कौराहा पत्रकारिता पुरस्कारबाट पत्रकार मनोज घर्तीमगर सम्मानित

पोखरा, १५ साउन
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०७९”बाट यस वर्ष कास्कीका पत्रकार मनोज घर्तीमगर सम्मानित हुनुभएको छ ।


आइतबार आयोजित कार्यक्रममा पत्रकार घर्तीमगरलाई नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा रानामगर र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालका अध्यक्ष हर्कबहादुर आलेमगरले सम्मानपत्र, फेटा, भाङ्ग्रा र नगद पुरस्कार १० हजार रुपैयाँले सम्मान गर्नुभएको हो ।
सम्मानपछि बोल्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर जातिको बीचमा भाषिक एवं सांस्कृतिक विविधता भएपनि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । राजनैतिक रुपमा फरक आस्था भएपनि मगर समुदाय एकजुट हुुनुपर्ने भन्दै उहाँले एकले अर्कोको संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पुनमगरले मगर जातिमा रहेका सबै संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।


नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा रानामगरले मगर समुदायको संस्कृति संरक्षणका लागि जुनसुकै संस्था र संगठनमा आबद्ध भएपनि आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो । नेपाल मगर संघका पूर्व महासचिव एवं वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले भविष्यका सन्ततिका लागि अहिलेको पुस्ताले भाषा, संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
पुरस्कारबाट सम्मानित व्यक्तित्व पत्रकार मनोज घर्तीमगरले पुरस्कारबाट सम्मानित हुन पाउँदा मगर समुदायका लागि अझै केही गर्ने हौसला मिलेको बताउनुभयो । राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका अध्यक्ष हर्कबहादुर आलेमगरले मगर जातिको एउटा महत्वपूर्ण मौलिक संस्कृतिको रुपमा कौराहा रहेको भन्दै कौराहाको मौलिकता संरक्षणका लागि संस्था गठन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिभा छनौट समितिका सदस्य रूद्रबहादुर श्रीसमगरले पुरस्कृत व्यक्तित्वका बारेमा परिचय गराउनुभएको थियो । सो अवसरमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष समेत रहनुभएका वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी, मिस मगर नेपाल–२०२२ बिजेता मिलन थापामगर, फस्र्ट रनर अप भावना खपाङ्गीमगर, सेकेण्ड रनर अप टुगा रानामगर, थर्ड रनर अप मीना गर्बुजामगर र भ्यूअर्स च्वाइस रोश्ना बुढाथोकीमगरलाई समेत बधाई ज्ञापनसँगै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्की शाखाकी अध्यक्ष विमला भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ (सुमन)लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उमा आलेमगर र उपाध्यक्ष विनु मसराङ्गीमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment