मिस मगर नेपाल–२०१९ को सेल्फ ट्यालेण्ट राउण्ड सम्पन्न

पोखरा, ३ जेठ
एसटी क्रियशनले आयोजना गरेको “मिस मगर नेपाल–२०१९”को सेल्फ ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । पोखराको पाँचतारे होटल “होटल पोखरा ग्राण्ड”मा शुक्रबार भएको सेल्फ ट्यालेण्ट राउण्डमा मिस मगरका १० जना अन्तिम प्रतिष्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरे ।


यही जेठ १० गते होटल पोखरा ग्राण्डमै हुने ग्राण्ड फिनालेको अन्तिम तयारीमा रहेका मिस मगर प्रतियोगीहरूले आफ्ना प्रतिभाका रुपमा नृत्य, अभिनय र भाषणकला प्रस्तुत गरे । कार्यक्रममा प्रतियोगीहरू क्रमशः सानिया पुनमगर, मेलिना श्रीसमगर, उषा अर्मजामगर, सनम गर्बुजामगर, केशरी रानामगर, मेलिना चोचाङ्गीमगर, सोनी पुनमगर, एलिसा बुढामगर, रिमांश थापामगर र अस्मिता तिलिजामगरले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रमको निर्णायकका रुपमा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापामगर, मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष एवं नृत्य निर्देशक राहुल थापामगर र मिस मगर नेपाल–२०१४ की सेकेण्ड रनर अप सरला थापामगर रहनुभएको थियो ।


सेल्फ ट्यालेण्ट राउण्डका प्रमुख अतिथि नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको भाषा, कला र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्ने तर्क गर्नुभयो । सौन्दर्य प्रतियोगिताले मगर समुदायका युवतीहरूको प्रतिभालाई बाहिर ल्याउने काम गरेको भन्दै अध्यक्ष रानामगरले यस्ता कार्यक्रमले आफ्नो जातीय पहिचानप्रति गर्व गर्न र चासो दिन सिकाउने दाबी समेत गर्नुभयो ।


मिस मगर नेपाल–२०१९ को सेल्फ ट्यालेण्ट राउण्डका निर्णायकको तर्फबाट पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापामगरले मिस मगर फगत एउटा सौन्दर्य प्रतियोगिता मात्र नभइ संस्कृति संरक्षणको अभियान समेत भएको भनाइ राख्नुभयो । आयोजक एसटी क्रियशनका प्रबन्ध निर्देशक एवं मिस मगर नेपालका निर्देशक सुरज थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जुना थापामगरले गर्नुभएको थियो भने प्रशिक्षण संयोजक रूद्र श्रीसमगरले स्वागत गर्नुभएको थियो ।
यही जेठ १० गते हुने ग्राण्ड फिनाले विविध सांस्कृतिक कार्यक्रमसहित हुने कार्यक्रम संयोजक इनिशा दुरामगरले जानकारी दिनुभयो । हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको कोरियोग्राफी सुस्मिता पुनमगरले गरिरहनुभएको छ ।

Advertisment