काठमाडौं ।
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफ्ना आगामी योजना, कार्यशैली र मन्त्रालयको प्राथमिकताका बारेमा स्पष्ट पारेका छन्।
मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । उनले भने, ‘म यो मन्त्रीको पदमा धेरै बस्दिनँ, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।’
आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ । मन्त्री पुनले भने, ‘अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।’
‘म राजनीति गर्ने मान्छे होइन, मन्त्री भएर पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउन चाहन्छु,’ उनले भने।
आफू मन्त्री हुनकै लागि यो मन्त्रालयमा नआएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्रीलाई विज्ञान र प्रविधिको महत्व बुझेको जोश–जाँगर भएको युवा मन्त्री खोज्न सुझाव दिएको, तर त्यस्तो व्यक्ति नपाएपछि आफैं ‘पासोमा परेको’ उनले टिप्पणी गरे।
स्वार्थ बाझिने भन्दै मन्त्री पुनले आफूले स्थापना गरेको ‘राष्ट्रिय आविष्कार केन्द्र’लाई मन्त्रालयबाट बजेट नछुट्याउने स्पष्ट पारेका छन्। मन्त्री हुनु दुई दिनअघि नै आफूले केन्द्रको अध्यक्ष पदबाट राजीनामा दिइसकेको र हाल डा. डम्बर नेपाली अध्यक्ष रहेको उनले जानकारी दिए।
उक्त अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।






