पोखरा, २४ साउन
मगर समुदायबाट मन्त्री बनेका गण्डकी प्रदेश सरकारका दुई जना मन्त्रीलाई नेपाल मगर संघ, कास्कीले सम्मान गरेको छ ।
आइतबार आयोजित सम्मान कार्यक्रममा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर “सागर” र वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक चर्तीमगरलाई मगर संघ, कास्कीले सम्मान गरेको हो ।
मन्त्रीद्वयलाई मगर संघ, कास्कीको तर्फबाट अध्यक्ष संगीता पुनमगरले फेटा र खादा लगाएर सम्मान गर्नुभयो । मन्त्री बुढामगर बागलुङबाट निर्वाचित सांसद् हुनुहुन्छ भने मन्त्री चर्तीमगर स्याङ्जाबाट निर्वाचित सांसद् हुनुहुन्छ ।
सम्मानित भएपछि बोल्दै कृषिमन्त्री बुढामगरले मगर संघ, कास्कीले राखेका माग सम्बोधनका लागि प्रदेश सरकारको तर्फबाट आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । समाज बिस्तारै विकेन्द्रित बन्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री बुढामगरले एकताबद्ध भएर विद्यमान समस्याको हल खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, वनमन्त्री चर्तीमगरले मगर संघ, कास्कीले गरेको सम्मानले थप जिम्मेवारबोध गराएको भन्दै जनमुखी कामलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । मगर समुदायको मुद्दा सम्बोधनका लागि एकताबद्ध भएर खबरदारी गर्नु जरुरी रहेको जनाउँदै प्रदेश सरकारले गर्न सक्ने कामका लागि जुनसुकै बेला पनि तयार रहेको उल्लेख गर्नुभयो ।
नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछामगरले गण्डकी प्रदेशमा मगर समुदायको बाहुल्यता रहेको भन्दै दुई जना मन्त्री मगर समुदायबाट बन्नु पनि गौरवको विषय भएको बताउनुभयो । नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमाया थापामगर र सचिव रामबहादुर थापामगरले मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि सहयोग गर्न मन्त्रीद्वय समक्ष आग्रह गर्नुभएको थियो ।
गण्डकी प्रदेशका कृषिमन्त्री र वनमन्त्रीलाई मगर संघ, कास्कीको सम्मान
२४ श्रावण २०७८, आईतवार
620
Advertisment