रुपा गाउँपालिकामा फोनिज, गण्डकी प्रदेशको अन्तरक्रिया र सार्वजनिक सुनुवाइ

पोखरा, ४ पुस
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ६, भीरचोकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिले आफ्नो दोश्रो पूर्ण बैठक सम्पन्न गरेको छ । विभिन्न निर्णयहरुसहित रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनका साथै विकासमा सञ्चार क्षेत्रबाट सघाउने संकल्प गरेको फोनिजले रुपा गाउँपालिकाको सहयोगमा दुईवटा कार्यक्रम अन्तरक्रिया र सार्वजनिक सुनुवाई समेत सम्पन्न गरेको छ ।
भीरचोकस्थित ध्रुवतारा युवा क्लबको सभाहलमा विहिवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान “अजित”को प्रमुख आतिथ्यतामा “रुपा गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका” विषयक अन्तरक्रिया सम्पन्न गरेको हो ।


कार्यक्रममा मन्त्री अजितले पर्यटनका आकर्षक गन्तव्यहरू भएको रुपा गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा गाँउपालिका जुटिरहँदा प्रदेश सरकारको साथ रहेको बताउनुहुँदै पर्यटन विकासका लागि सञ्चार क्षेत्रका सहयोग आवाश्यकतामा जोड दिनुभयो । देश, प्रदेश र गाउँ गाउँको विकासका लागि पर्यटन क्षेत्र अत्यन्तै महत्वपूर्ण भएकाले पर्यटक कसरी आकर्षित र दिगो विकास गर्ने भन्ने बारेमा सोच्नुपर्ने उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपा गाउँपालिका सम्भावना नै सम्भावना भएको प्राकृतिक र संस्कृतिले सुन्दरता भरिपूर्ण भएकाले पर्यटन विकासका लागि पहल भइरहेको बताउनुभयो । पर्यटन गन्तव्यहरू र पर्यटक आकर्षणका क्षेत्रहरू रुपामा धेरै छ, त्यसलाई व्यवस्थित गरी व्यवसायिकतामा रुपान्तरण गर्न मिडिया लगायत सबैको साथको अपेक्षा गर्नुभयो ।
गण्डकी प्रदेशका पर्यटन वर्ष संयोजक जुद्धबहादुर गुरुङले मुलुकको विकासको संभावना पर्यटन प्रवद्र्धनबाटै भएकाले नेपालको सवै तहको सरकारले पर्यटन वर्ष समेत घोषणा गरी प्रचार प्रसार र कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो। रुपा गाउँपालिकाले बंगलादेशको राष्ट्रपति समेतलाई स्वागत गर्ने अवसरमा मिलेको खुशी व्यक्त गर्नुहुँदै हरेक महिना फरक फरक कार्यक्रमहरू गरी पर्यटक आकर्षणले लामो बसाइँका लागि पहल गर्नुपर्ने बताउनुभयो।
तनहँुको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले अत्यन्तै सम्भावना भएको, श्रोत र साधन समेतको प्रबन्ध गर्न सक्ने रुपा गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको साथ प्राप्त भइरहेको र आगामी दिनमा समेत थप प्रचार गर्न आग्रह समेत गर्नुभयो।
जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पर्यटन प्रवद्र्धनका लागि दिगो विकास, पर्यावरणीय सन्तुलन, प्रकृतिको सुन्दरता, संस्कृतिको संरक्षण र सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो। पर्यटकलाई नयाँ स्वाद, गन्तव्य जरुरी रहेको भन्नुहुँदै मौलिक पहिचानलाई प्रचार प्रसार गर्न सञ्चारले सघाउनुपर्ने बताउनुभयो।
फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष नारायण गुरुङले स्वागत, फोनिज गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो भने महासचिव रूद्रबहादुर श्रीसले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


यसरी नै शुक्रबार बिहान आयोजित रुपा गाउँपालिकाको दिगो विकास, पर्यटन पवद्र्धनका लागि अन्तरक्रिया तथा सार्वजनिक कार्यक्रम फोनिजले सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेलामा २ वर्षमा गर्छु भन्ने प्रतिबद्धता शतप्रतिशत कार्य सम्पन्न गरेको र थप अन्य काम समेत गरेको बताउनुभयो। दुईवर्षे प्रतिबद्धता पूरा मात्रै नभएर उहाँले आफ्नो कार्यकालमा कृषि उत्पादनमा वृद्धि, युवा स्वरोजगार, व्यवसायीकरण, पूर्वाधार विकास, पर्यटन, कृषि, उद्यमशीलता, बाटोको स्तरोन्नति, सँस्कृति संरक्षणमा दिगो विकासमा आधारित भए कार्य गर्ने बताउनुभयो। सार्वजनिक सुनुवाईमा स्थानीय र पत्रकारहरूको प्रश्नमा इमान्दारीपूर्वक, सबै दल एक भएर विकासमा जुटिरहेको र आगामी दिनमा पनि राजनीतिक पार्टी होइन विकासमा सबै जनता समेत एक भएर अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले रुपा गाउँपालिकाले हालसम्म गरेका मुख्य योजना तथा कार्यक्रमहरूको वस्तुगत विवरण प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाका रणनीतिक महत्वका मुख्य सडकहरू कालोपत्रे भइरहेको, रुपा चक्रपथको कालोपत्रे तथा स्तरोन्नति, स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, विद्युतीकरण, खानेपानी, कृषि, शिक्षा, सचेतना कार्यक्रम लगायत विविध विषयगत जानकारी गराउनुभएको थियो।


फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कांग्रेस, रुपा गाउँपालिकाका सभापति सुबेदार तुलबहादुर गुरुङ, नेकपाका अध्यक्ष हर्कबहादुर खत्रीलगायत स्थानीयबासी र पत्रकारहरूले सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राखेका थिए भने फोनिज, गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीसले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


फोनिज, गण्डकी प्रदेशको बैठकका साथै, गाउँपालिकाको सहयोगमा अन्तरक्रिया र सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि भीरचोक पुगेका पत्रकारहरूलाई आमा समूहले भव्य स्वागत र बिदाइ गरेको थियो भने सांस्कृतिक समूहले मौलिक संस्कृतिहरू छ्याँडु, सोरठी, कौरा, चुड्कालगायत विभिन्न सांस्कृतिक प्रस्तुतीमार्फत मनोरञ्जन दिलाएका थिए । पर्यटन विकासका साथै, होमस्टे सञ्चालनमा जुटेको भीरचोक पाहुनाको पर्खाइमा रहेको वडाध्यक्ष नारायण गुरुङले बताउनुभयो ।

Advertisment