गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीलाई मन्त्री श्रेष्ठको आग्रह : ‘काम गर्नका लागि कसैको डर नमान्नुस्’

पोखरा, २६ भदौ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले काम गर्नका लागि कसैको डर नमान्न गण्डकी प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । मंगलबार प्रतिष्ठानको कार्यालय उद्घाटन तथा युवा कवि मोतीराम भट्टको १५६ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रज्ञा–प्रतिष्ठानलाई मजबुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका पदाधिकारीलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘कसैबाट आश पनि नगर्नुस् र त्रासमा पनि नबस्नुस् ।’ गण्डकी प्रदेश प्रकृति र संस्कृतिको अनुपम संगमस्थल रहेको भन्दै मन्त्री श्रेष्ठले प्रदेश राजधानी पोखरा देशकै पर्यटकीय र सांस्कृतिक राजधानी भएको बताउनुभयो । उहाँले प्रतिष्ठानको गठनको पृष्ठभूमि जस्तो भएपनि आफ्नो उद्देश्य पूरा गर्न काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कुनै पनि बहाना र किन्तु, परन्तु भन्ने ठाउँ नरहेको भन्दै ढिलै भएपनि प्रतिष्ठानले गति समात्न थालेकोमा आफूलाई खुशी लागेको मन्त्री श्रेष्ठले बताउनुभयो । सो अवसरमा सबैलाई समेटेर अघि बढ्न समेत मन्त्री श्रेष्ठले प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य–सचिव तीर्थ श्रेष्ठले कुशे औंसी आफ्ना बाबुको मुख हेर्ने दिन मात्र नभएर संयोगले नेपाली साहित्यका बाबु समान युवा कवि मोतीरामलाई सम्झने दिन समेत भएको बताउनुभयो । कवि श्रेष्ठले गण्डकी प्रज्ञा–प्रतिष्ठान गठन प्रक्रियामा सुरुमा आफ्ना केही असहमति रहेपनि गठनपश्चात् प्रतिष्ठानलाई बलियो बनाउनुपर्छ भन्नेमा आफू लागेको बताउनुभयो । गण्डकी प्रदेश सांस्कृतिक र प्राकृतिक रुपमा धनी प्रदेश भएको भन्दै उहाँले प्रदेशको प्राज्ञिक र वाङ्मयिक विकासमा प्रतिष्ठानले महŒवपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली गजलका समेत प्रणेता रहेका युवा कवि मोतीराम भट्टको स्मरणमा पाँच जना गजलकारले गजल वाचन गरेका थिए । गजलकार प्रकट पंगेनी ‘शिव’, मन क्षेत्री, कपिल ‘सञ्जोग’, सरला लामिछाने ‘सरु’ र उदीपराज ढुड्डानाले गजल वाचन गर्नुभएको हो । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य–सचिव मनकुमार श्रेष्ठले समेत बोल्नुभएको थियो । प्रतिष्ठानले कार्यालय सञ्चालनका लागि पृथ्वीनारायण क्याम्पसको स्वर्ण जयन्तीका अवसरमा निर्माण भएको स्वर्ण स्मृति भवनलाई १५ वर्षका लागि भाडामा लिएको प्राज्ञ परिषद् सदस्य सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । यसअघि, प्रतिष्ठानले बगरस्थित शिक्षा कार्यालयको भवनमा कार्यालय सञ्चालन गर्दै आइरहेको थियो ।

Advertisment