गण्डकी प्रदेशका पाँच जना स्रष्टालाई ‘गण्डकी प्रज्ञा सम्मान’

पोखरा, ७ असार
गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजना गरिने “गण्डकी प्रज्ञा उत्सव”को तयारी पूरा भएको छ । प्रतिष्ठान स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । यही असार ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने सो कार्यक्रममा गण्डकी प्रदेशका पाँच जना स्रष्टालाई सम्मान गरिने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनसम्म हुने गण्डकी प्रज्ञा उत्सवमा गण्डकी प्रज्ञा संगीत सम्मानबाट संगीतकार आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट गोविन्द विनोदी र गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट पुष्परत्न महतोलाई सम्मान गरिन लागेको हो । पोखरा–१, बगरस्थित प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमको पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारले पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको बारेमा चित्र कोर्ने, दोस्रो दिन असार १० गते नाटक प्रदर्शन, गजल, कविता, मुक्तक र लघुकथा वाचन हुने श्रेष्ठले बताउनुभयो । आयोजक प्रतिष्ठानका अनुसार उत्सवमा सांस्कृतिक कार्यक्रम र विज्ञान तथा प्रविधि प्रदर्शनी समेत राखिएको छ ।
सात प्रदेशमध्ये पहिलो पटक गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी प्रज्ञा–प्रतिष्ठानले स्थापनाको एक वर्षमा प्राज्ञिक क्षेत्रमा धेरै काम गरेको कुलपति सूर्य खड्का “बिखर्ची”ले दाबी गर्नुभयो । अध्ययन, अनुसन्धानसँगै विभिन्न कामको लिपिबद्ध गर्दै प्रतिष्ठान अघि बढेको कुलपति खड्काले बताउनुभयो । सो अवसरमा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र प्राज्ञ परिषद् सदस्य सुरेन्द्र गुरुङले पनि बोल्नुभएको थियो ।

Advertisment