आदिवासी जनजाति आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्छ ः अध्यक्ष थापामगर

पोखरा, ९ कात्तिक
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले आयोगको निर्देशन सरकारले पालना गर्ने खालको आयोगलाई अधिकारसम्पन्न बनाइनुपर्ने उल्लेख गर्नुभयो । आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदनमा आयोगलाई कुनै घटनामा छानविनको अधिकार समेत दिनुपर्ने सिफारिस गरिएको भन्दै उहाँले आयोगको क्षेत्राधिकार बढाउनुपर्ने धारणा राख्नुभयो ।
आदिवासी जनजातिसम्बन्धी अध्ययनका लागि विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रम निर्माण गरिनुपर्ने बताउँदै आयोगका अध्यक्ष थापामगरले त्यसका लागि प्रतिवेदनमार्फत् सरकारलाई सिफारिस गरिएको बताउनुभयो । आदिवासी जनजातिको मातृभाषामा पठनपाठन र सरकारी कामकाजका लागि व्यवस्था गर्न समेत आयोगले सिफारिस गरेको जनाउँदै उहाँले राज्यका नीति निर्माण तहमा आदिवासी जनजाति समुदायको समुचित प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो ।
यसअघि, आयोगले सोमबार आफ्नो वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हस्तान्तरण गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष थापामगरसहित सदस्यद्वय रीना रानामगर र सूर्यबहादुर गुरुङ समेत सहभागी हुनुहुन्थ्यो । आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिसकेपछि सात वटै प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न लागिएको अध्यक्ष थापामगरले बताउनुभयो । आयोगले प्रदेश नं. १ र २ का प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरिसकेको र अब क्रमशः लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका प्रमुखलाई समेत हस्तान्तरण गरिने जनाइएको छ ।

Advertisment