कवि मीगीनको द्वैभाषिक कविता संग्रह ‘बिजोर चप्पलहरू’ विमोचित

पोखरा, २३ असोज
युवा साहित्यकार कवि कृष्ण थापामगर ‘मीगीन’को दोस्रो साहित्यिक कृति मगर तथा नेपाली भाषाको द्वैभाषिक कविता संग्रह ‘पाट्याहल चप्पलको’ (बिजोर चप्पलहरू)को विमोचन गरिएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाद्वारा मंगलबार आयोजित कार्यक्रममा अग्रज साहित्यकार मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले विमोचन गर्नुभयो । सो अवसरमा बोल्दै थापामगरले यथार्थवादी साहित्यले समाजको परिवर्तन गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।
मगर भाषामा लेखिएका साहित्य अधिकांश प्रगतिशील भएको बताउँदै थापामगरले प्रगतिवादी साहित्यमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर भाषाप्रति नयाँ पुस्ताको अभिरुचि बढाउन यस्ता कृतिले सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले मगर साहित्यको विकासका लागि भाषिक, साहित्यिक जागरण आउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको मुख्य पहिचान भनेकै भाषा भएको तर्क गर्दै मगर भाषामा साहित्यिक कृति लेखिनु खुशीको कुरा भएको बताउनुभयो । मगर भाषामा लेखिएका पुस्तक प्रकाशनका लागि मगर संघले सहयोग गर्ने बताउँदै अध्यक्ष रानामगरले मगर साहित्यकार, स्रष्टालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, मगर चलचित्रकर्मी संघ, नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी गुरुङ, नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, सह–सचिव दीपक सिंजालीमगर, साहित्यकार इन्दिरा थापामगरलगायतले कवि मीगीनको नयाँ साहित्यिक कृति मगर भाषा र नेपाली भाषाका लागि महŒवपूर्ण योगदान हुने उल्लेख गरे । कृतिका लेखक एवं कवि मीगीनले आफूले दोस्रो साहित्यिक कृतिमार्फत् समाजका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको बताउनुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र नेपाल मगर लेखक संघ, कास्कीका अध्यक्ष पूर्ण ठाडामगरले स्वागत गर्नुभएको थियो । कवि मीगीनको यसअघि, मगर भाषाको मुक्तक संग्रह ‘मीगीन’ (मुटु) प्रकाशित भइसकेको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका सचिव रहेका मीगीन मगर भाषा प्रतिष्ठान, कास्की शाखाको कार्यसमिति सदस्य रहनुभएको छ ।

Advertisment