पोखरामा एक दिने महापरित्राण पाठ सम्पन्न

रूद्र श्रीसमगर
पोखरा, २९ वैशाख
अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार, पोखरा शाखा, नागढुड्डाको आयोजनामा शनिबार हुने एक दिवसीय महापरित्राण पाठ सम्पन्न भएको छ ।
पोखरा लेखनाथ–८, बगालेटोलस्थित सोंपाल तमु समाजको सभाहलमा भएको महापरित्राण पाठमा ६ जना पुरुष र १० जना महिला गरी १६ जना ७५ वर्षमाथिका ज्येष्ठ नागरिक उपासक र उपासिकाका रुपमा सहभागी भएको विहारका अध्यक्ष टीबी पुन ‘रोशन’ले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार सहभागी हुने उपासकहरूमा ८३ वर्षीय चन्द्रबहादुर गुरुङ (सीबी घोताने), ८३ वर्षीय छानबहादुर गुरुङ, ८६ वर्षीय बिलबहादुर गुरुङ, ८६ वर्षीय लालसिंह गुरुङ, ७८ वर्षीय केशबहादुर गुरुङ, ८३ वर्षीय धनबहादुर श्रीस, उपासिकाहरूमा ७७ वर्षीया गंगादेवी गुरुङ, ८३ वर्षीया विष्णुकुमारी गुरुङ, ७५ वर्षीया लक्ष्मी गुरुङ, ७९ वर्षीया मीनाकुमारी गुरुङ, ८८ वर्षीया हरसुबा गुरुङ, ७५ वर्षीया हिन्दुमाया गुरुङ, ८० वर्षीया पम्फा पुन, ८१ वर्षीया चिजकुमारी गुरुङ, ७५ वर्षीया कलावती गुरुङ र ७९ वर्षीया ७९ वर्षीया नरमाया श्रीस रहनुभएको छ ।
ज्येष्ठ उपासक, उपासिकाहरूको दीर्घायू र आरोग्यताको कामना गर्दै आयोजित महापरित्राण पाठ विहारले तेस्रो पटक आयोजना गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । पुनका अनुसार यसअघि, अनागरिका धर्मशीला गुरुमाको अग्रसरतामा २०२९ सालमा पहिलोपटक सामूहिक रुपमा महापरित्राण पाठ सम्पन्न भएको र दोस्रो पटक अनागरिका धर्मशीला गुरुमाको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर २०४४ सालमा आयोजना गरिएको हो । ३१ वर्षपछि अहिले तेस्रो पटक महापरित्राण पाठको आयोजना गरिएको पुनको भनाइ छ ।
महापरित्राण पाठमा लागि अखिल नेपाल भिक्षु महासंघका करिब ३५ जना भिक्षु, भन्ते गुरुहरूले पाठ थिए । साथै, कार्यक्रममा ज्येष्ठ नागरिकहरूका आफन्तसहित अन्य बौद्धमार्गीहरूको सहभागिता रहेको थियो । सो अवसरमा शील ग्रहण, बुद्ध पूजा, धर्मदेशना तथा महापरित्राण पाठ गरिएको थियो भने अखिल नेपाल भिक्षु महासंघलाई अष्ट परिकार दान तथा बौद्धमार्गीहरूका तर्फबाट धर्मदान गरिएको थियो ।

Advertisment