बुगी वुगीको फाइनलमा पुगेकी प्रगतिलाई पोखरा विमानस्थलमा भव्य स्वागत

पोखरा, ९ साउन
एपी वान टेलिभिजनद्वारा सञ्चालित चर्चित डान्स रियालिटी शो ‘बुगी वुगी’को फाइनलमा पुग्न सफल तनहुँको शुक्लागण्डकी नगरपालिका–२, नर्सरीकी प्रगति पुनमगरलाई पोखरा विमानस्थलमा बुधबार भव्य स्वागत गरिएको छ ।


उत्कृष्ट तीनमा छानिन सफल प्रगतिलाई पोखरा विमानस्थलमा नेपाल मगर संघ कास्की र नेपाल मगर संघ, शुक्लागण्डकी नगर समिति, तनहुँले फूलमाला र खादासहित स्वागत गरेका हुन् । स्वागतपछि बागागाजासहित प्रगतिलाई नगर परिक्रमा गराइएको थियो । सो ¥याली पोखरा विमानस्थलबाट नागढुंगा, लखनचोक, सभागृहचोक, नयाँसडक, चिप्लेढुंगा, महेन्द्रपुल, भीमसेनचोक, नयाँबजार, लखनचोक, बसपार्क हुँदै नेपाल मगर संघ कास्कीले आयोजना गरेको स्वागत कार्यक्रममा परिणत भएको थियो ।


कार्यक्रममा नेपाल मगर संघ कास्की र नेपाल मगर संघ शुक्लागण्डकी नगर समिति, तनहुँसहित नेपाल मगर विद्यार्थी संघ कास्की, जनचेतना युवा क्लब, नर्सरी, तनहुँ, नेपाल मगर महिला संघ कास्कीलगायतका संघसंस्थाले प्रगतिलाई स्वागतसँगै सफलताको शुभकामना दिए ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायमा धेरै प्रतिभा जन्मिएको भन्दै प्रतिभाले फुल्ने अवसर पाउनुपर्ने धारणा राख्नुभयो । प्रतिभाहरूलाई अघि बढाउन मगर संघ कास्कीले सधैं अगुवाइ गर्दै आएको भन्दै अध्यक्ष रानामगरले अवसर नपाउँदा धेरै प्रतिभाहरू ओझेलमा बस्नु परेको समेत बताउनुभयो । त्यस्तै, सचिव यामबहादुर थापामगरले चर्चित डान्स रियालिटी शो बुगी वुगीको फाइनलमा पुगेकी मगर चेलीलाई भोट दिएर जिताउन आग्रह गर्दै सिंगो मगर समुदायका लागि प्रगतिको प्रतिभा गर्व गर्न लायक भएको बताउनुभयो ।


प्रगतिलाई गृहजिल्ला तनहुँमा समेत भव्य स्वागतको तयारी गरिएको छ । बुधबार नै नेपाल मगर संघ तनहुँ, शुक्लागण्डकी नगर समितिलगायत विभिन्न संघसंस्थाले प्रगतिलाई भव्य रुपमा स्वागत गर्दैछन् । प्रगतिलाई जिताउन आफूहरू लागिपरेको र उनलाई जिताउन सबैले सहयोग गर्नुपर्ने नेपाल मगर संघ, शुक्लागण्डकी नगर समितिका अध्यक्ष खड्कसिंह थापामगरको भनाइ छ ।


ओप्पो बुगी वुगीको फाइनलमा पुगेका तीन जना प्रतियोगीहरूमा प्रगतिसहित सरोज मोक्तान र कविता नेपाली छन् । प्रगतिलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गइ ०४ टाइप गरी ३५२२५ मा पठाउनुपर्नेछ । विदेशमा बस्नेले प्रगतिलाई भोट गर्न एपी वानको एप्स डाउनलोड गरेर भोट गर्न सक्नेछन् ।

Advertisment