सुत्केरीलाई लालीगुराँस एजु आमा समूहको पौष्टिक आहार

पोखरा, २५ भदौ
पोखरा महानगरपालिका वडा नं. ३०, ढुंगेपाटनमा क्रियाशील लालीगुराँस एजु आमा समूहले सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको छ ।
रुकुम पूर्वदेखि पोखरा–३० मा डेरा गरी बस्दै आएकी सुत्केरी टेकमाया बुढामगरलाई बिहीबार सो आमा समूहले स्थानीय जातको कुखुराको भाले, घ्यूलगायतका खाद्यान्न सामग्री, जिन्सी र नगद सहयोग गरेको आमा समूहकी सचिव पुष्पा पुनले जानकारी दिनुभयो ।


टेकमायाको दम्पतिले ज्याला मजदुरी गर्दै आएका छन् । टेकमायाले छोरा पाएकी छिन् । कोभिड–१९ महामारीका कारण छाक टार्न समेत मुस्किल भएको थाहा पाएपछि सुत्केरी र नवजात शिशुको स्वास्थ्यको ख्याल गर्दै आफूहरूले सुत्केरीलाई सहयोग गरेको आमा समूहकी अध्यक्ष दीक्षा पुनले बताउनुभयो । अध्यक्ष पुनले आमा समूहको यस अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभयो । नागरिक परोपकार समन्वय समिति, पोखरा–३० को समन्वयमा सुत्केरी बस्ने डेरामै पुगी नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुन, आमा समूहकी अध्यक्ष दीक्षा पुन, सचिव पुष्पा पुन, मीनु पुनलगायतको टोलीले सो सामग्री सहयोग गरेको हो ।

Advertisment