रजत जयन्तीका अवसरमा युवा बौद्ध संघको रक्तदान

पोखरा, ६ भदौ
युवा बौद्ध संघको रजत जयन्तीका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ ।
संघले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा संघका संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्यले बुद्ध मूर्तिको अगाडि घेरुवामा दीप प्रज्ज्वलनसँगै पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा. विनिता बज्राचार्य, सह–संयोजक आनन्द बज्राचार्य र सुमेघमान बुद्धाचार्यले रक्तदान कार्यक्रमको महत्व र आवश्यकताका बारेमा बोल्नुभएको थियो । क्षेत्रीय रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा केन्द्रका प्रतिनिधि महेन्द्र केसीले कोभिड–१९ को महामारीका बेला हुने रक्त अभावलाई पूरा गर्न यस रक्तदान कार्यक्रमले सघाउ पु¥याउने बताउनुभएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा रगतको महत्व र रक्तदानको आवश्यकतालाई मध्यनजर गरी इच्छामान बुद्धाचार्यले संघलाई अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको सचिव कमला थापाले जानकारी दिनुभयो । सो अवसरमा धर्मशीला बुद्ध बिहारका प्रमुख धर्मानुशासक भिक्षु धज्ज्वन्तोले समेत रक्तदान गर्नुभएको थियो ।

Advertisment