फेवा टेलिभिजनको भित्तेपात्रो लोकार्पण

पोखरा, १० वैशाख
फेवा टेलिभिजनले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो लोकार्पण गरिएको छ ।
टेलिभिजनले समाचार प्रसारण सुरु गरेको सातौं वर्ष पूरा भएको अवसरमा बिहीबार भित्तेपात्रो लोकार्पणसँगै शुभकामना आदानप्रदान समेत सम्पन्न गरेको छ । फेवा टेलिभिजनले परीक्षण प्रसारणपश्चात् पहिलोपटक २०७२ वैशाख ८ गतेदेखि समाचार प्रसारण सुरु गरेको थियो ।
टेलिभिजनले प्रकाशन गरेको भित्तेपात्रो टेलिभिजनका अध्यक्ष मीन गुरुङ, निर्देशक हेमराज अधिकारी, प्रशासन प्रमुख श्रीकान्त अधिकारी, समाचार प्रमुख रूद्र श्रीस, शेयर सदस्य सागर उदास र समाजसेवी गोविन्द घिमिरेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
लोकार्पणका क्रममा बोल्दै टेलिभिजनका अध्यक्ष मीन गुरुङले समयको माग र दर्शकका चाहनालाई टेलिभिजनले समेट्दै अघि बढेको बताउनुभयो । आम नागरिकलाई सुसूचित गर्ने कार्यमा टेलिभिजन निरन्तर लागिपरेको भन्दै अध्यक्ष गुरुङले कार्यरत कर्मचारी र सञ्चारकर्मीको अथक मेहनत एवं दर्शक र विज्ञापनदाताको मायाले टेलिभिजनले उचाइ प्राप्त गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै, टेलिभिजनका निर्देशक हेमराज अधिकारीले टेलिभिजनको स्थापनाकालदेखि नै काम गरेका कर्मचारी र पत्रकारको प्रशंसा गर्दै टेलिभिजनलाई नयाँ उचाइमा लैजान व्यवस्थापन र कर्मचारीबीच सौहार्दपूर्ण सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो । त्यसैगरी, प्रशासन प्रमुख श्रीकान्त अधिकारीले कोरोना महामारीका कारण आएको संकटको असर टेलिभिजनलाई पनि परेको बताउँदै अब नयाँ ढंगले टेलिभिजनलाई अघि बढाउन प्रयास गरिएको बताउनुभयो ।
समाचार प्रमुख रूद्र श्रीसले व्यवस्थापनले कार्यरत कर्मचारी र पत्रकारको मर्का बुझेर योजना बनाउनुपर्ने बताउँदै इमान्दारीपूर्वक काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुनुपर्ने भनाइ राख्नुभयो । समाचार प्रमुख श्रीसले कर्मचारी सन्तुष्ट भएमात्र दर्शकको मन जित्ने गरी टेलिभिजनले नयाँ उचाइ हासिल गर्न सक्ने बताउनुभयो ।

Advertisment