अनलाइन मगर चलचित्र प्रतियोगिता ः ‘जीवाक’ भयो प्रथम

मेजन पुनमगर
काठमाडौं, ४ साउन
पहिचानको लडाइँमा चलचित्र महत्वपूर्ण माध्यम बन्न सक्दछ । चलचित्रले भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण गर्न महत्वपूर्ण कार्य गरिरहेको हुन्छ । यस्तो माध्यममा हामी आदिवासी जनजातिहरुको उपस्थिति नगन्य छ । कोभिड १९ को कारण हरेक क्षेत्र चलायमान हुनसकेको छैन । बजार, होटल, दोकान एवम् संघ÷संस्थाहरुले पनि काम गर्न सकिरहेको अवस्था छैन । यस्तो परिस्थितिमा मगर चलचित्रकर्मी संघले नयाँ चलचित्रकर्मीहरुलाई चलायमान गराउन पहिलो लकडाउन केही मात्रमा खुकुलो भएको बेला यथास्थानमा आफ्नो क्षमताले भ्याएसम्म छोटो मगर चलचित्र निर्माण गरेर त्यसलाई प्रतियोगिताको रुपमा कार्यक्रम आयोजना गर्ने भन्ने सल्लाह भए अनुरुप मगर चलचित्रकर्मी संघ केन्द्र समितिमा भएअनुरुप सहभागिताको लागि आव्हान भयो ।
यसरी आव्हान भएअनुसार मगर चलचित्र क्षेत्रमा पाइला चलाईरहेका १० वटा मगर चलचित्रका नवप्रतिभाहरुले सहभागिता जनाएका थिए । रा, अलिखित, जीवाक, ब्रिटिसक्याम्प, आश्वासन, साली त भेनाकै हो, ईमसार, वाट ?, पिडा, वाचाबन्धन र कुलपूजा नामक छोटो मगर चलचित्रहरुले सहभागिता जनाएका थिए । जसमा बेस्ट स्क्रिप्टको विधामा राजन थापामगर, बेस्ट ईडिटरको विधामा ‘जीवाक’ चलचित्रका विश्वास मगर, बेस्ट सिनेमाटोग्राफी विधामा ‘आश्वासन’ चलचित्रका सुमन थापा मगर विजेता बनेका थिए । यस विधामा सबैलाई रु. ५ हजार नगद पुरस्कार घोषणा गरिएको थियो ।
यसै गरि सान्त्वना पुरस्कार मैता घर्ती मगरको ‘कुलपुजा’ले पनि रु. ५ हजार जित्न सफल भयो । प्रतियोगिताको तेश्रो पुरस्कार अशोक आलेमगरद्वारा निर्देशित ‘ईमसार’ले रु. १५ हजार जित्न सफल भयो भने दोश्रो पुरस्कार नगद रु २० हजार, सुमन थापामगरद्वारा निर्देशित ‘आश्वासन’ चलचित्रले जित्न सफल भयो । प्रतियोगिताको प्रथम पुरस्कार रु. २५ हजार राजन थापा मगरद्वारा निर्देशित ‘जीवाक’ चलचित्रले जित्न सफल भयो ।
चलचित्रलाई प्रतिमाया पुन मगर, राज थापा काउचा मगर, अस्मिता श्रीस मगर (बेलायत) कुलदीप राना मगर (अमेरिका) र बिष्णु राना मगर (सिक्किम) गरि ५ जना जुरीहरुले अवलोकन गरि अंक दिनुभएको थियो भने सोही अंकलाई जम्मा गरि बिजेता घोषणा गरिएको थियो । कार्यक्रममा विजेता घोषणा जुरी सदस्यहरुको तर्फबाट प्रतिमाया पुनमगरले घोषणा गर्नुभएको थियो ।
अनलाइन मगर चलचित्र प्रतियोगिताको बिजेता घोषणा कार्यक्रमको अध्यक्ष संघका अध्यक्ष युवराज मास्की राना मगर, प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर, अतिथिहरुमा अखिल भारतीय मगर महासंघको महासचिव तथा जुरी सदस्य बिष्णु राना मगर, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक विजयरत्न तुलाधार, चलचित्र विकास बोर्डका प्रतिनिधि तथा आदिवासी जनजाति विभाग संयोजक हरिसिंह रैखोलाको उपस्थिति तथा मन्तव्यमा कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रम सचिव भीम रानामगरले स्वागत तथा चलचित्र सम्बन्धी जानकारी गराई शुरु गरियो भने छोटो चलचित्र सम्बन्धी महत्वपूर्ण जानकारी बेलायतमा बसोबास गरिरहेकी चलचित्रकर्मी अस्मिता श्रीस मगरले दिनुभएको थियो । चलचित्रमा क्यारेक्टर बिल्डअप सम्बन्धी मगर चलचित्रका प्रथम नायक तथा चलचित्रकर्मी राज थापा काउचा मगरले आफ्नो मन्तव्यमा जनाउनुभएको थियो । अखिल भारतीय मगर महासंघका बिष्णु राना मगर, चिलचित्र बिकास बोर्डका प्रतिनिधि हरिसिंह रैखोला, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुुनुवार र आदिवासी चलचित्र महासंघका संस्थापक तथा विभिन्न चलचित्रका निर्देशक एवम् पत्रकार विजयरत्न तुलाधरले समेत आफ्नो मन्तव्य राखेका थिए ।
विजेताहरुलाई बधाई एवम् उतरोत्तर प्रगतिको शुभकामनासहित नेपाल मगर संघले मगर चलचित्रहरुलाई सहयोग गर्ने आश्वासन दिँदै मगर संघको महासविच ज्ञानेन्द्र पुन मगरले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापन गर्दै अर्को वर्ष पनि यसरी प्रतियोगिताको आयोजना गर्ने अर्थात यो कार्यक्रमको निरन्तरता हुने कुराको जानकारी सहित चलचित्रकर्मीहरुलाई बधाई एवम् शुभकामनाको साथ जुरी मेम्बर, अतिथि लगायत विभिन्न पुरस्कार प्रायोजकहरूलाई धन्यवादसहित मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की रानामगरले कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम मगर चलचित्रकर्मी संघका सदस्य तिल थापा मगरले सञ्चालन गर्नुभएको थियो ।

Advertisment