नेपाल अमेरिकन कलाकार संघले “रमझम साँझ २०२४” साँस्कृतिक कार्यक्रम गर्दै !

न्यूयोर्क, नोभेम्बर २८,
क्रिशमस तथा नयाँ वर्ष २०२५ को पावन अवसरमा नेपाली अमेरिकन कलाकार संघले साँस्कृतिक कार्यक्रम “रमझम साँझ २०२४” गर्ने भएको छ ।
कार्यक्रम यहि आउने डिसेम्बर महिनाको २८ तारिकका दिन न्यूयोर्कको क्विन्स, वुडसाईड स्थित गुलशन ट्रेस हलमा साँझको ७:३० बजेदेखि राति २:०० बजेसम्म कार्यक्रम हुने नेपाली अमेरिकन कलाकार संघले बुधबार गरेको प्रेस मिटमा जानकारी गराएको छ ।

उक्त प्रेस मिट कार्यक्रममा पोस्टर सार्वजनिक गर्दै नेपाल बाट आमन्त्रित गरिएका सुगम संगीतका चर्चित गाएक राजेश पाएल राई(राई ईज किङ्ग)को धमाकेदार प्रस्तुित सहित,चर्चित दोहोरी गीत तर्फ गायक राजन ठकुरी र गायिका सिर्जना विरही थापाको प्रस्तुित रहेको छ भने जोडी नृत्य तर्फ चर्चित नृत्यकार शंकर विसी र चर्चित नृत्यिका पार्वती राई, चर्चित नृत्यकार शिव विक र चर्चित नृत्यिका उषा लामाको साथै एकल नृत्य तर्फ चर्चित नृत्यिका रश्मि तामाङ र चर्चित नृत्यकार बब्बु थापाको जोडदार  प्रस्तुति रहेको छ । साथै अमेरिकामा रहेका विभिन्न विधाका चर्चित नेपाली कलाकारहरूको पनि दमदार प्रस्तुतिहरू सहित डिजे राजाको धमाकेदार डिजे प्रस्तुति रहेको हुदा सबैजना पाहुनाहरू नाचेर रमाइलो गर्न सकिने कुरा पनि कार्यक्रम संचालक तथा संघका उपाध्यक्ष चर्चित दोहोरी गायक बिमल डाँगीले बताउनुभयो  ।

संस्थाको अध्यक्ष बसन्ती राईले कार्यक्रममा बोल्दै ‘यस “रमझम साँझ २०२४” कार्यक्रम सफल पार्न सम्पूर्ण नेपाली न्यूयोर्क वासीहरूलाई उक्त दिन सहयोग, साथ र सहभागीताका लागि उनले आह्वान गरेकी छिन् । कार्यक्रममा सहभागी हुनको लागि आयोजकले टिकेटको व्यवस्था गरिएको र टिकेट बुकिङको लागि संघका निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने कुरा उनले बताईन ।

Advertisment