सगरमाथा मार्ग आमा समूहको तीन दिने उद्घोषण तालिम सम्पन्न

पोखरा, १० वैशाख
सगरमाथा मार्ग आमा समूह, पोखरा–१४, सगरमाथा मार्गको आयोजनामा उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने कानूनी सचेतना, महिला सशक्तिकरण तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
सो तालिमको शुक्रबार समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरूलाई क्षमतावान् र आत्मनिर्भर बनाउन यस्ता तालिमले टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । महिलाहरूलाई सचेत बनाउँदै क्षमता अभिवृद्धिका लागि उपप्रमुखसँग महिला कार्यक्रम राखिएको बताउँदै उपप्रमुख गुरुङले आर्थिक रुपमा महिला सक्षम भए मात्र समाजलाई विकसित र सुखी बनाउन सकिने बताउनुभयो ।
समापनका अवसरमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य यशोदा भट्टराई, प्रशिक्षक एवं नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पंगेनी, प्रशिक्षक एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीस, प्रशिक्षक अधिवक्ता माधवी पाण्डे, सगरमाथा मार्ग टोल विकास संस्थाका अध्यक्ष क्या. सकबहादुर पुन, पूर्व अध्यक्ष रुपबहादुर थापालगायतले बोल्नुभएको थियो । ४५ जना सहभागी तालिममा प्रशिक्षकहरू सरिता तिम्सिना पंगेनी, रूद्रबहादुर श्रीस, अधिवक्ता माधवी पाण्डे, राममणि अधिकारी, विष्णु पौडेललगायतले सहजीकरण गर्नुभएको थियो ।
सगरमाथा मार्ग आमा समूहकी अध्यक्ष, लोक तथा दोहोरी गायिका जुना नराल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मीना खड्काले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट समेत मन्तव्य व्यक्त गरिएको थियो । यसअघि, तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य डा. पुष्पा केसी भण्डारीले गर्नुभएको थियो ।

Advertisment