न्युयोर्क । नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापनाका लागि संकलन गरिएको रकम मगर संघ अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार ८७ अमेरिकी डलर नेपाली ३० लाख ३० हजार रूपैयाँ सहयोग गरेको छ।
शनिबार सेप्टेम्बर २८ मा मगर संघको कार्यालयमा आयोजित कार्यक्रममा रसुवाको प्राकृतिक विपदमा परेर मृत्यु भएका तथा बेपत्ता भएका नेपालीहरूप्रति दीप प्रज्वलन साथै रकम हस्तान्तरण कार्यक्रम राखिएको थियोे ।

नेपाल सरकार प्रतिनिधि सभाका पुर्व उपसभामुख तथा बर्तमान प्रतिनिधि सभा सदस्य माननीय इन्दिरा राना मगर र न्युयोर्क नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई मगर संघ अमेरिका र मगर संघ न्युयोर्क च्याप्टरका अध्यक्ष र संघका पदाधिकारीहरूले रु. ३० लाख ३० हजार बराबरको प्रतीकात्मक चेक सामुहिक रूपमा हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा चेक हस्तान्तरण ग्रहण गर्दै कार्यक्रम अतिथि पूर्व उपसभामुख तथा सांसद इन्दिरा राना मगरले संस्थालाई धन्यवाद दिदै यसरी प्राप्त भएको रकमलाई सहि ढंगले सदुपयोग गरिने विश्वास व्यक्त गरिन ।

स्थापनाकालदेखि नै विभिन्न रचनात्मक कामको माध्यमबाट स्थापित मगर संघ अमेरिकाले समाजमा सामाजिक काम गर्दै नेतृत्वदायी संस्थाको रुपमा परिचित हुँदै आएको छ ।






