भर्जिनिया, जेठ १५ ।
भर्जिनियाको म्यानासस पार्कमा चर्चित बनेको ममता काफ्ले भट्ट हत्या प्रकरणमा नयाँ फरेन्सिक प्रमाण सार्वजनिक भएको छ । अदालतमा दर्ता गरिएको नयाँ कागजातअनुसार, प्रहरीले बरामद गरेको एउटा रेसिप्रोकेटिङ स औजार (Reciprocating Saw) मा मानव कपाल र कपालका टुक्राहरू फेला परेका छन् ।
प्रहरीका अनुसार, ममता काफ्ले भट्टका पति नरेश भट्टमाथि आफ्नै घरभित्र पत्नीको हत्या गरेको आरोप छ । नरेश भट्टले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनी हाल पनि बिना जमानत जेलमा रहेका छन् र उनको हत्या मुद्दाको सुनुवाइ आगामी अक्टोबर ५ बाट सुरु हुने तय गरिएको छ ।
अदालतमा पेश गरिएको विवरणअनुसार, भर्जिनिया डिपार्टमेन्ट अफ फरेन्सिक साइन्सले अप्रिल २९ मा प्रहरीलाई परीक्षण प्रतिवेदन पठाएको थियो, जुन मे १९ मा सार्वजनिक गरिएको हो ।

अनुसन्धानकर्ताहरूले म्यानासस पार्कस्थित दम्पतीको घरबाट उक्त रेसिप्रोकेटिङ स औजार बरामद गरेका थिए । यो उपकरण काठ, फलाम वा कंक्रिट काट्न प्रयोग हुने शक्तिशाली मेसिन हो ।
फरेन्सिक परीक्षणका क्रममा उक्त औजारमा ३ वटा मानव कपाल, १३ वटा मानव कपालका टुक्रा र केही फाइबर तथा अन्य फोहोर पदार्थ फेला परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तीमध्ये ३ वटा कपाल डीएनए परीक्षणका लागि उपयुक्त हुन सक्ने बताइएको छ र थप परीक्षणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ । तर कपालका टुक्राहरू भने डीएनए परीक्षणका लागि उपयुक्त नभएको जनाइएको छ ।
यसअघि पनि अनुसन्धानकर्ताहरूले ममता काफ्ले भट्टको डीएनएसँग मेल खाने रगत शयनकक्ष र बाथरुममा भेटिएको बताएका थिए भने ममताकै रगत भएको आशंका गरिएको थियो ।
प्रहरीले ममता काफ्ले भट्टको शव टुक्र्याइएको हुन सक्ने विश्वास गरेको छ, यद्यपि हत्या गर्न प्रयोग गरिएको मुख्य हतियारबारे औपचारिक रूपमा पुष्टि गरिएको छैन ।
म्यानासस पार्क प्रहरीका अनुसार, डीएनए प्रमाणकै आधारमा डिसेम्बर २०२४ मा नरेश भट्टविरुद्ध ग्रान्ड ज्यूरीबाट हत्या अभियोग दर्ता गरिएको थियो भने त्यसअघि उनीमाथि शव लुकाएको आरोप मात्रै लगाइएको थियो ।






