प्रयोगमा नआउँदा मातृभाषा हराउँदै जान थाल्यो ः पूर्व उपाध्यक्ष थापामगर

पोखरा, २९ असार
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापामगरले नेपालका आदिवासी जनजाति समुदायले बोल्ने मातृभाषाहरू लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रतिष्ठानको आयोजनामा मंगलबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको “स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता”सम्बन्धी दुई दिने गोष्ठीको उद्घाटन गर्दै पूर्व उपाध्यक्ष थापामगरले प्रयोगमा नआउँदा आदिवासी जनजाति समुदायका मातृभाषाहरू लोप हुने खतरा बढेको बताउनुभयो ।
भाषा मरे अस्तित्व समेत नरहने भन्दै उहाँले मानव अस्तित्व बचाउन पनि मातृभाषा बचाउन आवश्यक रहेको बताउनुभयो । मातृभाषा बचाउन सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्ने बताउँदै थापामगरले मातृभाषा बचाउने अभियानको नेतृत्व प्रतिष्ठानले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।


नेकपा (एमाले)का गण्डकी प्रदेशसभा सदस्य रोशन गाहामगरले मातृभाषा बचाउनका लागि सम्बन्धित निकायलाई घच्घचाइरहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा राज्यका तीनै तहमा बढी भन्दा बढी आदिवासी जनजाति समुदायका उम्मेदवारलाई विजयी गराउन सके आदिवासी जनजातिमैत्री नीति निर्माण गर्न मदत पुग्ने समेत बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेसकी गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङले आदिवासी जनजातिको मातृभाषा संरक्षणका लागि आफूहरूले नीति निर्माण तहमा विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेशसभा सदस्य दीपक चर्तीमगरले आदिवासी जनजातिका मातृभाषा मृत्यु शैय्यामा रहेको भन्दै मातृभाषा बचाउन नीति, निर्माताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
मध्यनेपाल नगरपालिका, लमजुङका उपप्रमुख राजकुमार श्रेष्ठले लोपोन्मुख दुरा भाषाको संरक्षणका लागि नगरपालिकाले पहल थालेको भन्दै मातृभाषा बचाउन विशेष योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा भाषाविद् डा. तारामणि राईले स्थानीय तहमा मातृभाषा शिक्षा नीति किन र लोकबहादुर थापामगरले नेपालको सन्दर्भमा भाषा नीति, विगत र वर्तमान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सहभागीहरूले प्रश्नोत्तर कार्यक्रममा भाग समेत लिएका थिए ।


प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी सञ्चालक परिषद् सदस्य वसुन्धरा घर्ती र नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का सचिव सुजन लामाले समेत बोल्नुभएको थियो । बुधबार सम्पन्न हुने कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आदिवासी जनजाति अगुवा तथा मातृभाषी अभियन्ताहरूको सहभागिता रहेको छ ।

Advertisment