न्युयोर्क । न्युयोर्कमा दशकौंदेखि जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिका र मातहतमा रहेका जातिय संस्था भित्र विवाद र विभाजनको कारण बन्दै आएको नेपाल डे परेड सम्बन्धी विषयमा अन्ततः ऐतिहासिक सहमति भएको छ।
यो विवाद अन्त्य संगै यो वर्षबाट सुरू भएर प्रत्येक बर्ष नेपाल आदिवासी जनजाति महासंघ र एनआरएनए न्यूयोर्क च्याप्टरको संयुक्त आयोजनामा ‘नेपाल डे परेड’ हुने भएको छ ।
यो विवाद अन्त्य गर्न र सहमति जुटाउन गैर आवसीय नेपाली संघ न्यूयोर्क च्याप्टर र नेपाल डे परेड इन्कवीच समन्वय गर्दै धेरै समय देखि अहोरात्र खटिएको (फिप्ना) का अध्यक्ष तोरण गुरूङले बताउनु भयो ।
उक्त सहमति गर्न म्यानहटनमा रहेको भुर्तेल ल फर्मको अफिसमा वकिल दुर्गाप्रसाद भुर्तेल मार्फत कानुनी अनुसार सहमति गरिएको कुरा फिप्नाका महासविच दीपक चौधरीले बताउनु भयो ।
आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, गैर आवसीय नेपाली संघ न्यूयोर्क च्याप्टर र नेपाल डे परेड इन्कवीच भएको छलफलपछि शुक्रबार भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
यो एकताको सहमतिले अमेरिकामा रहेका नेपालीहरूका लागि सकारात्मक साथै खुसीको खबर बनेको छ ।
के थियोे विवाद ?
हरेक बर्ष आदिवासी जनजाति महासंघ फिप्नाको संयोजनमा जनजाति संस्था लगाएत अरू सबै नेपाली संस्थाहरुलाई समेटेर न्युयोर्कस्थित म्यानहटन शहरमा ‘नेपाल डे परेड’ आयोजना हुँदै आईरहेको थियोे । सोही समयमा फिप्नाकाे अध्यक्ष लुइसाङ वाइबा बनेपछि फिप्नाको कार्य समितिसँग विना छलफल रातारात “नेपाल डे परेड इन्क” नामक संस्था व्यक्तिगत रुपमा दर्ता गर्दै एनआरएनए संग सहकार्य गरेर नेपाल डे परेड मनाउन थालेपछि विवाद शुरु भएको थियो । आदिवासी जनजाति संस्थामा असहमति बढेपछि तामाङ सोसाइटीकै कार्यवाहक सदस्यहरूको आग्रहमा पूर्व अध्यक्ष लुइसाङ वाइबालाई कार्वाही गर्नेबारे आदिवासी संघिय परिषदमा निवेदन परेपछि सबै आदिवासी संस्थाहरूको सहमति र विधान अनुसार पूर्व अध्यक्ष वाईबालाई कार्वाही गर्दै नेपाल डे परेड कार्यक्रमलाई बहिस्कार गरिएको थियो । यसै कारणले यो परेड विगत केही वर्षदेखि आदिवासी जनजाति समुदायले बहिष्कार घोषणा गर्दा कार्यक्रम आयोजना लाजमर्दो र फितलो देखिने गरेको थियो।
आधिकारिक प्रमाण-पत्र र कार्वाही फुकुवा ?
पहिलो निर्णयमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना), एनआरएनए र नेपाल डे परेड इन्कवीच भएको सहमतिमा लुइसाङ वाइबाको अध्यक्षतामा गठीत नेपाल डे परेड इन्कलाई कानूनी रुपमा नै खारेज गरिएको र नेपाल डे परेडको आयोजना फिप्ना र एनआरएनए वीचको समन्वयमा संचालन गर्ने भनिएको छ भने तीनवटै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर र सहमति अनुसार नेपाल डे परेडलाई “नेपाल डे परेड विथ हेरिटेज” नामाकरण गरि परिवर्तन गर्ने भनिएको छ।
दोस्रो निर्णय तथा सहमति पत्रमा कारबाही फुकुवा सम्बन्धी नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (फिप्ना) द्वारा लुइसाङ्ग वाइबा विरुद्ध लिइएका सम्पूर्ण कारबाहीहरू “नेपाल डे परेड इन्क को आधिकारिक Certificate of Dissolution प्राप्त भएपछि मात्र स्वतः कार्वाही तथा खारेज (मुक्त) गरिने कुरा उल्लेख गरिएको छ भने सहमति पत्रले सबै पक्षबीच आपसी विश्वास, सहकार्य र संस्थागत एकतालाई सुदृढ गर्ने उद्देश्य राखिने कुरा बताएको छ।
फिप्नाले आपसी समझदारी, सहकार्य तथा समुदायको एकताको हितलाई ध्यानमा राख्दै संस्थागत नीति, विधि र समन्वयको मर्म विपरीत उक्त संस्था स्थापना गरिएको ठहर गर्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनुनै महत्त्वपूर्ण कुरा रहेको छ तर निर्णय तथा सहमति पत्र अनुसार दोस्रो पक्षधरको “नेपाल डे परेड इन्क को आधिकारिक Certificate of Dissolution पत्र पूर्णरूपमा (फिप्ना)लाई नबुझाएसम्म लुइसाङ्ग वाइबा विरुद्ध कार्वाही फुकुवा नहुने कुरा स्पष्ट रूपमा देखिन्छ। त्यसैले कार्वाही फुकुवाको लागि सम्बन्धित पक्षले जतिसक्दो छिटो सो पत्र फिप्नालाई बुझाउनुपर्ने देखिन्छ ।
विगतका तिता अनुभवलाई पाठका रूपमा ग्रहण गर्दै आपसी एकता, सहकार्य र सम्मानका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेकोले अबको सहमति अनुसार अब दुबै पक्षले समाजमा रहेको विकृति, विसंगतिलाई हटाई मिलेर अघि बढ्नुपर्ने देखिन्छ भने यो सहकार्यले कस्तो रूप लिने हो भविष्यले निर्धारण गर्नेछ ।






