न्यूयोर्क । नेपाली-अमेरिकी समुदायका लागि गौरवको अर्को उपलब्धि थपिएको छ। लामो समयदेखि सार्वजनिक सेवामा सक्रिय बिजय कुमार राई न्यूयोर्क प्रहरी विभाग (NYPD) को प्रहरी अधिकृत बनेका छन्। उनले NYPD Police Academy को तालिम सफलतापूर्वक पूरा गरी हालै आयोजित दीक्षान्त समारोहबाट प्रहरी अधिकृतको दर्जा प्राप्त गरेका हुन्।
राईको प्रहरी सेवाको यात्रा NYPD Auxiliary Police Officer बाट सुरु भएको थियो। त्यसपछि उनी NYPD School Safety Division मा आबद्ध भई विद्यालय तथा विद्यार्थीहरूको सुरक्षामा योगदान पुर्याउँदै आएका थिए। निरन्तर मेहनत, अनुभव र सेवाप्रतिको प्रतिबद्धताका कारण उनी अहिले NYPD प्रहरी अधिकृतको जिम्मेवारीमा पुगेका हुन्।

Auxiliary Police Officer बाट School Safety हुँदै NYPD Police Officer सम्मको उनको यात्रा नेपाली मूलका युवाहरूका लागि प्रेरणादायी बनेको छ। सार्वजनिक सेवामा निरन्तर प्रयास, अनुशासन र दृढ इच्छाशक्तिका साथ अघि बढे लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण राईले प्रस्तुत गरेका छन्।
राई नेपालिज अमेरिकन ल इन्फोर्समेन्ट एसोसिएसन (NALEA) का सहसचिवसमेत हुन्। अमेरिकामा दर्ता भएको गैरनाफामूलक संस्था NALEA ले नेपाली-अमेरिकी समुदाय र अमेरिकी प्रहरी, कानून कार्यान्वयन निकाय, First Responders तथा सैन्य सेवाबीच सम्बन्ध र सहकार्य विस्तार गर्दै आएको छ।
विशेषगरी नेपाली समुदायलाई सार्वजनिक सुरक्षा, नागरिक जिम्मेवारी र सेवामूलक करियरबारे जानकारी गराउने तथा युवा पुस्तालाई प्रहरी, आपत्कालीन सेवा र सैन्य क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित गर्ने उद्देश्यले संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

राईको दीक्षान्त समारोहमा NALEA का अध्यक्ष सोनाम घिसिङसहित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। समारोहमा उनीहरूले राईको सफलतामा खुसी व्यक्त गर्दै नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिएका थिए।
दीक्षान्त समारोहको भावुक क्षणमध्ये एक थियो—प्रहरी अधिकृतको पोसाकमा सजिएका राईले आफ्नी आमाबाट आशीर्वाद ग्रहण गरेको दृश्य। छोराको सफलतामा आमाले व्यक्त गरेको खुसी र आशीर्वादले उनको उपलब्धिमा परिवारको साथ, त्याग र प्रेरणाको महत्वपूर्ण भूमिका रहेको भाव झल्काएको थियो।
न्यूयोर्कजस्तो बहुसांस्कृतिक महानगरको प्रहरी सेवामा नेपाली मूलका व्यक्तिहरूको सहभागिता बढ्दै जानु समुदायका लागि पनि महत्वपूर्ण विषय बनेको छ। राईको नियुक्तिले नेपाली-अमेरिकी समुदायको प्रतिनिधित्वलाई थप सशक्त बनाउनुका साथै अमेरिकी सार्वजनिक सुरक्षा निकायमा नेपाली समुदायको सहभागिताबारे सकारात्मक सन्देश दिएको छ।
NYPD प्रहरी अधिकृतका रूपमा अब राईले न्यूयोर्कवासीको सुरक्षा, कानून कार्यान्वयन र समुदायसँग विश्वासपूर्ण सम्बन्ध कायम राख्ने जिम्मेवारी सम्हाल्नेछन्।






