न्युयोर्कमा आदिवासी जनजाति प्रतिष्ठानका सचिव ज्ञानेन्द्र पुन मगरसँग मगर संघ अमेरिकाको अन्तरक्रिया सम्पन्न !

न्युयोर्क । नेपालबाट संयुक्त राष्ट्रसंघको ‘आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्च’ (UNPFII) को २५औँ सत्रमा सहभागी हुन अमेरिका आउनुभएका आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुन मगरसँग मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले सोमबार अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।


मगर संघ अमेरिकाको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका वर्तमान अध्यक्ष समेत रहेका पुन मगरले नेपालमा हुन गइरहेको मगर संघको महाधिवेशनबारे जानकारी गराउनुभएको थियो । उहाँले विदेशमा रहेका मगर संघका वैदेशिक शाखाहरू मगर संघको मातहतमा रहने तथा सम्बन्धित देशको कानुनअनुसार स्वायत्त रूपमा सञ्चालन हुने विषयमा पनि धारणा राख्नुभएको थियो ।


कार्यक्रममा पुन मगरले अमेरिकामा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो भेषभूषा, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा मगर संघ अमेरिकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा मगर संघ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दिपसागर बुढामगर, पूर्व अध्यक्ष कुलदिप राना मगर, मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्नसिंह गर्वुजा मगर, निवर्तमान सचिव पूर्ण पाईजा मगर लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सदस्य सचिव पुन मगरलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान एवं विदाइ गरेका थिए ।

Advertisment