मगर संघ, कास्कीका सचिवालय सदस्य श्रीसको निधन

पोखरा, २ भदौ
नेपाल मगर संघ, कास्कीका जिल्ला सचिवालय सदस्य एवं भवन संरक्षक तथा भौतिक पूर्वाधार विकास विभागका प्रमुख दलबहादुर श्रीसमगरको निधन भएको छ ।
निर्माण व्यवसायी समेत रहेका श्रीसमगरको ६३ वर्षको उमेरमा सोमबार राती हृदयाघातबाट निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । बागलुङको गलकोट नगरपालिका–११, रिघामा जन्मनुभएका श्रीसमगर पोखरा महानगरपालिका वडा नं. १२, ढिकालेथरमा परिवारसहित बस्दै आउनुभएको थियो ।
स्व. श्रीसमगरको मंगलबार बिहान पोखराको बौद्ध अर्घौं सदनस्थित घाटमा मगर परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । स्व. श्रीसमगरको पार्थिव शरीरमा उहाँका दुई छोराहरूले दागबत्ती दिएका थिए । अन्त्येष्टि अघि विश्वव्यापी कोरोना भाइरसको महामारी कायम रहेकाले सामाजिक दूरी कायम गरी शवयात्रा समेत गरिएको थियो ।
स्व. श्रीसमगरको पार्थिव शरीरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगर र कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरले नेपाल मगर संघको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । यसअघि, आयोजित शोकसभामा बोल्दै संघका केन्द्रीय सल्लाहकार काउछामगरले श्रीसमगरको निधनले मगर संघ, कास्कीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । सो अवसरमा नेपाल मगर संघ, माटेपानी इकाई समितिका अध्यक्ष दुर्गाबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
यसैबीच, नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मंगलबार एक शोक वक्तव्य जारी गर्दै श्रीसमगरको निधनले मगर संघ, कास्कीले एक असल अभिभावक र कर्मठ संगठक गुमाएको बताउनुभएको छ ।

Advertisment