गण्डकी प्रदेश प्रमुख शेरचनलाई जागौं पोखरा अभियानको ध्यानाकर्षणपत्र

पोखरा, २४ भदौ
जागौं पोखरा अभियानले पोखरा महानगरपालिकालगायतका स्थानीय तह, सरकारी निकायमा सेवा प्रवाहमा देखिएका ढिलासुस्ती, भ्रष्टाचार, लापरबाही एवं अनियमितताको अन्त्य गराउन पहल गरिदिन भन्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अभियानकी संयोजक शिरीष गुरुङ नेतृत्वको टोलीले मंगलबार प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले आफू संवैधानिक पदमा भएको र मिल्नेसम्मको पहल आफ्नो तर्फबाट हुने अभियानको टोलीलाई विश्वास दिलाउनुभयो । देशको समस्या भ्रष्टाचार र अनियमितता भएको भन्दै उहाँले सम्पत्तिप्रतिको लोभ कायम रहेसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो हुने बताउनुभयो । साथै, प्रदेश प्रमुख शेरचनले प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारलाई यस विषयमा आवश्यक ध्यानाकर्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
ध्यानाकर्षणपत्र बुझाउँदै अभियानकी संयोजक गुरुङले आफूहरूलाई प्रदेश प्रमुखको संवैधानिक र कानूनी भूमिका थाहा भएपनि प्रदेशको अभिभावकका हिसाबले विद्यमान समस्या र गुनासा राख्न आएको उल्लेख गर्नुभयो । सो अभियानका अभियन्ता एवं ट्राफिक स्वयंसेवक शिवराज बस्ताकोटी “शिव दाइ”ले प्रदेश प्रमुखको हिजोको इतिहास बुझेर नै आफूहरूले ध्यानाकर्षण गराउनु उपयुक्त ठानेर आएको बताउनुभयो । सो अवसरमा अर्का अभियन्ता दीपक आचार्यले ध्यानाकर्षणपत्र पढेर सुनाउनुभएको थियो ।

Advertisment