काठमाडौं, २१ फागुन
विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक दम्पती सुवास रेग्मी र लिला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ ।
विन्ध्यवासिनी म्युजिक प्रालिले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले २०७७ सालमा जाहेरी दिएका थिए ।
उक्त मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम् फिर्ता गर्न आदेश दिएको थियो ।
तर, सरकारी वकिलले सजाय कम भएको भन्दै उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको मुद्दा अहिले गायक खरेलले जितेका हुन ।
उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएका हुन् ।
गायक प्रमोद खरेल निवेदक र नेपाल सरकार वादी रहेको मुद्दामा खरेलका पक्षबाट अधिवक्ता सज्जन वरसिंह थापा, शालिकराम सापकोटा र ईश्वर अधिकारीले बहस गरेका थिए ।






