जुलाई २८ न्युयोर्क,
मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले सोमबार नेपाल सरकार गण्डकी प्रदेशसभाको सदस्य रहेकी सुनीता थापा मगरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जुलाई २२ देखि २४ सम्म अमेरिकाको लस भेगासमा आयोजित डिफ नेसन एक्स्पोमा प्यानालिस्टको रुपमा र न्युयोर्कमा अगस्त १ देखि ३ गतेसम्म हुने अमेरिकामा बहिराहरुको लागि हुने अनुभवका आधारमा हुने सिकाई अवसर र अभ्यास सम्बन्धि शिबिर कार्यक्रममा सहभागी हुन आउनुभएका प्रदेश सांसद सोही अवसरमा नेपाल मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा राखिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो ।

मगर संघ अमेरिकाको कार्यालयमा राखिएको कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले ”म प्रदेशसभाको सदस्यमा रहेकि छु, तर पद भन्दा गहिरो सम्बन्ध म जनजाति मगरकी छोरी भएकोमा गर्व गर्दछु, आज अमेरिकामा पनि मलाई मगर संघले गरेको सम्मान र मायाले अझ जिम्मेवारी थपिएको महशुस गर्दैछु ।

समान्य परिवारमा जन्मिएर १२ बर्षको उमेर हुदा कानले सुन्न छोड्यो, म सँग सबै कुरा थियो तर मौनता को चिच्याहट मात्र थियो, त्यो आवाज कसैले सुन्दैनथ्यो । कति पटक भयानक सपनाहरू देख्थे, आफ्नै छायासँग डराए भने ती सबै बाधा पार गर्दै अनुभव र भोगाइले आज त्यो मौनतालाई शक्तिमा बदल्दै अगाडि बढ्दैछु । म जस्ता अपाङ्गता भएकाहरूको लागि गण्डकी प्रदेशमा पहिलो पटक प्रदेश स्तरमा अपाङ्गता ब्यक्तिहरूका लागि विधेयक पारित गर्न लागि परिरहेकी छु, यो विधेयकले सबै जनजाति अपाङ्गताहरूका लागि भाषा, संस्कृति सबैको सम्मान र समावेशीता सुनिश्चित गरेको छ र अर्को कुरा गण्डकी प्रदेशमा मगर र गुरूङ भाषालाई सरकारी कामकाजको रूपमा प्रयोग गर्नुपर्ने ब्यवस्था विधेयक विषयमा पारित गरिएको बताउदै सम्पूर्ण मगर र गुरूङ समुदायलाई बधाई तथा शुभकामना दिनुभयो र यो अभ्यास गण्डकी प्रदेशबाट शुरू भएको छ साथै सातवटै प्रदेशमा पनि यो लागू गर्नुपर्ने कुरा बताउनुभयो ।

साथै उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी हुनुभयो बहिरा तथा अपांगताहरूका लागि के कस्ता एजेन्डा प्रस्तुत गर्नुभयो ? भन्ने प्रश्नमा सांसद थापाले अमेरिकाको लस भेगसमा आयोजित १३० वटा देशहरूको अन्तर्राष्ट्रिय बहिरा अपाङ्गताको सम्मेलनमा नेपालबाट सहभागी मेरो प्रमुख एजेन्डा अन्य देशहरूमा अपाङ्गताको लागि दिईने शिक्षा, हक र अधिकार अन्य सुविधाहरू कसरी विकास भैरहेको छ र कस्ता विधेयकहरू बनेका छन जुन हाम्रो नेपालमा नभएका कुराहरूलाई कसरी अगाडि बढाउने र नेपाली बहिरा अपाङ्गताको अन्तर्राष्ट्रिय स्तरमा बढी सहभागीता बारे भन्ने विषयमा कुराहरू उठाएको कुरा बताउनुभयो ।

नेपालबाट सहभागी हुने बहिरा अपांगता भएकी प्रदेश सांसद सुनिता थापाले लाफा खबरलाई दिएको जानकारी अनुसार यो सम्मेलन श्रवण शक्ति नभएका व्यक्तिहरूका लागि विश्वकै सबैभन्दा ठूलो खुला सम्मेलन मानिन्छ। सम्मेलनमा १ सय ३० देशका प्रतिनिधिहरू, अभियन्ता, संस्थाहरू र बहिरा समुदायका सदस्यहरू गरि हजारौको सहभागिता रहने गर्दछ । यसैबीच यस किसिमको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन् पाउनु आफ्नो लागि मात्र नभएर नेपाल बाहिर अपांगता भएकाहरुको लागि समेत गर्वको विषय भएको थापाले उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष तोरण गुरूङ केन्द्रीय मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना, मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्नसिह गर्वुजा मगर, गुरूङ तमु सोसाइटी ईन्क युएसए का अध्यक्ष ओम गुरूङ, केन्द्रीय मगर संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष दिपसागर बुढामगर र केन्द्रीय मगर संघ अमेरिकाका सचिव पूर्ण पाईजा मगर लगाएत संस्थाका पदाधिकारीहरूले स्वागत गर्दै मायाको चिनो तथा खादा लगाएर प्रदेश सांसद थापा मगरलाई सम्मान गर्नुभएको थियो । साथै कार्यक्रम सञ्चालन सचिव दिलिप श्रीस मगरले गर्नु भएको थियो ।






