जुलाई २३, न्युयोर्क
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ । नयाँ नेतृत्वका लागि अन्य प्रतिस्पर्धी नभएपछि घोषित निर्वाचन कार्यक्रममा सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो ।
निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् ।
त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो भने उता एनआरएनए एनसिसी, अमेरिका, न्युयोर्क च्याप्टरको दुई बर्षे कार्यकालको लागि प्यानलै निर्बिरोध विजयी भएको छ ।

खासगरी चुनावी प्रक्रियाको उम्मेदवारी छनौटको अन्तिम समयमा अध्यक्ष पदबाट राजु तामांग र सचिव पदबाट अर्जुन उपाध्यायले आफ्नो उम्मेदवारी फिर्ता लिएपछी अध्यक्ष पदमा पाण्डे र सचिव पदमा अधिकारी सहित प्यानलै निर्बिरोध भएको हो । अध्यक्ष पदमा पाण्डे र सचिव पदमा अधिकारी सहित उपाध्यक्ष पदमा जुद्ध बहादुर वली, महिला उपाध्यक्ष पदमा शुष्मा कार्की, कोषाध्यक्ष पदमा गौत्तम ढकाल, महिला सचिव पदमा निशा ढुंगाना र बोर्ड सदस्य पदमा राजेश खत्री निर्बिरोध बिजयी भएका छन ।
आईसिसीले तोकिएको समय अनुसार चुनाव गराउन सक्षम रहेपनी एनआरएनए एनसिसी, अमेरिका भित्र दुई पक्षीय बिवाद बढे पछी अन्यौल पुर्ण अवस्थामा रहेको एनसिसी र च्याप्टर दुई समुहमा बिभाजन भएको हो ।
त्यसैगरी यता वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरिसकेको छ ।
प्रवासमा रहेरपनी नेपालको पार्टी फुटेझै यसरी दुई पक्षीय मतविभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको अवस्थाले आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा विभाजित नेपाली संस्था बन्न लागेको देखिएको छ ।






