‘कञ्चन पत्रकारिता पुरस्कार’का लागि छनौट समिति गठन

पोखरा, २७ असार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले प्रदान गर्ने “कञ्चन पत्रकारिता पुरस्कार–२०७८”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
फोनिज, गण्डकी प्रदेशको आइतबार बसेको बैठकले नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिनुभयो ।
छनौट समितिका सदस्यहरूमा फोनिज, गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ, सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ, अध्यक्ष एमबी आस्था मगर र महासचिव रूद्रबहादुर श्रीसमगर रहनुभएको छ । सो पुरस्कारबापत गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगद र ताम्रपत्रसहित पुरस्कृत गरिने अध्यक्ष मगरले बताउनुभयो ।
फोनिजको स्थापना दिवसका अवसरमा आगामी साउन २७ गते सो पुरस्कार प्रदान गरिने महासचिव श्रीसले जानकारी दिनुभयो । सो पुरस्कारबाट पहिलोपटक कास्कीका पत्रकार रूद्रबहादुर हितानमगर र बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत हुनुभएको थियो । त्यसैगरी, फोनिज, गण्डकी प्रदेशको बैठकले कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका गण्डकी प्रदेशका सम्पूर्ण क्रियाशील पत्रकारका लागि गण्डकी प्रदेश सरकारसमक्ष खोपको माग गर्ने निर्णय समेत गरेको छ ।

Advertisment