अगस्ट ११, न्यूयोर्क ।
अमेरिकाको न्युयोर्कमा ३१औँ विश्व अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपाली जनजातिहरूले पनि मनाएका छन । नेपाल आदिबासी जनजाती महासंघ (फिप्ना), अमेरिकाको आयोजनामा सो आदिवासी दिवस “आदिवासी जनताको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षाको र स्वाधीनता को बाटो” भन्ने मूल नारा सहित शनिबार विशेष कार्यक्रम गरी मनाईएको छ ।

(फिप्ना), अमेरिकाले शनिबार नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजाति १८ वटा सम्वद्ध संघसंस्थाहरू र विदेशी आदिवासी संस्थाहरूको भेषभूषा, संस्कृति झल्किने झाँकीसहितको र्याली समेत प्रदर्शन गरिएको थियो ।

उडसाईड एभन्युको ७२ स्ट्रिटबाट सुरु भएको र्याली ७९ स्ट्रिटको मध्यभाग स्थित मञ्चमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

बौद्धधर्म गुरु टुल्कु उर्गेन शेर्पाबाट शान्ति प्रार्थना गरेर उद्घाटन गरिएको कार्यक्रममा न्यूयोर्क नेपाली महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदुत भण्डारीले विश्व आदिवासी दिवस संसारभरका आदिवासीहरूको उत्सवको रूपमा मनाइने बताउँदै फिप्नाले गरेको विश्व आदिवासी जनजाति कार्यक्रमले नेपाल र नेपाली चिनाउने बताउदै सो दिवशको अवसरमा सबैलाई शुभकामना दिदै फिप्ना तथा यस संस्थासंग आवद्ध सदस्य संस्थाहरुलाई नेपाल प्रवर्द्धन जस्ता गतिविधिहरु सहितका कार्यक्रमहरू ल्याए महावाणिज्यदूतको कार्यालयले सहयोगको लागि सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक एवं उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङले प्रवासमा रहेर पनि आदिवासीहरुको हक अधिकारका लागि गरिएको कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो साथै आफुले उज्यालो नेपाल अभियानको क्रममा रहेको र यो अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्दै विश्वभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायलाई सो दिवसको अवसरमा शुभकामना दिनुभयो ।

फिप्नाका सल्लाहकार डण्डु ढोक्प्या, फिप्नाको उप संयोजक र युक्राको केन्द्रीय कमिटीको बरिस्ठ उपाध्यक्ष केशबराम राई र फिप्नाका प्रमुख संयोजकको रूपमा रहेका क्षेत्रीय उपाध्यक्ष पूर्ण पाईजा मगरले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत मन्तव्य राख्नुभएको थियोे ।
फिप्ना महासचिव दिपक चौधरीले स्थानिय सरकारका प्रतिनिधी संगको समन्वय र कार्यक्रम ब्यवस्थापन संयोजनमा बिशेष भुमिका खेल्नुभएको थियो भने कार्यक्रममा उद्घोषण मच्छे गुरुङले गर्नुभएको थियो ।

त्यस अवसरमा मगर समुदायको कौह्रा नाच, नेवार समुदायको धिमे नाच, लिम्बू समुदायको केलाङ नाच, शेर्पा समुदायको स्याब्रु, राई समुदायको उकेरा साकेला, तामाङ समुदायको डम्फूसेलो र गुरुङ समुदायको नाच लगायतका अन्य नृत्यहरू प्रस्तुत गरिएको थियो ।

सोही दिवसको अवसरमा फिप्नाले आदिवासी समुदायको विभिन्न क्षेत्रमा विषेश योगदान पुर्याएका तीन जनालाई सम्मान गरेको थियोे । सम्मानित हुनेहरुमा संचारकर्मीद्धय (एनवाईसी नेपाल न्यूज) का सम्पादक मच्छेदेवी गुरुङ र (मकै हाउस सामुदायिक मिडिया)का संस्थापक तथा संचालक खड्क बहादुर पुलामी (बिक्की) रहेका छन् भने फिल्मकर्मी दल प्रसाद लिङदेन रहेका छन् । उनीहरु प्रमुख अतिथि महावाणिज्यदूत दधिराम भण्डारी र फिप्नाका अध्यक्ष तोरण गुरुङको हातबाट खादा तथा सम्मान पत्रबाट सम्मानित हुनुभएको थियो ।

फिप्नाका अध्यक्ष तोरण गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरूङले ”जुन अबस्थामा रहेपनि आफ्नो भाषा संस्कार संस्कृतिलाई नभुलौ भन्दै सबै जनजातिहरू एकजुट भई अगाडि बढ्नुपर्ने” बताउदै अन्त्यमा कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियोे भने कार्यक्रममा न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, प्राइमेरी इलेक्टेड काउन्सील मेम्बर फिल वन, बर्नी चाउ, यूयोर्क सिटीका काउन्सील मेम्बरका प्राइमरी विजेता फिल वाङ, सिटीका मेयर कार्यालय प्रतिनिधिहरु सुकरानी धनपद, तेन्जीङ छेसाङ र न्यूयोर्कका क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि न्यूयोर्क सिटीका डेमोक्रेटिक पार्टीका ड्रिस्टिक्ट लिडर छेवाङ लामा र विष्णु रानामगर लगायतको विषेश उपस्थिति रहेको थियो ।











