पोखरा, १४ साउन
संयुक्त अधिराज्य बेलायतको विश्व साम्राज्यका निम्ति मारिएका, बेपत्ता पारिएका ६० हजार गोरखाहरूको सम्मानमा स्याङ्जा जिल्लाको फेदिखोला गाउपालिका वडा नं. १ साल्मेडाडामा निर्माणाधीन गोरखा स्मारकमा पूर्व संंविधानसभा सदस्य प्रा.डा. गणेशमान गुरुङले हस्तक्षेप गरी लथालिङ्ग बनाएको आरोप लगाइएको छ।
गोरखा भुतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति तथा गोरखा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङले पत्रकार सम्मेलन गर्नुभई बेलायती साम्राज्यको षड्यन्त्रमा विद्वानहरू गणेशमान र चन्द्रबहादुरले गोरखा स्मारक निर्माण लथालिङ्ग बनाएको आरोप लगाउनुभएको हो।
गणेशमानले गोरखा स्मारकमा राजनीति गर्दै गोरखा स्मारकको अवधारणापत्रबाट गेसोका संस्थापक सभापति तथा गोरखा स्मारक ट्रष्टका सभापति पदमबहादुर गुरुङको नाम हटाउँदै शहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट ५ करोड रुपैया स्थानिय सर्वसाधारण गणेश बि.क.को नाममा निकासा गरेको, उक्त योजनाका बरिष्ठ डिजाइनर आर्किटेक्ट इञ्जिनियर शंकरनाथ रिमाललाई समेत थाहा नदिई संरचना बिगार्दै पानी खन्ने, जथाभावी बिजुलीको खम्बाहरु ठड्याउन लगाएर निर्माणाधीन राष्ट्रिय सम्पदा माथि नै अराजकता मचाएको, गणेशमानको कार्यकर्ताको भर्ती केन्द्र बनाएको, योजना विफल बनाउन भूमिका खेलेको भन्दै खेद प्रकट गर्नुभयो।
गोरखा समाधिलाई राष्ट्रकै सम्पदा, गोरखामाथि बेलायती साम्राज्यले गरेको अन्याय, अपमान, अमानवियता छर्लङ्ग पार्ने गरी विश्वको ध्यानाकर्षण गर्ने केन्द्रको रुपमा विकास गरिन लागेको योजनालाई बेलायतमा भत्ता खाएर बसेका डा.चन्द्रबहादुर गुरुङलाई बोलाएर साल्मेको संरचना बिगारेको उहाँको आरोप छ। संरचना बिगारेर पानी ट्याङ्की निर्माण गरी चैत्र १६ गते गण्डकी प्रदेशका मन्त्रीलाई उद्घाटन समेत गराएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। अवधारणाकर्ता म पदमबहादुर र डिजाइनर शंकरनाथ रिमाललाई किन सोधिएन उहाँको प्रश्न थियो। पर्यटन विभागबाट ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाको पानी ट्याङ्की र जथाभावी बिजुलीको खम्बा ठडाउँदा आफुहरु लगायत स्थानीय जनप्रतिनीधिलाई वेवास्ता गरेको भन्दै संस्थापक सभापतिले दुःख व्यक्त गर्नुभयो।
विद्वान गणेशमान र चन्द्रबहादुरले नेपाल सरकारको ८० लाख रुपैयाको हिसाब किताब प्रष्ट पार्नुपर्दछ भन्नुहुँदै उहाँले निर्दोष कर्मचारी, स्थानीयबासी सर्वसाधारण गणेश बिकलाई फसाएर किर्ते र षड्यन्त्र गर्ने नाइकेहरुलाई होशियार गर्नुभयो। इन्जिनियर रिमालको डिजाइन अनुसार निर्माण भइरहेको गोरखा स्मारक हाल आएर अलपत्र पारेको भन्दै उहाँले रोष व्यक्त गर्नुभयो। स्थानीयलाई बेवास्ता, अवधारणा ल्याउने आफुहरुलाई अपमान र डिजाइनरलाई समेत उनीहरुको हर्कतले दुखित तुल्याएको संस्थापक सभापति गुरुङले बताउनुभयो।
बेलायतमा भत्ता खाएर बसेका ७ जना भुपू सैनिकहरुलाई गतसाल चैत्र ३ गते जम्मा गरेर ट्रष्टको एक जना सदस्यका उपस्थितिमा बैठक बसी किर्ते माइन्युट गरी ट्रष्टको सभापतिबाट पदमबहादुरलाई हटाएर जंगबहादुर गुरुङलाई सभापति बनायौं भन्दै षडयन्त्रकारी गणेशमान आफै चैत्र १८ गते जिल्ला प्रसासन कार्यालय स्याङ्जामा पुग्नु पूर्व सांसदको नैतिकताले नसुहाउने र संस्था माथि ठाडो हस्तक्षेपकै कारण उच्च अदालत पोखरामा आफुले रिट दायर गरेको उहाँको भनाई थियो। पदमबहादुर गुरुङका अनुसार उक्त मुद्दामा आफ्नो पक्षमा फैसला भएको छ।
राष्ट्रिय सम्पदामाथि स्वार्थका राजनीति गर्ने अधिकार कसैलाई छुट छैन, सम्पदामाथि राजनीति गर्ने सामाजिक अपराधी हो भन्दै सामाजिक अपराध गर्नेलाई जन्मदिने बाउ भए पनि छाड्न नहुने पदमबहादुर गुरुङको पत्रकार सम्मेलनमा आक्रोश थियो। तपाई माथि आर्थिक अनियमितिताको आरोप लगाईएको छ नि भन्ने प्रश्नमा उहाँले आफु माथि छानविन भई सकेको र आरोप सत्य नभएको बताउनुभयो। आरोप लगाउनेहरुले फेरि पनि अनुसन्धान गरोस् मात्रै होइन म आफै अख्तियार जादैछु उहाँको उत्तर थियो।
करिब तीन दशक बेलायती विरुद्ध संघर्ष गर्नुएका गेसोको संस्थापक सभापति गुरुङले आव्हान गर्नुभयोे, ब्रिटिस साम्राज्यलाई तह लगाउने हो भने गेसोको मूलधारका सभापति कृष्णकुमार राईको नेतृत्वमा सबै भूपू सैनिकहरू एकतावद्ध हुनुपर्दछ। स्थानीय अचम गुरुङको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा गेसो मध्यपश्चिम क्षेत्रीय अध्यक्ष हर्कबहादुर पुनसहित भूपूहरू र साल्मेडाडा वरपरका स्थानीयबासीहरुको समेत उपस्थिति रहेको थियो ।
कुनै बेला बेलायतसहित सिंगो विश्वमा प्रभाव जमाउन सफल गेसो आन्दोलन आज छिन्नभिन्न अवस्थामा पुगेको छ । गेसो आफैं एकातिर आन्तरिक विवादमा फसेको छ भने गोरखा आन्दोलन पनि विभाजित बन्न पुगेको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राई, गोरखा सत्याग्रह संघर्ष समितिका सभापति कृष्णबहादुर राई र ब्रिटिश गोरखा भूतपूर्व सैनिक संघ (बिगेसो)का पदमसुन्दर लिम्बूको नेतृत्वमा छुट्टाछुट्टै संगठन यतिबेला क्रियाशील रहेका छन् । गेसोको अगुवाइमा निर्माण सुरु भएको स्याङ्जाको फेदीखोला गाउँपालिकामा पर्ने साल्मेडाँडास्थित गोरखा स्मारक पनि निर्माण सम्पन्न हुने हो कि त्यत्तिकै अलपत्र पर्ने भन्ने आशंका बढेको छ ।
गोरखा स्मारक निर्माण अलपत्र पार्न खोजियो ः गेसो संस्थापक सभापति गुरुङ
१५ श्रावण २०७६, बुधबार
1765
Advertisment