मगर संघ, कास्कीले प्रथम शहीद लखन थापाको १४५ औं स्मृति दिवस मनायो

पोखरा, २ फागुन
नेपालका प्रथम शहीद लखन थापामगरको १४५ औं स्मृति दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मनाइएको छ ।
सोमबार नेपाल मगर संघ, कास्कीको आयोजनामा प्रथम शहीद लखनको स्मृति दिवस मनाइएको हो । स्मृति दिवसका अवसरमा पोखराको लखनचोक (तत्कालीन पृथ्वीचोक)मा रहेको प्रथम शहीद लखनको शालिकमा माल्यार्पण र राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरी प्रथम शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगरले प्रथम शहीदलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गर्नुभयो । प्रथम शहीद लखन थापाले शहादत प्राप्त गरेको दिनलाई शहीद दिवसका रुपमा मनाइनुपर्ने बताउँदै उहाँले प्रथम शहीदको सम्झना मगर समुदायले मात्र गर्नुपर्ने अवस्था रहनु विडम्बना भएको बताउनुभयो । नेपाली जनताको ठूलो दबाबका कारण राज्यले प्रथम शहीद घोषणा गर्न बाध्य भएपनि प्रथम शहीदप्रति राज्यले अझै विभेदको व्यवहार गरेको सल्लाहकार काउछामगरको भनाइ थियो ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले पोखरा महानगरपालिकाकै सहयोगमा प्रथम शहीद लखन थापाको शालिक लखनचोकमा राखिएको बताउँदै शालिकको संरक्षणका लागि महानगर र स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै, सचिव रामबहादुर थापामगरले प्रथम शहीद लखन थापाले कुनै जाति विशेषका लागि नभइ नेपाली जनताको लोकतान्त्रिक अधिकारका लागि प्राणको आहुति दिएको बताउँदै शहीदको बलिदानीको राज्यले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गको केन्द्रका रुपमा रहेको लखनचोकमा आयोजित प्रथम शहीद लखन थापाको स्मृति सभामा नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, सह–सचिव लालबहादुर रानामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, समाजसेवी रामु गिरीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, नेपाल मगर संघ, कास्कीको आयोजनामा सोमबार साँझ लखनचोकमा प्रथम शहीद लखन थापामगरको सम्झनामा दीप प्रज्ज्वलन समेत गरिएको छ ।

Advertisment