पोखरा, २१ जेठ
मनखुशी फाउण्डेशन, कास्कीको अध्यक्षमा कृष्णकुमारी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार फाउण्डेशनद्वारा आयोजित प्रथम कास्की जिल्ला भेलाबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष गुरुङ पोखरा महानगरपालिका वडा नं. १३ का निवर्तमान जनप्रतिनिधि पनि हुनुहुन्छ ।
भेलाबाट उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा रेखा त्रिपाठी र कोषाध्यक्षमा नन्दमाया सुवेदी चयन हुनुभएको छ भने तीन जना सदस्यहरूमा संगीता विक, राधा गुरुङ र पूर्णकुमारी गुरुङ रहनुभएको छ ।
यसअघि, भेलाको उद्घाटन गर्दै सामाजिक अगुवा एवं नेता दीपक वाइबा तामाङले नामजस्तै काम गर्नका लागि फाउण्डेशनलाई शुभकामना दिनुभयो । सबैको मन खुशी बनाउने काम गर्न सुझाव दिँदै उहाँले सामाजिक कार्यमा समर्पित हुँदा जतिको आनन्द अरु कामबाट नहुने बताउनुभयो । संस्थालाई अरु विस्तार गर्दै लैजान आग्रह गर्दै नेता तामाङले विभेद, अन्याय र अत्याचारको विरुद्धमा सामाजिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, पोखरा महानगरपालिका वडा नं. १३ का निवर्तमान वडाध्यक्ष दर्शन लामाले फाउण्डेशनले वास्तविक पीडितको सहारा बनेर काम गरोस् भन्ने शुभकामना दिनुभयो । सामाजिक काम गर्ने नाममा देखावटी र देखासिकी बढी हुने गरेको जनाउँदै लामाले जनताको पीडा र समस्याको वास्तविक पहिचान गरेर मात्र आफ्ना कामलाई अघि बढाउन आग्रह गर्नुभयो । लामाले सो अवसरमा फाउण्डेशनप्रति आफ्नो सधैं साथ रहने वाचा समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी ‘आस्था’ मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, मनखुशी फाउण्डेशन, गण्डकी प्रदेशका उपाध्यक्ष कमल सुनार, कमेरोपानी खानेपानी उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद बराल, संगमटोल टोल विकास संस्थाका अध्यक्ष धर्मराज पौडेललगायतले बोल्नुभएको थियो । सो अवसरमा मनखुशी फाउण्डेशन गण्डकी प्रदेशकी अध्यक्ष काशी गुरुङले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो भने फाउण्डेशनकी प्रदेश सचिव कुलमाया पौडेल, सदस्य लक्ष्मी लामाले पनि बोल्नुभएको थियो ।त्यसैगरी, मनखुशी फाउण्डेशनका संस्थापक अध्यक्ष मानबहादुर तामाङले पठाउनुभएको लिखित शुभकामना सन्देश पढेर सुनाइएको थियो ।