ब्यूटीपार्लर एशोसिएसनको शुभकामना आदानप्रदान तथा सम्मान

 

पोखरा, २४ फागुन
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ब्यूटीपार्लर एशोसिएसन नेपाल, कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज आयोजित कार्यक्रममा ३३ वर्षदेखि ब्यूटीपार्लर पेशामा आबद्ध अग्रज ब्यूटीपार्लर व्यवसायी चन्द्रा प्रधानलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा बोल्दै संघकी वरिष्ठ सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले ब्यूटीपार्लर व्यवसायले अर्थतन्त्रलाई महत्वपूर्ण टेवा दिएको बताउनुभयो ।
ब्यूटीपार्लर व्यवसायले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन मदत पुगेको बताउँदै उपमहासचिव गुरुङले त्योसँगै परिवारलाई समेत आर्थिक रुपमा बलियो बनाउन भूमिका खेलेको भनाइ राख्नुभयो । पेशागत हक, हितका लागि ब्यूटीपार्लर एशोसिएसनको स्थापना भएको जनाउँदै उहाँले व्यवसायिक हितका लागि सम्पूर्ण ब्यूटीपार्लर व्यवसायी सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघकी कानूनी सल्लाहकार अधिवक्ता गीता आचार्य, लेखनाथ एकाइकी सल्लाहकार इन्दिरा रोका, कस्मेटिक्स व्यवसायी संघ, कास्कीकी प्रथम उपाध्यक्ष दुर्गा बराल, सम्मानित व्यक्तित्व अग्रज ब्यूटीपार्लर व्यवसायी चन्द्रा प्रधानलगायतले महिलाहरु आर्थिक रुपमा सक्षम भए मात्र अघि बढ्न सहज हुने बताउनुभएको थियो ।
संघकी अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बबिता केसी र उपाध्यक्ष सुनिता अधिकारीले स्वागत गर्नुभएको थियो ।

Advertisment