कावासोती, झाटे, धोवादी, शंखदेउ, पृथ्वीनगर, कास्कीको पोखरालगायत विभिन्न मनोरम स्थलहरूमा गरिएको छ ।
चलचित्रमा नारायण सारूमगर, रुपा थापामगर, प्रतीक्षा रानामगर, भीमलाल गाहामगर, बबिन गाहामगर, कृष्ण रानामगर, कोटबहादुर वाचेमगर, प्रेमकुमारी आलेमगरलगायतका कलाकारहरूको अभिनय रहेको छ । सन्तोष पिठाकोटेमगरको छायाङ्कन रहेको यस चलचित्रको सम्पादन चलचित्र निर्देशक छवि रानामगरले गर्नुभएको हो ।

Advertisment