बागलुङ–पोखरा मगर समाजको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २५ साउन
बागलुङ–पोखरा मगर समाजको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले कास्कीका सबै मगरलाई एकताबद्ध बनाउने उद्घोष गर्नुभयो । नेपाल मगर संघभन्दा बाहिर रहेका मगर समुदायलाई संघको झण्डामुनि गोलबन्द गराउने भन्दै अध्यक्ष पुनले सबै मगरको भावना बुझेर काम गर्ने पनि बताउनुभयो ।
मगर समुदायका नाममा विभिन्न संघसंस्था क्रियाशील रहेको भएपनि नेपाल मगर संघ नै सबै मगरको छाता संगठन भएको भन्दै उहाँले आफू अध्यक्ष भएपछि सबै मगरलाई मिलाएर लैजाने आफ्नो दायित्व भएको पनि उल्लेख गर्नुभयो । बागलुङ जिल्लाका विभिन्न ठाउँबाट कास्कीमा आएर बसोबास गरेका मगर समुदायले आफ्नो संस्कृति र भेषभूषा संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै लोपोन्मुख भाषाको संरक्षणका लागि पनि मगर संघ, कास्की सधैं साथ र सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेपाल मगर महिला संघ, गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष तुलसी थापामगरले बागलुङे मगरहरूलाई आफ्नो समाजमा मात्र सीमित नहुन आग्रह गर्दै मगर संघमा आबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो । एउटा सानो समाजमा मात्र सीमित रहँदा सिंगो मगर समुदायको अधिकारका लागि लड्ने माध्यम नगुमाउन भन्दै उहाँले मगर संघमार्फत् सम्पूर्ण मगरका लागि नेतृत्व गर्न आग्रह समेत गर्नुभयो ।
वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक दीपक थापामगरले जनता र प्रहरीबीचको दूरी बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । जनता र प्रहरीबीच एक आपसमा सहकार्य भए मात्र समाजमा विद्यमान अपराध नियन्त्रण गर्न सकिने भनाइ राख्दै प्रहरी निरीक्षक थापाले आफ्ना छोराछोरीलाई कुलतमा फस्नबाट रोक्न अभिभावक विशेष चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष पदम पुनमगरले जुनसुकै दलीय विचारको भएपनि मगरहरू आफ्नो अधिकारका लागि एकजुट हुनु आवश्यक रहेको भन्दै सामाजिक संस्थाभित्र भने राजनीति गर्न नहुने धारणा व्यक्त गर्नुभयो । बागलुङ समाज, पोखराका उपाध्यक्ष सुनिल पाण्डेले कास्कीमा बसोबास गर्ने बागलुङेहरू एकजुट भएर एक आपसमा दुःख, सुख साटासाट गर्नु नै समाज स्थापनाको मुख्य उद्देश्य भएको बताउनुभयो । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, कास्कीका सचिव डिलबहादुर श्रीसमगरले सहकारीमा आबद्ध भएर आयमूलक कार्यमा जोड दिन मगर समुदायलाई आग्रह गर्नुभयो ।
समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा बरेङ गाउँपालिका, बागलुङका गाउँ कार्यपालिका सदस्य मेखबहादुर छन्त्याल, समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगर, सचिव गजेन्द्र थापामगर र कार्यसमिति सदस्य सु. चन्द्रबहादुर थापामगरले पनि बोल्नुभएको थियो । साधारणसभाले सचिव गजेन्द्र थापामगर र कोषाध्यक्ष कृष्णा पुनमगरद्वारा क्रमशः प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सो अवसरमा २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण समाजका मगर विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी, वडा प्रहरी कार्यालय, बगरका प्रमुख प्रहरी निरीक्षक दीपक थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेश समितिका महासचिव रूद्रबहादुर श्रीसमगर र श्रीस साउण्ड एण्ड भिडियोग्राफीका सञ्चालक दानबहादुर श्रीसमगरलाई सम्मान गरिएको थियो । त्यस्तै, समाजलाई सहयोग गर्ने विभिन्न सहयोगदाताहरूलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका सांस्कृतिक विभाग प्रमुख एवं लोक तथा दोहोरी गायक सञ्जय पुनमगर र लोक तथा दोहोरी गायक कमल श्रीसमगरले गायन प्रस्तुती राखेका थिए भने विभिन्न कलाकारहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

Advertisment