पोखरा विन्ध्यवासिनी मन्दिरको पुजारी करारमा

–वासुदेव पौडेल

पोखरा, २३ असोज । पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।

दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने भएको छ ।

समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि विभिन्न प्रमाणसमेतका आधारमा विसं १८४० तिर यसको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पुजारी भगिरथ पाध्या पौडेल हुनुहुन्छ । विसं १९४१ म पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तति महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हक दाबी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेल सन्ततिलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ ।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागतरुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गर्दै करारमा पुजारी नियुक्ति गरिएको हो । उहाँका अनुसार विसं २०७२ कात्तिक २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापनसम्बन्धी निर्देशिका जारी भएपछि समिति त्यसअनुरुपअघि बढेसँगै पुजारी परिवारका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गनुपर्ने नदेखिएको भनेपछि पुजारी समितिसँग वार्तामा आएका थिए ।

वार्तामा दुवै पक्षबीच करार सेवामा जाने लगायतका आठ बुँदे सहमति भएको र त्यहीअनुरुप यस वर्षदेखि करार सेवामा पुजारी राखिएको समितिले जनाएको छ । मन्दिरमा यसअघि पाँच पुजारीले नियमित पूजाआजा गर्दै आएकामा हाल करारमा नियुक्त दुई जनाले उक्त कार्यलाई निरन्तरता दिएका छन् भने अन्य तीन बिदा भएका छन् ।

पारिवारिकरुपमा २३५ वर्षसम्म नियमित पूजाआजा गर्दै आएको योगदान समेतलाई दृष्टिगत गरी तीन जनालाई जनही रु नौ÷नौ लाखसहित समितिले बिदा दिइएको हो । बिदा हुने पुजारीमा माधवप्रसाद पौडेल, कृष्णप्रसाद शर्मा र सुशील पौडेल हुनुहुन्छ । समितिले मूल पुजारी रुद्रनाथ पौडेललाई रु ३५ हजार र अर्का पुजारी श्रीराम पौडेललाई रु ३० हजार पारिश्रमिक तोकेको छ ।

पोखराको इतिहासको साक्षी जस्तै बनेको यस मन्दिर कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिर वरपरको समथरिलो भू–भागबाट केही उच्च थुम्कामा अवस्थित छ । थुम्कामा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनुपर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पु¥याउने गरेकामा अब भने लिफ्ट निर्माण गरिने भएको छ ।

मन्दिरमा दैनिक करिव ४०० देखि चार हजारसम्म दर्शनार्थी आउने गरेका छन् । मन्दिरलाई सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरुप विभिन्न काम अघि बढिरहेको समितिले जनाएको छ । विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको छ भने गजुरबाट तामाको श्रीबन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिर छन् ।

मन्दिर परिसरमा समितिले बाटिका बनाएको छ । प्रदक्षिणा पथ निर्माण कार्य जारी छ भने परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैँचा लगायतक संरचना निर्माण गरिएको छ । मन्दिरको मूल प्रवेशद्वार, खानेपानी व्यवस्थापनलगायतका काम अघि बढाउन लागिएको छ । मन्दिर परिसरमै कास्की जिल्लाको ३०० वर्ष पुरानो प्रशासनिक भवन (माल अड्डा)लाई पुरानै कलात्मक स्वरुपमा पुरातत्व विभागले निर्माण गरिरहेको छ ।

Advertisment