गायक जगदिश समालको विदाईमा एकल साँझ सम्पन्न !

न्युयोर्क । नेपाली सुगम संगीतका लोकप्रिय गजल गायक जगदीश समालको एकल साँगीतिक साँझ सम्पन्न भएको छ। मगर संघ अमेरिकाको स्थापना दिवसको शुभ-अवसरमा सो कार्यक्रम मार्च १५ तारिख न्यूयोर्क च्याप्टरको आयोजनामा आईतबार सम्पन्न भएको हो ।


दिलिप श्रीस मगरले उद्घोष गरेको कार्यक्रममा बाध्यबादन तर्फ गितारमा प्रज्वल ब्रर्जाचार्य , अक्टोप्याड ड्रममा राजेन्द्र कर्ण,तबलामा मदन रसाईली, बेस गितारमा जैकी थापा, मादलमा टेक मिलन पुन र किबोर्टमा गणेश गजमेरले गायक समाललाई साथ दिएका थिए ।


कार्यक्रमको पहिलो चरणमा गायक समालले ‘सल्लाझै आमा सुसाई रहिन’ गित गाउँदै स्टेजमा उक्लिएका थिए ।
म त मर्छु क्यारे, आओ यादहरु, तिमी म संग भईदिए, किन आउँछ तिम्रो याद, आधा उमेर निन्द्रैमा बित्यो, नबिर्से तिमीलाई, काँडा हो माया आदि जस्ता दर्जनौ लोकप्रिय गीतहरु गायक समालले प्रस्तुत गरेका थिए भने उनका दर्जनौं कालजयी सदावहार गीत अहिलेसम्म पनि उत्तिकै लोकप्रिय र कर्णप्रिय छन् ।


पहिलो चरणमा आफ्ना सुगम संगीतका कालजयी गीत सुनाएर सबैलाई ‘मन्त्रमुग्ध’ बनाएका समालले दोस्रो चरणमा रोमान्टिक गीत र चलचित्रका गितहरू प्रस्तुत गरेका थिए भने उनलाई स्थानीय गायिका श्री मोक्तानले युगल गायनमा साथ दिएकी थिईन ।


कार्यक्रमको मध्यान्हमा मगर संघ अमेरिका न्युयोर्क च्याप्टर र मगर संघ अमेरिका केन्द्रीय समितिका पदाधिकारीहरू लगायत विभिन्न ब्यक्तिहरूले गायक समाललाई मायाको चिनो साथै खादा लगाई सम्मान गर्नुभएको थियो ।

गायक समालले अमेरिकाको धेरै राज्यहरुमा भएको  साँगीतिक कार्यक्रमहरू पछि न्युयोर्कमा एक महिनाको अन्तरालमा तेस्रो पटकको साँगीतिक प्रस्तुति दिएका हुन भने यो भन्दा अघि नेपाली अमेरिकन कलाकर संघले गरेको जगदिस समाल साँझ र स्वस्ति ईन्टरटेनमेन्टले आयोजना गरेको स्वस्ति साँझमा आफ्नो प्रस्तुति दिएका थिए।
गायक समालले आयोजकलाई धन्यवाद दिंदै सबैको सौहार्द पूर्ण सद्भाव र रमाईलो भेटघाट विर्सन नसकिने क्षण भएको बताउदै गायक समालले न्युयोर्कमा भएको अन्तिम पटकको कार्यक्रमबाट विदा भएका थिए । गायक समाल १५ वर्षे अमेरिका बसाइको यो न्युयोर्कमा अन्तिम कार्यक्रम पछि सधैंको लागि नेपाल फर्किन लागेका हुन ।

Advertisment